कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२६ देशका अंग्रेजी शिक्षक एकै थलोमा

काठमाडौं — अंग्रेजी भाषा शिक्षकहरूको अन्तर्राष्ट्रिय संघ (टिसोल) र नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) को संयुक्त सम्मेलन काठमाडौंमा बिहीबार सुरु भएको छ  । सम्मेलनमा २६ देशका १ सय ७२ जना र नेपालका एक हजार अंग्रेजी भाषा शिक्षक सहभागी छन्  ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सम्मेलनको उद्घाटन गर्दै सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ को पूर्वसन्ध्यामा विभिन्न मुलुकका प्रतिनिधि शिक्षकको भेला हुनु खुसीको कुरा भएको बताए । नेपालमा बोलिने भाषाहरूको जगेर्ना गर्दै अन्तर्राष्ट्रिय भाषा अंग्रेजीको शिक्षण सहज तुल्याउन आवश्यक रहेको उनको तर्क थियो ।

भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले अंग्रेजीलाई माध्यम भाषा बनाउँदा सही सिकाइ हुन नसकेको बताए । ‘पूर्वीय दर्शनलाई भुलेर अघि बढ्दा र पूर्वजले सिर्जना गरेका सामाजिक वैभवलाई जोगाउनेतर्फ नसोच्नु भूल हुनेछ,’ अंग्रेजी सिक्नकै लागि सबै कुरा बिर्सेर समर्पित हुन उचित नरहेको भन्दै अवस्थीले भने, ‘पूर्वीय सोच पञ्च तत्त्वका आधारमा हुन्छ । अंग्रेजी सिक्नु छ भने अरू भुल्नुपर्छ भन्ने भ्रम छ । अंग्रेजीको पछि दगुर्नुभदा पनि अंग्रेजी हाम्रो पछि दगुरोस् ।’

‘नेपाल भ्रमण वर्षलाई लक्षित गरेर सम्मेलनको आयोजना गरेका हौं,’ नेल्टाकी अध्यक्ष मोतीकला सुब्बा देवानले भनिन्, ‘सम्मेलनमा विश्व परिवेशमा अंग्रेजी भाषा शिक्षक सिकाइका विविध पक्षबारे छलफल गरी नेपालको भाषा शिक्षण पद्धतिलाई गुणस्तरीय तुल्याउने मुख्य उद्देश्य राखेका छौं ।’
चारदिने सम्मेलनमा अमेरिका, बेलायत, जापान, सिंगापुर, मलेसियालगायत मुलुकका प्रतिनिधि सहभागी छन् ।

नेल्टाको सात प्रदेश र ५५ जिल्लाका प्रतिनिधि सहभागी रहेको महासचिव ईश्वरीबहादुर अधिकारीले जानकारी दिए । २७ वर्षअघि स्थापित नेल्टाले नेपालको विद्यालय तहदेखि विश्वविद्यालयमा कार्यरत अंग्रेजी विषय शिक्षकलाई विषयगत तालिम, प्रशिक्षण तथा सशक्तीकरणको पक्षमा काम गर्दैआएको छ ।

प्रकाशित : मंसिर ६, २०७६ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?