सूक्ष्म जीव संकलन केन्द्र खुल्दै

गोविन्द पोखरेल

काठमाडौँ — सूक्ष्म जीवहरूको संकलन, संरक्षण, उत्पादन र पहिचान गर्ने उद्देश्यसहित नेपालमा पनि ‘माइक्रोबियल कल्चर कलेक्सन सेन्टर’ (एमसीसीएस) स्थापना हुने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नास्ट) ले सेन्टर स्थापनाको तयारी थालिसकेको छ । सेन्टरमा राखिने जीवाणुको ‘स्ट्रेन’ संकलन थालिएको नास्टकी विज्ञान संकाय प्रमुख जयश्री सिजापतीले बताइन् । ‘स्ट्रेन’ सूक्ष्म जीवको नमुना हो । 

सेन्टर सञ्चालन हुँदा नेपालमा जीवाणुहरूको पनि डाटाबेस बन्ने नास्टले जनाएको छ । यिनै डाटाको आधारमा विद्यार्थी तथा अनुसन्धातालाई जानकारी दिने र लिने काम हुन्छ । मुलुकका विभिन्न संस्थाबाट ‘स्ट्रेन’ संकलन गरेर डाटा तयार गर्ने नास्टको तयारी छ । यस्ता जीवाणु इन्जाइम, इन्सुलिन, प्रोटिन, जैविक मल उत्पादन, उद्योग र औषधि निर्माणमा ‘एजेन्ट’ का रूपमा प्रयोग हुन्छन् । औद्योगिक, औषधि, कृषि, खाद्यलगायत अध्ययनअनुसन्धानमा पनि प्रयोग हुन्छन् । आँखाले देख्न नसकिने सूक्ष्म जीवाणुलाई जैविक विविधताका रूपमा पनि लिइन्छ । यस्ता जीवाणुबारे नेपालमा अनुसन्धान कम भएको छ । नेपालमा जीवाणुसम्बन्धी गरिने अनुसन्धानमा सेन्टर बुहुउपयोगी हुने नास्टकी मोलेक्युलर बायोटेक्नोलोजी शाखाकी प्रमुख ज्योति महर्जनले बताइन् । नेपालमा औषधि, औद्योगिक, कृषि, खाद्यलगायत क्षेत्रमा पनि यस्ता जीवाणु प्रयोग हुने गरेको उनको भनाइ छ । नास्ट परिसरमा भौतिक संरचना बनाउने वा रिसर्च ल्याबको कुनै एक कोठामा सेन्टर सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको सिजापतीले बताइन् । ‘सेन्टरका लागि इन्क्युबेटर र फ्रिज आवश्यक हुन्छ,’ उनले भनिन्, ‘चालू आर्थिक वर्षमा सेन्टरका लागि १५ लाख बजेट विनियोजन भएको छ । यो रकमबाट ‘लिक्विड नाइट्रोजन फ्रिजर’ किन्छौं ।’

अहिले विद्यार्थीले सूक्ष्म जीवसम्बन्धी अनुसन्धान गर्दा उसले बनाएको ‘स्ट्रेन’ सम्बन्धित संस्थालाई बुझाउनुपर्छ । स्ट्रेनमा जीवका जेनेटिक भेरियन्ट वा उपप्रकार हुन्छन् । यसलाई नमुनाका रूपमा लिइन्छ । यसबाट उक्त जीवको वंशाणु संरक्षणका साथै यसबाट सोही प्रकारको जीव उत्पादन गर्न सकिन्छ । यसलाई एउटा निश्चित तापक्रम भएको फ्रिजमा सुरक्षित गरी राखिन्छ । यी सूक्ष्म जीवलाई ‘ग्लिसिरोल’ लगायत अन्य रासायनिक घोलमा मिसाएर ‘पेट्री डिस्क’ मा राखिन्छ । प्रयोगशाला सानो भएर यसलाई बढाउने तयारी भइरहेको नास्टले जनाएको छ ।

अहिलेसम्म २ सय वटा स्ट्रेन संरक्षण गरिएको महर्जनले जानकारी दिइन् । तीमध्ये २५ प्रतिशतको पहिचान भइसकेको छ । अधिकांश ब्याक्टेरिया रहेको उनले सुनाइन् । पहिचान भएकालाई ‘कोडिङ’ गर्ने काम भइरहेको उनको भनाइ छ । नेपालमा सूक्ष्म जीवको राम्रोसँग अभिलेखीकरण गरिएको छैन । स्ट्रेनलाई जीव चिन्ने सूचकका रूपमा सुरक्षित गरेर राखिएको हुन्छ । थेसिस गर्ने विद्यार्थीले तिनै संरक्षित स्ट्रेन प्रयोग गर्छन् । रिफरेन्सका रूपमा प्रयोग हुने स्ट्रेन नेपालमै उपलब्ध भए अनुसन्धानात्मक कार्यमा टेवा पुग्ने माइक्रोबायोलोजिस्ट एवं उपप्राध्यापक मिलन उप्रेतीले बताए ।

प्रकाशित : मंसिर ३, २०७६ ०८:५०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नेपालमा पनि ‘माइक्रोबियल कल्चर कलेक्सन सेन्टर’ खोल्ने तयारी

गोविन्द पोखरेल

काठमाडौँ — सूक्ष्म जीवहरुको संकलन, संरक्षण, उत्पादन र पहिचान गर्ने उद्देश्यसहित नेपालमा पनि ‘माइक्रोबियल कल्चर कलेक्सन सेन्टर’ स्थापना हुने भएको छ । यसका लागि नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नाष्ट)ले ‘कल्चर सेन्टर’ स्थापनाको तयारी सुरु गरेको छ । 

नाष्टकी विज्ञान संकाय प्रमुख जयश्री सिजापतिकाअनुसार कल्चर कलेक्सन सेन्टरमा राखिने जीवाणुहरुको ‘स्ट्रेन’ संकलन गर्न थालिएको छ। ‘स्ट्रेन’ सूक्ष्म जीवको नमुना हो। कल्चर कलेक्सन सेन्टर नेपालमा सञ्चालन हुँदा जीवाणुहरुको डाटावेस बन्ने नाष्टले जनाएको छ। यही तथ्या‌ंकको आधारमा विद्यार्थी तथा अनुसन्धानकर्ताहरुलाई जानकारी दिने र लिने काम हुन्छ। मुलुकका विभिन्न संस्थाहरुबाट ‘स्ट्रेन’ संकलन गरेर जीवाणुको विवरण तयार गर्ने नाष्टको योजना छ।

जीवाणुहरु इन्जाइम, इन्सुलिन, प्रोटिन, जैविक मल उत्पादन, उद्योग, औषधि निर्माणमा ‘एजेन्ट’को रुपमा प्रयोग हुन्छन्। औद्योगिक, औषधि, कृषि, खाद्य लगायत अध्ययन अनुसन्धानमा पनि यिनीहरुको प्रयोग उच्च हुन्छ।

आँखाले देख्न नसकिने सूक्ष्म जीवाणुहरुलाई जैविक विविधताको रुपमा पनि लिइन्छ। यस्ता जीवाणुहरुको बारेमा नेपालमा कमै अनुसन्धान भएका छन्। नेपालमा जीवाणुहरु सम्बन्धि गरिने अनुसन्धानमा कल्चर कलेक्सन सेन्टर बुहुउपयोगी हुने नाष्टकी मोलुक्युलर बायोटेक्नोलोजी शाखाकी प्रमुख ज्योति महर्जनले बताइन्। उनैको नेतृत्वमा कल्चर कलेक्सन सेन्टरको आधारभूत कामहरु भइरहेका छन्।

नेपालमा सूक्ष्म जीवहरुको अनुसन्धान विश्वविद्यालय तथा अनुसन्धान संस्थाहरुका अलवा औषधि, औद्योगिक, कृषि, खाद्य लगायतका क्षेत्रहरुमा प्रयोग हुने गरेको महर्जनले बताइन्।

अनुसन्धानका क्रममा भेटिने यस्ता सूक्ष्म जीवहरु हरेक वर्ष लोप हुँदै जाने र उही प्रकारको जीव भेट्टाउन मुस्किल पर्ने भएकाले पनि यस्ता जीवहरुको दीर्घकालीन संरक्षणको आवश्यकता रहेको संकाय प्रमुख सिजापतिको भनाइ छ।

‘सूक्ष्म जीवाणुहरु सम्बन्धिको अनुसन्धान कुनैपनि जर्नलमा प्रकाशित गर्नका लागि कल्चर कलेक्सन सेन्टरमा जम्मा गरिएको ‘स्ट्रेन आईडी नम्बर’ अनिवार्य रुपमा प्रयोग गनुपर्ने प्रावधान छ,’ महर्जनले भनिन्, ‘यस्ता जीवहरुको उचित संरक्षण र प्रयोगका लागि पनि कल्चर सेन्टर हाम्रो देशका लागि आवश्यक छ।’

अहिले कल्चर सेन्टर सञ्चालनका लागि नाष्ट परिसरमा भौतिक संरचना निर्माण गर्ने वा रिसर्च ल्याबको कुनै एक कोठामा सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको सिजापतिले जानकारी दिइन्। ‘कल्चर सेन्टरका लागि इन्क्युबेटर, फ्रिज आवश्यक हुन्छन्,’ उनले भनिन्, ‘चालू आर्थिक वर्षमा सेन्टरका लागि १५ लाख बजेट विनियोजन भएको छ। यो रकमबाट ‘लिक्विड नाइट्रोजन फ्रिजर’ किन्ने तयारीमा छौँ। ’

माइनस ८० डिग्री सेल्सियसको तापक्रममा सुरक्षित गरेर राखिएका जीवाणु। तस्बिरः गोविन्द पोखरेल/कान्तिपुर।

नाष्टले सन् २०१५ देखि नै कल्चर सेन्टर स्थापनाको तयारी गरेपनि अगाडि बढाउन नसकिरहेको सिजापतिले बताइन्। सूक्ष्म जीवाणुहरु धेरै नै हुने गरेकाले पनि यसको संकलन कार्यमा ढिलाइ हुन्छ।

अहिले कुनै एकजना विद्यार्थीहरुले सूक्ष्म जीव सम्बन्धि अनुसन्धान गर्दा उसले बनाएको उक्त जीवको ‘स्ट्रेन’ सम्बन्धित संस्थालाई बुझाउनुपर्छ। स्ट्रेनमा जीवको 'जेनेटिक भेरियन्ट' वा उपप्रकार हुन्छ। यो नमुनाको रुपमा लिइन्छ।

यसबाट उक्त जीवको वंशाणु संरक्षणका साथै यसबाट सोही प्रकारको जीव उत्पादन गर्न सकिन्छ। यसलाई एउटा निश्चित तापक्रम भएको फ्रिजमा सुरक्षित गरेर राखिन्छ।

सूक्ष्म जीवहरुलाई ‘ग्लिसिरोल’ लगायतका अन्य रसायनिक घोलमा मिसाएर ‘पेट्रि डिस्क’मा राखिन्छ। प्रयोगशाला सानो भएर यसलाई बढाउने तयारी भइरहेको नाष्टले जनाएको छ।

गत वर्ष विभिन्न १२ वटा स्ट्रेन संरक्षण गरिएको थियो। अहिलेसम्म २ सय वटा स्ट्रेनहरु संरक्षण गरिएको महर्जनले जानकारी दिइन्। ती मध्ये २५ प्रतिशतको पहिचान भइसकेको छ। अधिकांश ब्याक्टेरियाहरु रहेको उनले सुनाइन्। पहिचान भएकाहरुको ‘कोडिङ’ गर्ने काम भइरहको छ।

सुक्ष्म जीवहरुको पहिचान गर्न पनि निकै गाह्रो हुने उनले सुनाइन्। भनिन्,‘कुनै-कुनै जीवहरु बाहिरी आवरणबाट हेरेर पहिचान गर्न गाह्रो हुन्छ। मोर्फोलोजिक्कली पहिचान हुन नसकेका यस्ता जीवहरुको पहिचान डीएनए सिक्वेन्सिङ गरेर थाहा हुन्छ। ’

त्रिविले यस्ता जीवहरुको संरक्षण गरेपनि दीर्घकालीन नभएको उनको भनाइ छ।

नेपालमा सूक्ष्म जीवहरुको राम्रोसँग अभिलेखिकरण गरिएको छैन। स्ट्रेनलाई जीव चिन्ने सूचकको रुपमा सुरक्षित गरेर राखिएको हुन्छ। थेसिस गर्ने विद्यार्थीहरुले संरक्षण गरिएका स्ट्रेनहरु प्रयोग गर्छन्। विश्वविद्यालयमा लामोसमयसम्म स्ट्रेन संरक्षण नहुँदा समस्या हुने गरेको महर्जनको भनाइ छ।

अन्य मुलुकहरुमा पनि कल्चर कलेक्सन सेन्टर छन्। अमेरिकामा एटीसीसी (अमेरिकन टाइप कल्चर कलेक्सन) भन्ने संस्थाले स्ट्रेन संकलन गर्छ र जीवाणु सम्बन्धि रिफेरेन्स दिन्छ। यो विशेष गरी अनुसन्धानमा प्रयोग हुन्छ। नेपालमा एटीसीसीलाई रिफरेन्स मानेर अनुसन्धान भएका छन्। भारतमा माइक्रोबियल टाइप कल्चर कलेक्सन एन्ड जिन बैंक(एमटीसीसी) भन्ने संस्था छ।

माइक्रो बायोलोजिस्ट एवं उपप्राध्यापक मिलन उप्रेतीका अनुसार रिफरेन्सको रुमपा प्रयोग हुने स्ट्रेनहरु नेपालमै उपलब्ध भए अनुसन्धानको क्षेत्रमा उल्लेख्न उपल्बधी हुने बताए। वातवरणमा ब्याक्टेरियाहरु सजिलैसँग 'म्युटेसन'मा जान सक्ने हुँदा ‘वाइल्ड टाइप’ आवश्यक भएको उनले बताए। कल्चर कलेक्सन सेन्टरबाट माइक्रोबायोलोजिस्ट मात्रै नभएर अस्पताल र औद्योगिक क्षेत्रले अझ बढी फाइदा लिन सक्ने उनको भनाइ छ।

प्रकाशित : कार्तिक ३०, २०७६ १७:०४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×