कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडक बनाउन ठेकेदारलाई तीन दिनको म्याद

ललितपुर — ललितपुर पूर्वी भेगका स्थानीयले ग्वार्को–सिद्धिपुर–लुभु लामाटार हुँदै काभ्रेको बीपी राजमार्ग जोड्ने सडक आइतबार ठप्प पारेका छन् । ठेकेदार, काठमाडौं उपत्यका सडक विस्तार आयोजना, महालक्ष्मी नगरपालिकाका मेयर, वडाध्यक्षलगायत सम्बन्धित निकायलाई सडक बनाउन पटकपटक ध्यानार्कषण गराउँदा पनि चासो नदिएकाले विरोधमा उत्रिएको सिद्धिपुर, टीकाथली र लुभुवासीको भनाइ छ ।

विरोधका क्रममा उनीहरूले सिद्धिपुरको सडक जस्तापाताले छेकेर अवरोध गरेका थिए । सडक निर्माणका लागि स्थानीयले ठेकेदारलाई तीन दिनको समयसीमा दिएका छन् । ‘बुधबारसम्म पनि काम सुरु नगरे थप संर्घषका कार्याक्रम तय गरिनेछ,’ सिद्धिपुरका रवीन्द्र नेमकुलले भने ।


काँठ क्षेत्रमा सडक विस्तार गर्न नसक्नुका विभिन्न कारणमध्ये घरको मात्र क्षतिपूर्ति दिने सरकारको निर्णय प्रमुख रहेको उनको भनाइ छ । ‘स्थानीयले घर र जग्गा दुवैको चलनचल्ती मूल्यअनुसार क्षतिपूर्ति माग गरेका छन् । गतवर्ष सर्वार्च्चे अदालतले घर र जग्गा दुवैको मुआब्जा दिन फैसला गर्‍यो,’ उनले भने, ‘त्यसपछि मुआब्जा दिन समय लाग्ने निष्कर्ष निकाल्दै उपलब्ध सडकमा कालोपत्र गर्ने मन्त्रीस्तरीय निर्णय पनि भएको थियो ।’ यति हुँदा पनि ठेकेदारले कालोपत्र गर्न चासो नदिएकाले बन्द गर्न बाध्य बनेको उनले बताए ।


ठेकेदार कम्पनी ड्रागनका सञ्चालक कृष्ण गौतमले सरकारले घर भत्काउन नसक्दा ढिलाइ भएको दाबी गरे । ‘मेरो पाइप र पर्खाल लगाउने ठेक्का हो । ७० प्रतिशत काम सम्पन्न भइसकेको छ,’ उनले भने, ‘साइट क्लियर गरे दुई महिनामा काम सम्पन्न गर्नेछु ।’


केही महिनाअघि स्थानीयको विरोधपछि ठेकेदार कम्पनीले कालोपत्र गर्ने भन्दै सडकमा ग्राबेल बिछ्याएको थियो तर काम अघि नबढाउँदा धूवाँधूलोले सडकवरिपरि बस्न नसक्ने अवस्था छ । रोडागिटी अव्यस्थित हुँदा दुर्घटना पनि बढ्न थालेको स्थानीयको भनाइ छ ।


काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका इन्जिनियर महानन्द जोशीले प्राधिकरणले क्षतिपूर्ति नदिएका कारण सडक अलपत्र परेको बताए । ‘भर्खर सरुवा भएर आएको छु । अहिले उपब्लध सडकमा मात्र कालोपत्र गर्ने मन्त्रिपरिषद्को निर्णय लुभु सडकमा लागू हुन्छ/हुँदैन थाहा छैन,’ उनले भने ।


महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले ठेकेदारले बुधबारबाट काम गर्ने प्रतिबद्धता जनाएको बताए । ‘सडक विस्तार गर्न पटकपटक सडक विभाग, जिल्ला प्रशासन कार्यालय, ठेकेदारलगायत सम्बन्धित निकायका प्रतिनिधि राखेर बैठक गरेको छु,’ उनले भने, ‘सडकमा पर्ने विद्युत् र टेलिफोनका पोल सार्न नसक्दा पनि समस्या भएको हो ।’ उनले प्राधिकरणलाई यसबारे जानकारी गराइसकेको बताए ।


इमाडोलदेखि ३.२६ किमि सडक कालोपत्र गर्ने डाँफे र समानान्तर जेभीले ०७५ असारभित्र सम्पन्न गर्ने गरी ०७३ जेठमा २७ करोड २ लाख ८८ हजार रुपैयाँमा ठेक्का पाएका थिए । सिद्धिपुर गोदावरी खोला–लुभु–लामाटार सडक कालोपत्रे गर्न आशिष/सीएम/ड्रागन जेभीले ०७४ पुसमा सम्पन्न गर्ने गरी ०७४ असारमा १० करोड ८७ लाख ८ हजार र लामा र समानान्तर जेभीले ०७६ पुसमा सम्पन्न गर्ने गरी ०७४ मा ५१ करोड ८३ लाख १६ हजार रुपैयाँमा ठेक्का पाएका थिए ।

प्रकाशित : मंसिर २, २०७६ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?