कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्वसम्पदा क्षेत्रमा निर्माणाधीन भवनको डन्डी काटियो

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्वसम्पदा क्षेत्रमा मापदण्डविपरीत बनिरहेको एक भवनले तला थप्न तयार पारेको फलामे डन्डी काटेको छ । हनुमानढोका दरबार क्षेत्रभित्रै महर्जन बिजनेस एसोसिएट्सले सर्वोच्च अदालतको आदेशविपरीत भवन बनाइरहेको थियो । आदेश अवज्ञा गरी काम अघि बढाएपछि सम्पदा संरक्षण अभियन्ताले संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समिति, काठमाडौं महानगरपलिकाको अनुगमन समितिलाई खबर गरेका थिए । 

वडा नम्बर २४ को कित्ता नम्बर ९४२ को क्षेत्रफल ६२७.९८ मा बनिरहेको भवन भूकम्पअघि क्रिष्टल भवनका नामले चिनिथ्यो । पुरातत्त्व विभागको स्वीकृति लिँदा मापदण्डअनुसारै बनाउने कागज गरिए पनि प्राचीन स्मारक ऐनविपरीत बन्न थालेपछि स्थानीयले चासो राखेका थिए । जिल्ला प्रशासन कार्यालयको अध्ययन समितिको प्रतिवेदन प्रतिकूल हुने गरी भएको निर्माणले सम्पदा क्षेत्र जोखिममा पारेको भन्दै रोक्न माग गर्दै गत वैशाखमा सर्वोच्चमा रिट परेको थियो ।


‘प्राचीन स्मारक ऐन ०१३ अनुसार निर्माण गर्न मञ्जुर छु भनेर मञ्जुरी नाममा उनैले हस्ताक्षर गरेका छन्,’ रिट निवेदकमध्येका सञ्जय अधिकारीले भने, ‘तर आफ्नो मञ्जुरीनामाविपरीत मापदण्डविपरीत संरचना बनाए ।’ एसोसिएट्सका अध्यक्ष कृष्णलाल महर्जन हुन् ।


जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ०७५ भदौमा ५ वटा निकायसम्मिलित बैठकले मापदण्डमा ल्याउन प्राविधिक टोली खटाएको थियो । टोलीको सुझाव पनि एसोसिएट्सले टेरेको थिएन । अध्यक्ष महर्जनले महानगरपालिकाले चार तलाको अनुमति दिएकाले आफूले तला थप्न लागेको जिकिर गर्दै आएका थिए । तर, तला थप्दा मापदण्डविपरीत तीन तलामै ३२ फिट पुगिसकेको थियो । विभागको सिफारिसमा महानगरपालिकाले स्वीकृत गरेको नक्सामा पेटीको उचाइ १ फिट ६ इन्च हुनुपर्नेमा १ फिटमात्रै लगाएको, अन्डर ग्राउन्ड तला बनाउन अनुमति नदिएकोमा ९ फिट ७ इन्चको बेसमेन्ट र ४ फिटको लिफ्ट पिट रहेको प्रतिवेदनमा उल्लेख छ । प्राचीन स्मारक ऐनअनुसार सम्पदाको छेउमा भूमिगत संरचना बनाउन पाइँदैन ।


भवन भत्काउने क्रममै क्षति भएको कुमारी र गणेशको मन्दिरसमेत अझै पुनर्स्थापना हुन सकेको छैन । पहिलेकै ठाउँमा पुनर्स्थापना गर्न सर्वोच्चले आदेश दिएको थियो । मन्दिरको अस्तित्वबारे सर्वसाधारणले चासो राख्दा कुमारी र गणेशको मूर्ति भवनभित्रै पारिएको पत्ता लागेको थियो । पुरातत्त्व विभागमा निवदेन परेपछि विभागले हनुमानढोका दरबार हेरचाह अड्डालाई प्रतिवेदन पेस गर्न निर्देशन दियो । संरक्षण अधिकृत नारायण कार्कीसहितको टोलीले खोजी गर्दा कुमारी मन्दिर निजी प्रयोजनमा प्रयोग गरिएको फेला पार्‍यो । प्रतिवेदनअनुसार कुमारी मन्दिर वरिपरि ठूला बोरिङ बनाइएका छन् । जस्ताको छानोले मूर्ति ढाकिएकोमा अहिले त्यसलाई हटाएर ढलान गरिएको छ । ‘कुमारीको दर्शन गर्न जाने बाटो बन्द गरी पसल कबल राखेको देखिन्छ । बाटोमा रितु जेम्स एन्ड ज्वेलरीको पसल राखिएको छ । दर्शन गर्न जाँदा गार्डसँग अनुमति लिएर सटर खोलेर जानुपर्ने अवस्था छ,’ अड्डाले पेस गरेको प्रतिवेदनमा छ । महर्जन भने यो आफ्नो निजी देवता भएको दाबी गर्दै आएका छन् ।


पुरातत्त्व विभागका पूर्वमहानिर्देशक विष्णु कार्कीका अनुसार यो ठाउँ पहिला दरबारको स्वामित्वमा थियो । राणाकालमा जुद्ध शमशेरले दरबारको नाममा भएको जग्गा टुक्र्याए । १९९० सालको भूकम्पले हनुमानढोका दरबार खुम्चिएको कार्की बताउँछन् । ‘जुद्धशमशेरले जुद्ध सडक बनाए, युरोपियन शैलीका तीनवटा घर बने,’ उनले भने, ‘मल्लकालीन कुमारीको थान, पोखरी, बगैंचा सबै नापी गराइदिए । त्यो व्यक्तिको नाममा दर्ता भयो ।’ त्यसयता भएका नापीका बेला सार्वजनिक जग्गा मिचेर आफ्नो नाममा दर्ता गर्ने क्रम बढेको उनको भनाइ छ ।


प्रकाशित : कार्तिक २८, २०७६ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?