कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आज मानव साङ्लोले टुँडिखेल घेर्दै

दामोदर न्यौपाने

काठमाडौँ — कक्षा ८ मा पढ्ने सितास्मा राम्जेत धिमेबाजा बजाउँदै वसन्तपुरको तल्लो सहर (दक्षिण कोलिग्राम) का बस्तीबस्ती घुमिन् । ११ मा पढ्ने मुकान स्थापित पनि भुस्या बाजा बजाउँदै टोल परिक्रमा गरे । भुस्या र धिमे बोकेका युवायुवतीदेखि बालबालिकासम्मको समूहले बिहीबार र शुक्रबार प्राचीन सहर संगीतमय बनाए । सांस्कृतिक बाजा व्यवस्थापन गर्ने दुलाक्षी परिवार क्लबका अध्यक्ष श्याम महर्जनले भने, ‘अकुपाई टुँडिखेल अभियानलाई सफल बनाउन आह्वान गर्दै हामीले बस्तीलाई उत्सवमय बनाएका छौं ।’

इन्द्रजात्रा र सेतो मत्स्येन्द्रनाथ लगायतको रथयात्रा गर्ने रुट प्रयोग गरी बाजागाजासहित सन्देश दिइएको सम्पदा संरक्षण अभियन्ता गणपतिलाल श्रेष्ठले बताए ।


फेग धिमेबाजा खलका अनुप श्रेष्ठ खुला ठाउँमा नेवार बस्तीको सम्बन्ध जोडिएकाले हामी पनि सहभागी छौं है भनेर सन्देश दिन टोलटोल घुमेको बताउँछन् । ‘बाजाले संस्कृति जोगाउँछ,’ उनले भने, ‘टुँडिखेल पनि हाम्रो संस्कृति हो । शनिबार हुने कार्यक्रममा पनि नेवारी बाजा घन्काउँछौं ।’


अभियानका नाममा राजनीति : मेयर शाक्य

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ‘अकुपाई टुँडिखेल’ अभियानलाई राजनीतिक रङको संज्ञा दिएका छन् । शंखधर दिवसको अवसर पारेर विष्णुमती किनारामा निर्माणधीन पार्कमा आयोजित कार्यक्रममा मेयर शाक्यले भने, ‘यो अभियानलाई राजनीतिक स्वार्थ पूरा गर्ने अस्त्र बनाउनु हुँदैन ।’


अभियानमा सहभागी हुन सम्पदा संरक्षण अभियानले निम्ता दिन खोजे पनि मेयर शाक्यले समय दिएनन् । ‘हामीले भेट्न खोज्यौं, भेट दिनुभएन । फोन गर्‍यौं, फोन पनि उठाउनुभएन,’ अकुपाई टुँडिखेलका संयोजक विजय श्रेष्ठले भने । मेयर शाक्यले भेट नदिएपछि उनीहरूले यही कार्यक्रमस्थलमा गएर निम्ता दिएका थिए । निम्ता ग्रहण गरेपछि मेयर शाक्यले मञ्चबाट राजनीतिक रङ नदिन आग्रह गरे । ‘टुँडिखेल खोल्नुपर्छ भन्ने मागमा महानगर सकारात्मक छ । खुलामञ्चमा चिनियाँ ठेकेदार केही समयलाई बसेका हुन् । उनीहरूले छाड्छन्,’ उनले भने, ‘महानगरको संस्कृति जोगाउने दायित्व महानगरको पनि हो । तर, अभियानको नाममा राजनीतिक उद्देश्य पूरा गर्ने र जस लिने काम गर्नु हुँदैन ।’


जनताको अभियान हो, सहभागी हुन्छु : उममेयर खड्गी मेयर शाक्यले राजनीतिक रङ दिन नहुने अभिव्यक्ति दिएलगत्तै उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले भने अभियान राजनीतिसँग नजोएिको बताइन् । जनताको अभियान भएकाले जनतालाई साथ दिनुपर्ने उनले भनाइ थियो । ‘टुँडिखेल अतिक्रमण भएकै हो । हामी जनताबाटै चुनिएकाले उनीहरूले हाम्रो साथ खोजेका छन् । जनताले बोलाएको ठाउँमा म सहभागी हुन्छु,’ खड्गीले भनिन्, ‘ममात्र होइन, मैले अरूलाई पनि सहभागी हुन आह्वान गरेकी छु ।’

आज मानव साङ्लोले टुँडिखेल घेर्ने टुँडिखेल अतिक्रमणको चपेटामा परेपछि खुला राख्न दबाब दिन अभियानले आज मानव साङ्लोले टुँडिखेल घेर्दै कार्यक्रम तय गरेको छ ।


खुलामञ्चमा अस्थायी बसपार्क छ भने अनधिकृत पसलहरू सञ्चालनमा छन् । यहीँ निर्माण सामग्री राखिएको छ, कामदारको अस्थायी बसोबास छ । सेनाले विभिन्न भौतिक संरचना पनि टुँडिखेल क्षेत्रभित्रै विस्तार गरिरहेको छ । ‘विश्व स्वतन्त्रता दिवसको अवसरमा शनिबार टुँडिखेल मानव साङ्लोले घेर्ने कार्यक्रम राखेका हौं,’ अभियन्ता आलोकसिद्धि तुलाधरले भने, ‘यो अभियानले अरू ठाउँका पनि खुला क्षेत्र जोगाउन जागरण ल्याउनेछ ।’


प्रकाशित : कार्तिक २३, २०७६ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?