विश्व सम्पदामा बेवास्ता : कोतरिँदै स्वयम्भू

स्वयम्भूमा विश्व सम्पदाको गुण क्षय हुने गरी काम भइरहेको छ, नरोक्ने हो भने यो क्षेत्र खतरामा पर्न सक्छ
दामोदर न्यौपाने

काठमाडौँ — स्वयम्भूमा विश्वसम्पदाका मापदण्डविपरीत संरचना निर्माण भइरहेको छ । स्वयम्भूको मौलिकता नै मासिने गरी संरचना निर्माण भएपछि कुरूप बन्न लागेकोमा सरोकारवाला चिन्तित भएका छन् । यहाँ जंगल मासेर विहार बनेका छन् । कमजोर भौगोलिक अवस्था भएको स्वयम्भूको जमिनबाट पानी तानेर झन् कमजोर पारिएको छ ।

स्वयम्भू स्तूपवरिपरि आधुनिक निर्माण सामग्री राखेर धमाधम ढुंगा छाप्ने काम भइरहेको छ । ढुंगाको जडान सिमेन्ट र बालुवाको छ । प्राचीन स्मारक संरक्षण ऐनअनुसार विश्व सम्पदा क्षेत्रमा पहिला जुन निर्माण सामग्री प्रयोग भएको थियो, त्यही प्रयोग गर्नुपर्छ । ‘विश्व सम्पदामा सूचीकृत हुँदा जुन गुण थियो, त्यसमा ह्रास आउँदै गएको छ,’ युनेस्कोको सल्लाहकार संस्था इकोमस नेपालका अध्यक्ष काइवाइजेले भने, ‘स्वयम्भूमा विश्व सम्पदाको गुण क्षय हुने गरी काम भइरहेको छ । यसलाई नरोक्ने हो भने विश्व सम्पदा क्षेत्र खतरामा पर्न सक्छ ।’

विश्व सम्पदालाई असर गर्ने गरी बनेको अर्को संरचना हो, आनन्दकुटी महाविहार । महाविहार विस्तार क्रममा यहाँको खुला ठाउँ र जंगलसमेत सखाप पारिएको छ । २०७२ सालको भूकम्पले आनन्दकुटी विहारमा सामान्य क्षति भएको थियो । अहिले यहाँको परम्परागत बाटोसमेत थुनिएको ३० वर्षदेखि स्वयम्भूमा ‘मर्निङ वाक’ गर्दै आएका मधुसूदन श्रेष्ठ बताउँछन् ।

निजी स्वामित्वको विहारमा आधुनिक निर्माण सामग्री प्रयोग भएको थियो । पुरातत्त्व विभागका अनुसार विसं १९९८/९९ मा भिक्षु धम्मालोकले विहार स्थापना गरेका थिए । यहाँ रहेको बुद्धमूर्ति म्यान्मारका धर्म गुरुले उपहार दिएका हुन् । यही ठाउँमा श्रीलंकन चैत्य पनि छ । चैत्य र विहार दुवैको पुनर्निर्माण गर्न श्रीलंकाले आर्थिक सहयोग गरेको हो । विहारमा धर्म देशना र बौद्ध समारोह हुँदै आएको छ ।

उपत्यकाका धार्मिक जंगलमध्येमा पर्छ, स्वयम्भू । नेवार समुदायभित्रको बौद्धमार्गीमा गुँला पर्वका बेला एक महिनासम्म जंगल जाने परम्परा हुन्छ । १२ वर्षमा आउने नरदेवी जात्राको तयारी गर्ने बेला छोरा मान्छेलाई गुठीमा पस्न लायक बनाइन्छ । ६ देखि १२ वर्षसम्मका बालकलाई वनवास पठाउने चलन छ । एक दिन एकरात स्वयम्भूको जंगलमा जानुपर्छ ।

‘यति महत्त्वपूर्ण जंगल मासिँदै गएको छ । कसैलाई चासो छैन,’ श्वेतकाली नरदेवी १२ वर्षे मेला व्यवस्थापन समितिका अध्यक्ष सत्यनारायण डंगोलले भने, ‘जंगलको सौन्दर्य मासिने गरी भित्रभित्रै गैरकानुनी निर्माण भइरहेका छन् ।’

आनन्दकुटी महाविहारमा जाने बाटोमा कंक्रिट राखेर फलामका बार लगाइँदै छ । ‘यहाँ वर्षैपिच्छे नयाँ संरचना बनाइरहेका छन्, स्वयम्भू विकास महासमिति नै गैरकानुनी निर्माणमा लागेको छ,’ यस क्षेत्रमानियमित मर्निङ वाकमा आउने श्रेष्ठले भने, ‘सम्पदाको रक्षा गर्नुपर्ने निकायले नै संरक्षण गर्न सकेको छैन ।’

भगवान् पाउमा वरपर प्राचीन ढुंगामा जथाभावी तिब्बती अक्षर लेखिएका छन् । पाउसँगैको सिंहलगायतका मूर्तिमा रङ लगाएर विरूप पारिएको छ । भगवान् पाउछेउमै महानगरको स्वीकृतिमा मनाङ सेवा समाजले कंक्रिटको आधुनिक गेट बनाउन लागेको थियो । सम्पदा संरक्षण अभियन्ताले विरोध गरेपछि उक्त गेट महानगरले डोजर लगाएर भत्काइदिएको थियो ।

विवादमा विश्वशान्ति महाविहार
स्वयम्भू चैत्यको छेउमै रहेको विश्वशान्ति विहार (कर्मराज महाविहार) विवादमा परेको छ । सम्पदा संरक्षण अभियन्ताले चैत्य छेउको महाविहारमा आधुनिका कंक्रिट, रड, सिमेन्टजस्ता आधुनिक निर्माण सामग्री प्रयोग गरेको भन्दै आपत्ति जनाएका छन् । महाविहारले जंगल क्षेत्रसमेत मासेको उनीहरूको आरोप छ । विहारले भने जंगल नमिचेको बरु पुनर्निर्माण गर्दा विहारकै साइज घटाएको दाबी गरेको छ । ‘पहिलाको भन्दा तला र साइज घटाएका छौं,’ महाविहारका महासचिव राजेन्द्रलाल मानन्धर भन्छन्, ‘पहिला चार तला थियो, अहिले तीन तलामा झारेका छौं । पहिला आठ आनामा बनेको विहार अहिले छ आनामा छ ।’

संयुक्त राष्ट्रसंघीय निकाय युनेस्कोको मनिटरिङ मिसनले समेत विवादित महाविहारबारे जानकारी लिएको छ । युनेस्को टोलीलाई विहारका महासचिव मानन्धरले नियमसंगत तरिकाले बनाएको जानकारी दिएका थिए । ‘नियमसंगत बनाएको भए सर्वसाधारणले किन प्रश्न उठाए त ?’ युनेस्कोका काठमाडौं कार्यालयका प्रमुख क्रिस्चियन म्यानहार्टले प्रश्न गरेका थिए ।

‘खै किन गरे ? वास्तविकता नबुझेर विरोध गरेका होलान्,’ मानन्धरको जवाफ थियो, ‘हामीले सबै निकायबाट स्वीकृति लिएरै बनाएका हौं । महानगरले नक्सा पास गरेको छ । पुरातत्त्व विभागले अनुमति दिएको छ ।’

२०१५ सालमा निर्माण भएको महाविहारको विवाद २०१८ सालदेखि सुरु भएको हो । विहारको निर्माण तिब्बती लामाले गरेका थिए । निर्माणपछि केही समय यो खाली रहेकाले २०१९ सालमा सरकारसमक्ष उजुरी पर्‍यो । पछि मुद्दा नै चलेपछि यसको जिम्मा लामालाई नै दिइएको थियो । यो गुम्बा सुरुमा महायानी गुम्बाको रूपमा निर्माण भएको थियो । विश्वशान्ति गुम्बा राखिए पनि पछि यसको नामकरण तिब्बती गुम्बा गरियो । तिब्बती गुम्बालाई कर्मराज महाविहार नामकरण गरियो । यो गुम्बासँगै बुद्धमूर्ति पनि बनाइएको थियो । महाविहार पूर्ण रूपमा क्षति भएपछि यहाँको बुद्धमूर्ति बाहिरै प्लास्टिकले छोपेर राखिएको छ । भूकम्पअघि विहारको नाममा दुई आना तीन दाममात्र जमिन थियो । पछि मन्त्रिपरिषद्बाट निर्णय गराएर जग्गा बढाएको भन्दै सम्पदा संरक्षण अभियन्ताले आपत्ति जनाएका थिए । ‘वन मिचेर विहार बनाइयो । यही कारण स्वयम्भू चैत्य पनि खतरामा छ । एउटा बुद्धमूर्ति राख्न चारतले विहार किन चाहियो ?’ उनीहरूले प्रश्न गरेका थिए ।

‘२०२१ सालको नापीमा १४ आना ३ दाम नै रहेछ,’ विहारका महासचिव मानन्धर भन्छन्, ‘पछि जग्गा कता परेछ अनि मन्त्रिपरिषद्बाट निर्णय गराएरै महाविहारको नाममा पारिएको हो ।’ यसको जग्गाधनी गुठी संस्थान छ भने मोहीचाहिँ कर्मराज महाविहार हो ।

पुजारीलाई घर
महाविहारले नै यहाँका पुजारीका घर पनि बनाइदिएको छ । स्वयम्भू क्षेत्रमा बुद्धाचार्यको मात्र बसोबास छ । यहाँका पुजारी बुद्धाचार्य नै हुन्छन् । घर आफ्नो भए पनि यसको स्वामित्व आफ्नो हुँदैन । बस्न पाउँछन्, बेच्न पाउँदैनन् । महाविहारले नै पुजारीका १८ वटा घर बनाइदिएको छ । महाविहार र पुजारीका घरसमेत गरेर १३ करोड रुपैयाँ खर्च भएको छ ।

पुजारीलाई हात लिन घर बनाइदिएको आरोपमा पुजारी ईश्वरमान बुद्धाचार्यले भने, ‘महाविहारले पुजारीको घर बनाइदियो त अरूलाई किन टाउको दुख्नु ?’ भूकम्पले पुजारीको अधिकांश घर भत्किएका थिए । चार घरमात्र बस्न हुने अवस्थामा छन् । अहिले घर र महाविहार निर्माण अन्तिम चरणमा पुगेका छन् ।


प्रकाशित : कार्तिक २०, २०७६ ०९:०६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सम्पदाविद् भन्छन्- ‘संग्रहालयलाई व्यापारिक थलो नबनाऊ’

दामोदर न्यौपाने

काठमाडौँ — नारायणहिटी दरबार संग्रहालयभित्र ‘डिनर र टुर सेवा’ सञ्चालन गर्ने सरकारी योजनाप्रति सम्पदा संरक्षणविद्हरूले तीव्र आपत्ति जनाएका छन् । संग्रहालय बनाइएको दरबारको भित्री संरचना छुन नहुने उनीहरूको भनाइ छ । संरक्षणविद् तेजरत्न ताम्राकारले संग्रहालय बनाइसकेपछि त्यहाँ जबरजस्ती नगरी संरक्षणकै सिद्धान्तअनुसार काम गर्नुपर्ने बताए । ‘यो जबरजस्ती गर्ने ठाउँ नै होइन,’ ताम्राकारले भने, ‘संरक्षण गर्ने भन्दै संग्रहालय बनाउने अनि काममा चाहिं संरक्षणको सामान्य सिद्धान्त पनि याद नगर्ने ? यो कस्तो योजना हो सरकारको ?’

सरकारले ‘भिजिट नेपाल २०२०’ को अवसर पारेर नारायणहिटी दरबार भित्रको लमजुङ कक्षमा साझ ६ देखि ९ बजेसम्म डिनर सेवा सञ्चालन गर्न लागेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका अनुसार यो कक्ष निजी क्षेत्रलाई सञ्चालन गर्न दिने र एक जनाको ११ हजार रुपैयाँसम्मको विशिष्ट डिनर प्याकेज उपलब्ध गराउने गरी योजना बनाइएको छ । ‘होटल चलाउने कुनै निर्णय भएको छैन,’ संस्कृति पर्यटन तथा नागरिक उड्ययन सचिव केदारबहादुर अधिकारीले भने, ‘दरबार परिसरको गणतन्त्र स्मारकदेखि संग्रहालयसम्म साँझमा एक सय जनाले अवलोकन गर्ने र खाना खाने प्याकेज राख्न सकिन्छ कि भनेर छलफल भएको हो । चर्चाचाहिँ खाना खाने ठाउँको मात्रै भयो ।’

दरबारका उच्च पाहुना आउँदा प्रयोग हुने हलमा जोसुकैलाई डिनर सेवा दिन थालेपछि यसको पहिचान मेटिने भन्दै ताम्राकारले विरोध जनाए । यसैबीच, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले ट्वीट गर्दै मन्त्रालयले गर्न लागेको कामको बचाउ गरेका छन् । ‘नारायणहिटी दरबारको ऐतिहासिकता तथा पुरातात्त्विक महत्त्वलाई असर गर्ने काम सरकारबाट हुने छैन,’ भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘अपुष्ट तथा अपूर्ण समाचारको भ्रममा नपरौं ।’

संरक्षणविद् ताम्राकार भने लमजुङ हलमा डिनर सेवा चलाउँछु भन्नु नै नारायणहिटीको ऐतिहासिकता र पुरातात्त्विक महत्त्वलाई असर गर्नु भएको बताउँछन् । ‘ऐतिहासिकता जोगाउँछु भनेको के हो ?’ उनको प्रश्न छ, ‘राजपरिवारले आफ्ना पाहुनालाई खाना खुवाउने स्थानमा आममान्छेलाई खाना खुवाउँछु भन्न थालेपछि यसको ऐतिहासिकता कहाँ रह्यो ?

यसको प्राचीनता कहाँ रह्यो ?’ पुरातत्त्व विभागका कामु महानिर्देशक दामोदर गौतमले नारायणहिटीलाई आम्दानीको स्रोतका रूपमा उपयोगमा ल्याउन लागिएको बताए । नारायणहिटी दरबार संग्रहालयमा सरकारले रात्रिकालीन प्याकेज बनाउन लागेको उनले बताए  । ‘यसअन्तर्गत सांस्कृतिक प्रदर्शन, खाना, राजतन्त्रको इतिहास वर्णनजस्ता कुरा समावेश गर्ने योजना छ,’ उनले भने, ‘दिउँसो घुम्ने ठाउँ अन्त पनि छन्, तर रातको समयमा घुम्ने ठाउँ छैनन् । राति घुम्न पर्यटकलाई राम्रो प्याकेज हुन सक्छ यहाँ ।’ पर्यटन मन्त्री भट्टराई, सचिव अधिकारीसहितको टोलीले संग्रहालयको अध्ययनमा क्रममा नारायणहिटी क्षेत्रलाई कसरी आम्दानीको स्रोत बनाउने भनेर छलफल भएको उनले बताए ।

दरबारको लमजुङ कक्षलाई मात्र नभई अरू ठाउँ पनि कसरी व्यवस्थापन गर्ने भनेर कार्ययोजना बनाउनुपर्ने उनको तर्क छ । ‘आम्दानीका अन्य स्रोत भएका भए यसलाई जस्ताको तस्तै छोडे हुन्थ्यो । तर हामीसँग संग्रहालय दिगो बनाउने स्रोत छैन,’ गौतमले भने ।

नारायणहिटीमा आममान्छेको चासो भएकाले यसलाई सजिलै आम्दानीको स्रोत बनाउन सकिने उनको धारणा छ । ‘त्यहाँ ग्राहक तीनवटा उद्देश्यले जाने गरेको पाइयो,’ गौतमले भने, ‘पहिलो दरबार हेर्न, दोस्रो राजाको जीवनशैली हेर्न र तेस्रो दरबार हत्याकाण्ड भएको ठाउँ हेर्न । सर्वसाधारणको यो चाहनालाई सम्बोधन गर्दै प्रयोग गर्न दिने वातावरण बनाउनुपर्छ ।’

गुरुयोजना बनाएर दरबारको बाहिरी भागलाई आम्दानीको स्रोत बनाइए पनि भित्र छुनै नहुने बताउँछन् ताम्राकार । ‘टिकटको व्यवस्था गरेर दरबार परिसरमा छिर्न पठाउनु नै आम्दानीको स्रोत हो,’ उनी भन्छन्, ‘तिनीहरूका लागि सानो कफी सप बनाउन सकिन्छ । क्यान्टिन चलाउन सकिन्छ । सोभिनियर सप राख्न सकिन्छ । घुम्न आउनेले खाना खान्छन् । सामान किन्छन् । त्यही आम्दानीको स्रोत भइगयो नि ।’

दरबारभित्रै डिनर रेस्टुराँ सञ्चालन गर्ने योजना भने सम्पदा, संस्कृतिप्रति सरकार संवेदनशील छैन भन्ने अर्को एउटा उदाहरण भएको ताम्राकार बताउँछन् । ‘सरकारले संरक्षण गर्न विदेशबाट किन नसिकेको होला ?’ ताम्राकारले बेलायतको विन्डसर केसल संग्रहालयको उदाहरण दिँदै भने, ‘म त्यहाँ गएको छु । कति व्यवस्थित छ । प्राचीनता नबिगारी संग्रहालय चलाइएको छ ।’ विन्डसर क्यासल बेलायतको पुरानो राजदरबार हो । त्यो अहिले संग्रहालयका रूपमा छ । दरबारमा रात्रिभोज हुने कक्ष पनि छ । त्यो कक्षमा अहिले पनि राजपरिवारले विशिष्ट पाहुनाको सम्मानमा रात्रिभोज गर्छ । ‘विशिष्ट पाहुनालाई रात्रिभोज दिने दिन संग्रहालय, पार्क बन्द गरिन्छ,’ उनी भन्छन्, ‘त्यसैगरी लमजुङ कक्षलाई विशिष्ट पाहुनाका लागि रात्रिभोज दिन प्रयोग गर्न सकिन्छ । सधैंभरि होइन ।’

७ सय ५५ रोपनी क्षेत्रफलमा फैलिएको परिसरमा नारायणहिटी दरबारले मात्र ३ सय १८ रोपनी क्षेत्रफल ओगटेको छ । दरबारमा साना ठूला गरेर ७४ कोठा छन् । तीमध्ये २६ वटा संग्रहालयका रूपमा खुला गरिएका छन् । ३२ कोठा खोल्न बाँकी छ । शाह वंशका अन्तिम राजा ज्ञानेन्द्रले २०६५ सालमा गणतन्त्र घोषणापश्चात् छाडे यो दरबार । त्यसपछि यसलाई संग्रहालय बनाइएको हो । दरबारमा रहेको श्रीपेच, राजदण्डलगायत केही सामग्री १० वर्षसम्म सर्वसाधारणका लागि खुला गरिएको थिएन । २०७५ असोजपछि ती सामग्री पनि सर्वसाधारणले हेर्न पाइने गरी राखिएका छन् ।

हाल नारायणहिटी दरबार परिसरभित्र परराष्ट्र मन्त्रालयको राहदानी शाखा, नेपाली सेनाको भीभीआईपी सुरक्षा निर्देशनालय, उपत्यका पृतना, घोडा तबला, गणतन्त्र पार्क र पूर्वमुमाबडामहारानी रत्नको बासस्थानसमेत छ ।


कुन कक्षमा के छ ?

विभिन्न ४५ जिल्लाका नामबाट कोठाको नामकरण गरिएको छ । दरबारको मुख्य मोडामा रहेको कक्ष गौरीशंकर हो । यसको मोहडा (प्रवेशद्वार) निकै अग्लो छ। मोहडाबाट छिरेपछि कास्की कक्षमा पुगिन्छ । कास्की कक्षमा राजकीय भ्रमणमा आएका विदेशी राष्ट्राध्यक्षको स्वागत, प्रधानमन्त्री, संवैधानिक अंगका प्रमुखको शपथ ग्रहण समारोह, राजदूतका ओहोदाको प्रमाणपत्र चढाउनेजस्ता कार्यक्रम हुन्थे ।

कास्की बैठक सामुन्नेको भर्‍याङ उक्लिएपछि तनहुँ बैठक पुगिन्छ । यस कक्षको सम्बन्ध गोरखा कक्षसँग जोडिएको छ । गोरखा कक्षमा युवराजको उमेर पुगेको घोषणालगायत सुशोभन समारोह गरिन्थ्यो । त्यही कक्षमा विशेष समारोह हुँदा मन्त्री, राजदरबारका उच्च पदाधिकारी तनहुँ कक्षमा बसेर अवलोकन गर्थे ।

गोरखा कक्षमा विशेष कार्यक्रम हुँदा अनुमति नपाएका राजपरिवारका अन्य सदस्यले अवलोकन गर्ने प्रयोजन थियो डोल्पा कक्षको । गोरखा कक्ष अवलोकन गर्न मिल्ने गोप्य कक्षका रूपमा विकास गरिएको हो यसलाई । सबै कक्षको बेग्लाबेग्लै प्रयोजन थियो । म्याग्दी कक्षमा संवैधानिक अंगका प्रमुख र राजदूतलाई जलपान गराइन्थ्यो । पर्वत कक्षमा हस्ताक्षर समारोह, रूकुम कक्ष राष्ट्र प्रमुखलाई भेट गर्न आउने विशिष्ट व्यक्तिका लागि प्रतीक्षालय थियो । दैलेख कक्षमा विदेशी राष्ट्राध्यक्ष सुत्थे । त्यहाँ भव्य पलङ राखिएका थिए । बैतडी कक्षमा तिनका पत्नी र अछाम कक्षमा तिनका नातेदार सुत्थे ।

विदेशी पाहुना भोजन गर्न बाजुरा कक्ष बनाइएको थियो । खाना खाएपछि आराम गर्न जुम्ला कक्ष लगिन्थ्यो । करिडोरका नाम पनि जिल्लाकै नामबाट राखिएका छन् । रोल्पा कक्षदेखि बैतडी कक्षसम्मको करिडोरमा राजारानीका तस्बिर झुन्याइएका छन् ।

मुगु कक्षमा त्रिभुवनले प्रयोग गरेका सामग्री संकलन गरिएका छन् । लमजुङ कक्षमा रात्रिभोज आयोजना गरिन्थ्यो । गुल्मी कक्ष राजाको निजी कार्यालय थियो । धादिङ कक्षमा आराम गर्ने राजा धनकुटा कक्षमा शयन गर्थे । धनुषामा दसैंको टीका लगाइन्थ्यो । इतिहासकार पुरुषोत्तमशमशेर राणाका अनुसार काजी घोकलसिंह बस्न्यातको थियो पहिले नारायणहिटी । बस्न्यातको भवन रणोद्वीपसिंह बहादुर राणाले हात पारे ।कोतपर्व हुनुअघिसम्म नारायणहिटी प्रधानमन्त्री निवास थियो ।

चौतरिया फत्तेजङ शाह यही दरबारमा बस्थे । हनुमानढोका दरबारमा सुरक्षा नभएको भन्दै नारायहिटी सारिएका पृथ्वीविक्रम शाहलाई रणोद्वीपले आफ्नै दरबारको उत्तरी मोहडामा राखेका थिए । राजा बस्न थालेपछि नारायणहिटी राजदरबारमा परिणत भयो । समय समयमा जीर्णोद्धार गरिएको राजदरबारको २०२६ सालमा पुनर्निर्माण गरिएको हो ।

प्रकाशित : कार्तिक १९, २०७६ ०९:०९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT