कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक ट्रकमा १५ क्युफिट ठगी

कान्तिपुर संवाददाता

भक्तपुर — मिनी ट्रकमा फलाम र काठको फ्रेम बनाई एक ट्रिपमा कम्तीमा १५ क्युफिट कम निर्माण सामग्री ढुवानी हुने गरेको पाइएको छ  । बालुवा, रोडा, गिट्टी ढुवानी गर्दा सञ्चालकले बढी फाइदा लिन ट्रकको स्वरुप नै परिवर्तन गरेर उपभोक्तालाई ठगी गरिरहेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो  ।

स्वरूप बिगारेको ट्रकबाट उपभोक्ता एक ट्रिपमा न्यूनतम १५ क्युफिट ठगिने गरेको जानकारी यातायात व्यवस्था कार्यालयले प्रहरीलाई उपलब्ध गराएको हो ।

वास्तविक ढालाभन्दा थप उचाल्न फलाम, काठ र ढलान गर्ने ट्रकलाई भक्तपुर प्रहरीले एक साताअघि नियन्त्रणमा लिएको थियो । कम्पनीले बनाएको स्वरूप बदलेर निर्माण सामग्रीमा ठगी गरेको आरोपमा नियन्त्रणमा लिएका ३४ मिनी ट्रकका सञ्चालकलाई कारबाही गर्न थप प्रमाणका लागि प्रहरीले यातायात कार्यालयसँग जानकारी माग गरेको थियो । कार्यालयले यस्ता ट्रकबाट औसतमा १५ क्युफिट निर्माण सामग्री कम हुने जानकारी दिएको भक्तपुर प्रहरी प्रमुख सविन प्रधानले बताए ।

अपराध अनुसन्धान महाशाखाका अनुसार एक ट्रक निर्माण सामग्री ढुवानी गर्दा उपभोक्ता २ हजार २ सय रुपैयाँसम्म ठगिने गरेका छन् । नियन्त्रणमा लिइएका ट्रक सञ्चालकलाई आवश्यक कारबाहीको माग गर्दै उपभोक्ता हित संरक्षण मञ्च भक्तपुर र निर्माण सामग्री डिपो समूहले उजुरी दिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी रेवतीरमण पोखरेलले बताए ।

सवारीसाधनको ढाला काट्ने र सामान राख्ने सतहमा ५ इन्चसम्म काठ/फलामको फ्रेम राखेर कम सामान अट्ने गरी स्वरूप परिवर्तन गरिएको थियो । डिपो सञ्चालकले काठ, फलामको रेडिमेड तथा फिक्स बक्स बनाएर उपभोक्तालाई ठगी गरेको पाइए पनि उजुरी नपरेकाले कारबाही गर्न प्रहरीले अरू प्रमाण जुटाइरहेको छ । भक्तपुर प्रहरीले मिनी ट्रक नियन्त्रणमा लिए पनि सञ्चालकलाई कारबाही गर्न भने सकेको छैन ।

डिपो सञ्चालकहरूले बिलमा समेत अनियमितता गरेको पाइएको प्रहरीले जनाएको छ । ‘निर्माण सामग्री ढुवानीको बिलमा परिणाम खुलाइएको छैन, हचुवाको भरमा उपभोक्तालाई बिल थमाएको पाइयो,’ एसपी प्रधानले भने । प्रहरीका अनुसार मिनी ट्रकको आधिकारिक डिलरले दिएको रिपोर्टमा मिनी ट्रकको क्षमता एक सय क्युफिट हो ।

अपराध अनुसन्धान महाशाखाले निर्माण सामग्री सप्लायर्सका सञ्चालकलाई ठगी मुद्दामा कारबाही गर्न प्रमाण जुटाइरहेको छ । महाशाखाले २३ जनालाई नियन्त्रणमा लिएर ठगी मुद्दा चलाएको छ । नापतौल तथा गुणस्तर विभागको प्राविधिक टोलीले ट्रकको उचाइ, चौडाइलगायतको प्रतिवेदन दिन अध्ययन गरिरहेको छ ।

त्यस्तै यातायात व्यवस्था कार्यालयलाई ट्रकको वास्तविक मापदण्ड, स्वरूप परिवर्तन र ट्रक धनीलगायतको जानकारी माग गरिएको महाशाखाले जनाएको छ । मिनी ट्रकको ढाला काट्ने, फलाम, काठको फ्रेम राखेर स्वरूप बदल्दै उपभोक्ता ठग्ने २३ जनालाई नियन्त्रणमा लिएर प्रहरीले काठमाडौंमा ठगी मुद्दा चलाइसकेको छ । भक्तपुरले भने ट्रक नियन्त्रणमा लिए पनि डिपो र गाडी सञ्चालकलाई नियन्त्रणमा लिएको छैन ।

प्रकाशित : कार्तिक १०, २०७६ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?