कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अपांगमैत्री लिफ्ट बनाउन म्याद थपेको थप्यै

कान्तिपुर संवाददाता

ललितपुर — ललितपुर महानगरपालिकाको लिफ्ट निर्माण गर्ने कम्पनीले तोकिएको समयमा काम नसकेपछि म्याद थपेको थप्यै छ । असार १५ भित्र काम सक्नुपर्ने समयसीमा तोकेर महानगरपालिकाले गत फागुन २१ गते आरएमएस इन्टनेसनल कम्पनीसँग सम्झौता गरे पनि अझै काम सकिएको छैन ।

निर्धारित समयमा काम नसकेपछि महानगरले असोज मसान्तसम्म काम सकाउनुपर्ने गरी म्याद थप गरेको थियो । महानगरको कार्यालय अपांगमैत्री बनाउन लिफ्ट बनाउन ठेक्का पाएको कम्पनीले काममा ढिलाइ गरेको हो ।


महानगरका उपमेयर गीता सत्यालले लिफ्ट निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै ठेक्का पाउने कम्पनीको बचाउ गरिन् । ‘लिफ्टमा सिसा राख्नमात्रै बाकीँ छ,’ उनले भनिन् ।


लिफ्टको ९० प्रतिशत काम सकिएको महानगरका इन्जिनियर श्रीविकास महर्जनले बताए । पाँच ढोका भएको लिफ्ट जडानको काम सकिएपछि अशक्तलाई माथिल्लो तल्लामा पुग्न र ओर्लन सजिलो हुने उनको भनाइ छ ।

कम्पनीका प्रमुख हरिशचन्द्र पौडेलले बिहान र बेलुकामात्रै काम गर्नुपर्ने भएकाले बेलैमा काम गर्न नसकिएको बताए । ‘तीन दिनभित्र काम सकिन्छ,’ उनले दाबी गरे ।


महानगरपालिकाले लिफ्ट निर्माणका लागि १ करोड ८ लाख रुपैयाँमा टेन्डर आह्वान गरेको थियो । आरएसएसले ८२ लाख ३० हजार रुपैयाँमा ठेक्का लिएको थियो । जडान हुँदै गरेको लिफ्टको क्षमता एक हजार किलोग्राम अर्थात् एकचोटिमा १५ जना अट्ने हुनेछ ।



प्रकाशित : कार्तिक ६, २०७६ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?