कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

गुठीको जग्गामा रेस्टुरेन्ट

कान्तिपुर संवाददाता

काठमाडौँ — कीर्तिपुरको बाघभैरवस्थित गुठीको जग्गामा रेस्टुरेन्ट सञ्चालनका लागि भौतिक संरचना निर्माण थालिएपछि विवाद भएको छ । नाच प्रशिक्षण गराउने जग्गामा लहना रेस्टुरेन्टले पिलर उठाउन डन्डीसमेत बिछ्याइसकेको छ । कीर्तिपुर नगरपालिका– १ स्थित कित्ता नम्बर १०३ को १ आना ३३ पैसा क्षेत्रफलमा रहेको जग्गामा भवन बनाउन लागिएपछि संस्कृतिविद् र सरोकारवालाहरूले विरोध जनाएका छन् । बाघभैरव माली गुठी, कीर्तिपुर आँग छेँ (कोतघर), दे गुठी, कजी खल: र नाचसँग सम्बन्धित संस्थाहरूले उक्त कार्य नरोकिए कीर्तिपुरका कुनै पनि सांस्कृतिक गतिविधिमा भाग नलिने चेतावनी दिएका छन् ।

‘भवन नबनाउन रेस्टुरेन्ट सञ्चालकलाई पटक–पटक सचेत गराएका छौं,’ बाघभैरव माली गुठियार ईश्वरकुमार मालीले भने, ‘अटेर गरे जात्रा/पर्वमा परम्पराअनुसार गुठीले गर्नुपर्ने सम्पूर्ण पूजापर्व ठप्प पार्छौं ।’ कुनै पनि हालतमा सम्पदा मास्न नदिने उनले बताए । उनका अनुसार गुठी जग्गा लहनाले भाडामा चलाइरहेको थियो ।


गुठी जग्गा बनिरहेको उक्त भवन निर्माण रोक्न कीर्तिपुर नगरपालिका–१ नम्बर वडा कार्यालयले रेस्टुरेन्ट अवस्थित टोलका भजन खलक ‘थाम्बहाल दाफा: खल:’ का नाममा पत्राचार गरेको छ । वडाध्यक्ष हर्ष महर्जनले दुवै पक्षबीच सहमति नभएसम्म भवन निर्माण गर्न नदिने बताए । ‘अहिले भवन बनाउन लागेको जग्गा प्रत्येक १२ वर्षमा हुने बाघभैरव नाच सिकाउने ठाउँ हो,’ उनले भने, ‘यसलाई खुल्ला नै छोड्नुपर्छ ।’


लहना कीर्तिपुर क्षेत्रमा चल्ने नेवारी खाजा घरमध्ये एक हो । स्थानीय केही व्यक्तिको लगानीमा २०६३ सालमा कीर्तिपुर–१ थम्बहाल टोलस्थित सार्वजनिक भवनमा यो रेस्टुरेन्ट स्थापना भएको थियो । लहनाका सञ्चालक राजमान मानवले रेस्टुरेन्टलाई पर्याप्त जग्गा भएको दाबी गर्दै गुठीको जग्गा मास्न नखोजेको प्रतिक्रिया दिए । ‘सार्वजनिक जग्गामा निर्माण गरेर निजी जग्गासमेत सार्वजनिक बनाउन लागेका हौं,’ उनले भने, ‘भवन बनाएपछि पहिलो अधिकार बाघभैरव माली गुठीकै हुनेछ ।’ उनका अनुसार गुठी जग्गाको दक्षिण र उत्तरतिर निजी जग्गा छ । गुठियार र व्यक्तिगत जग्गाधनी दुवैलाई मिलाउन भवन बनाउन लागेको उनले तर्क गरे । ‘सरोकारवालासँग छलफल गरेर सहमतिमा अगाडि बढ्ने सोचले काम रोकिएको हो,’ उनले भने ।


कीर्तिपुर नगरपालिका मेयर रमेश महर्जनले विवाद मिलाउने प्रयास भइरहेको र दुई/चार दिनमै निकास निकाल्ने बताएका छन् ।


संस्कृतिविद् प्रयागमान प्रधान सांस्कृतिक महत्त्व बोकेको जग्गामा कुनै पनि हालतमा भवन बनाउन दिन नहुने बताउँछन् । ‘कीर्तिपुरको सांस्कृतिक सम्पदा कुनै ठाउँ विषेशको मात्र भनाइ राष्ट्रकै सम्पत्ति हो,’ उनले भने ।’

दसैंका बेला लहनाले अटेर गरेर पिलर ठड्याउन डन्डी बिछ्याएपछि बाघभैरव माली गुठियारले विजयादशमीमा कीर्तिपुर कोतघरमा इन्द्र बाजा बजाउन बन्दसमेत गरेका थिए ।


प्रकाशित : कार्तिक ६, २०७६ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?