कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

८२ टोल अन्धोपनमुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल आँखा अस्पतालले काठमाडौं र ललितपुरका ८२ टोललाई अन्धोपनमुक्त क्षेत्र घोषणा गरेको छ । काठमाडौंको टोखा, चन्द्रागिरि, साँखु, खोकना र ललितपुर गोदावरीका ६ वटा वडाको ८२ टोललाई अन्धोपनमुक्त घोषणा गरिएको हो ।

३ वर्षदेखि स्थानीय तहका स्वास्थ्यकर्मी, आँखा अस्पतालका नेत्र सहायक विशेषज्ञको टोली खटिएका थिए ।


टोलीले स्थानीय तहका १२ हजार जनाको आँखा परीक्षण गरी अन्धोपनको उपचार गरिएको आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेले बताए । ‘घरघरमा गएर बिरामी खोज्यौं । आँखाका समस्या पत्ता लगायौं अनि अस्पताल ल्याएर निःशुल्क शल्यक्रिया गर्‍यौं,’ उनले भने । तीन वर्षमा मोतीबिन्दुका कारण दृष्टिविहीन भएका ९ सय बिरामीको निःशुल्क शल्यक्रिया गरेको उनले बताए । अभियानमा आँखासम्बन्धी प्राथमिक उपचार भने स्थानीय तहमै गरिएको थियो । अभियानबाट उपत्यकालाई चाँडै नै अन्धोपनमुक्त क्षेत्र बनाउने योजना रहेको उनले बताए । गोदावरी नगरपालिका वडा ९ का अध्यक्ष आत्मराम थापाले भने, ‘कतिपय उमेरका कारण अन्धो थिए । कोही वर्षौंदेखि उपचार नपाएर बसेका थिए । उपचारपछि काम गर्न सक्ने भएका छन्,’ उनले भने ।


आँखा अस्पतालका मेडिकल डाइरेक्टर आँखारोग विशेषज्ञ डा. कमल खड्काका अनुसार बिरामीहरू अन्धोपनलाई अझ देवताको श्राप मानेर उपचार नगरी बसिरहेकाले अन्धोपन हटाउन बृहत् अभियानको आवश्यक रहेको बताए । राष्ट्रिय स्वास्थ्य नीति २०७६ मा आँखा स्वास्थ्यलाई सबै स्थानीय तहमा विस्तार गरिने उल्लेख छ । स्वास्थ्य सेवा विभागको नाक, कान, घाँटी, आँखा र मुख स्वास्थ्य शाखा प्रमुख डा. प्रकाश बुढाथोकीले आँखा उपचार तराई भेगमा मात्रै सीमित छन् । यसलाई हिमाली र पहाडी भेगमा पनि पुर्‍याउनुपर्ने उनले बताए । ‘दुर्गममा अझै पनि आँखाको शल्यक्रिया गर्न शिविर नै कुर्नुपर्ने अवस्था छ । सेवा र विशेषज्ञ सहरी भेगमै सीमित छन्,’ उनले भने ।


नेपाल अन्धोपन सर्वेक्षणले सन् १९८१ मा गरेको सर्वेक्षणअनुसार नेपालमा प्रतिसयमा ०.८४ व्यक्तिमा अन्धोपन थियो । अहिले घटेर प्रतिसयमा ०.३५ मा झरेको नेत्रज्योति संघले जनाएको छ । विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्ममा मोतीबिन्दुका कारण हुन सक्ने अन्धोपन शून्यमा झार्ने लक्ष्य लिए पनि भौगोलिक विकटताका कारण यो अभियान चुनौतीपूर्ण रहेको आँखारोग विशेषज्ञ डा. बेल लिम्बू बताउँछन् । ‘ग्रामीण भेगमा अस्पताल खोल्न मुस्किल छ । त्यहाँका बिरामी अझै पाँच दिन लगाएर राजधानीमै उपचार गर्न आइरहेका छन्,’ उनले भने ।

प्रकाशित : आश्विन २८, २०७६ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?