ठेकेदारको स्वार्थले पूजामा बाधा

आश्विन १३, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — ठेकेदारको लापरबाहीका कारणले राजधानीका अधिकांश जात्रा पर्व क्रमश: बन्द हुँदै गएका छन् । संस्थानका कर्मचारीलाई संस्कृतिप्रति मोह नहुँदा पनि देवी नाचहरू रोकिनेक्रम बढ्दो रहेको आरोप छ ।


 यी तीन घटना उदाहरण मात्र हुन् । ठेकेदारको लापरबाहीका कारणले राजधानीका अधिकांश जात्रा पर्व क्रमश: बन्द हुँदै गएका छन् । संस्थानका कर्मचारीलाई संस्कृतिप्रति मोह नहुँदा पनि देवी नाचहरू रोकिनेक्रम बढ्दो रहेको आरोप छ । हनुमानढोका दरबार क्षेत्रस्थित तलेजुका पुजारी उद्धव कर्माचार्य भन्छन्, ‘संस्थानको उद्देश्य राम्रो छ । तर, कर्मचारी ठेकेदार खराब हुँदा बिग्रियो ।’ उनले ठेकेदार र कर्मचारीलाई कारबाही नहुँदा लापरबाही बढेको बताए । ‘संस्थानमा राजनीतिक नियुक्तिले पनि समस्या हुने गरेको छ बन्द गर्नुपर्‍यो,’ उनले भने, ‘मन्दिरमा वार्षिक २४ ठूला र १३ साना महत्त्वपूर्ण पर्व छन् । 


ठेकेदारको कारणले यी पर्वसमेत प्रभावित हुने गरेको छ ।’ पाटन दरबारका तलेजु मन्दिरका पुजारी नीरण राजोपाध्यायले यस वर्षको दसैमा बलि दरबन्दीअनुसार उपलब्ध नगराएमा कडा रूपमा प्रस्तुत हुन बाध्य हुने चेतावनी दिए । गुठी संस्थान ललितपुर शाखा कार्यालय प्रमुख राजन भुजूले दरबन्दी अनुसारको जिन्सी सामन उपलब्ध गराउने समयमै ठेकेदारलाई निर्देशन दिने बताए ।


‘दरबन्दीमा व्यवस्था भएअनुसार कम दिएमा कारबाहीका लागि सिफारिस गरिनेछ,’ उनले भने । ललितपुरमा यस आर्थिक वर्षका लागि दोपाया/चौपायालगायत पूजासामग्री उपलब्ध गराउने ठेक्का सुरेन्द्र अवालले २२ लाख २ सय ६ रुपैयाँमा पाएका छन् । अवालले राँगा, बोका दरबन्दीमा व्यवस्था भएअनुसार दिने गरेको 

दाबी गरे ।


जनप्रतिनिधिको आश्वासन मात्रै ललितपुर महानगरपालिका पाटन दरबार क्षेत्रमा निकालिने खड्ग जात्रा व्यवस्था बैठकमा अधिकांश गुठियारले जनप्रतिनिधिले आश्वासन मात्र दिने गरेको भन्दै आलोचना गरेका छन् । ललितपुर महानगरका जनप्रतिनिधिले गत वर्ष बैठकमा दरबार क्षेत्रसँगसम्बन्धी जात्रापर्व व्यवस्थित ढंगबाट सुचारु गर्न अक्षय कोष स्थापना, गुठियारको बिमा र दरबन्दी रकम समानुकूल परिमार्जन गर्ने प्रतिबद्धता जनाएका थिए । 


 खड्गी सेवा समिति ललितपुरका अध्यक्ष अरोजकुमार खड्गीले धर्मप्रतिको आस्थाले न्यूनतम रकमले पनि धर्मसंस्कृति चलाउँदै आएको बताए । ‘गत वर्ष ललितपुर जनप्रतिनिधि यस्तै बेठकमा अक्षय कोष, बिमा र दरबन्दी रकम समानुकूल परिमार्जन गर्ने प्रतिबद्धता जनाएका थिए । तर पूरा गरेनन्,’ उनले भने ।


विजयादशमीको राति हुने खड्ग जात्रामा खड्गी समुदायले राँगाको टाउँको बोक्नुपर्ने चलन छ । यसका लागि उनीहरूलाई गुठी संस्थानले ४ सय रुपैयाँ मात्र दिँदै आइरहेको छ । उनले दुई दशकअघि कायम भएको दरबन्दी जनप्रतिनिधि आएको ३ वर्षमा पनि समयानुकूल परिमार्जन गर्न नसकेको भन्दै गुनासो गरे । 


ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले पनि जात्रा पर्वको स्थायी रूपमा विकास गर्न कोष खडा गर्नुपर्नेमा जोड दिए । ‘यो गाह्रो काम पनि होइन । ललितपुर महानगरको बोर्ड बैठकबाट निर्णय गरे पुग्छ,’ उनले भने । प्रतिउत्तरमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले अक्षय कोष, गुठियारको बिमा र दरबन्दी यस वर्ष कायम गर्ने प्रतिबद्धता जनाए । ‘गत वर्ष बजेट बनाउँदा ढिलाइ भएका कारणले व्यवस्था गर्न सकिएन,’ उनले भने । जात्रामा खड्गी खलका ८ जना गुठियार खटिनुपर्छ । 


पाटन दरबारको ‘मू छेँ आँगन घर’ का पुजारी माधवश्याम शर्माले पनि आश्वासन मात्र दिएर प्रतिबद्धता पूरा नगरको भन्दै गुनासो गरे । ‘संस्थानले मन्दिर भाडामा लगाएको छ,’ उनले भने, ‘व्यक्तिगत खर्चले जात्रा पर्व चलाउनुपर्ने बाध्यता छ ।’ ललितपुर महानगरकी उपमेयर गीता सत्यालले यस वर्ष ‘मू छेँ आँगन घर’ जसरी भए पनि पुनर्निर्माण गर्ने बताइन् ।


‘यसका लागि बजेट पनि छुट्याइसकेका छौं,’ उनले भनिन् । स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय ललितपुरका प्रमुख सन्दीप खनालले जात्रा पर्व सञ्चालन गर्न आवश्यक सहयोग गर्न तयार रहेको बताए ।


कान्तिपुर

Link copied successfully