कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खसीमा बिचौलिया

प्रशान्त माली

काठमाडौँ — कृषकले हुर्काएको खसीमा तीन तहका बिचौलियाले नाफा खाने हुँदा उपभोक्ता चर्को मूल्य तिर्न बाध्य छन् । होलसेल व्यापारीले कृषकसँग खसी खरिद गरेर राजधानी ल्याउँछन् । उनीहरूले राजधानीको कलंकी, बागबजार लगायतको बजारमा खसी बिक्री गर्छन् । यहाँबाट कोल्ड स्टोर सञ्चालकले किनेपछि उपभोक्तालाई बिक्री हुन्छ । 

खसीमा बिचौलिया

दसैं नजिकिएपछि काठमाडौं महानगरपालिका, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, उपभोक्ताकर्मीले शनिबार कलंकीको खसी बजार अनुगमन गर्दा होलसेलबाट सस्तोमा खरिद गरेको जिउँदो खसीलाई तयारी अवस्थामा उपभोक्तालाई बिक्री गर्दा दोब्बर मूल्य लिने गरेको पाइएको हो । एक जना खुद्रा व्यापारीले चाडपर्व बेला मात्रै कम्तीमा ३ लाख रुपैयाँ मुनाफा कमाउने गरेको पाइएको अनुगमन टोलीको ठहर छ । ‘किसानले भने उचित मूल्य पाउने गरेका छैनन्,’ अनुगमन टोलीका एक सदस्यले भने, ‘बिचौलियाले धेरै नाफा लिँदा उपभोक्ताको भान्सामा पुग्दा महँगो परेको हो ।’


मूल्यमा एकरूपता कायम नभएको, खरिदबिक्री बिल जारी नगरेको, हचुवाका भरमा बिक्री गरिरहेको र सरसफाइ नगरेको अनुगमनमा भेटिएको काठमाडौं महानगरपालिकाका कृषि विभाग प्रमुख हरिबहादुर भण्डारीले बताए । होलसेल पसल सञ्चालकले जिउँदो खसीको प्रतिकिलो ५ सय ८० देखि ६ सय २५ रुपैयाँसम्म लिएर बिक्री गरेपछि कोल्ड स्टोर सञ्चालकले उपभोक्तालाई प्रतिकिलो १ हजार २ सय देखि १ हजार ३ सय रुपैयाँसम्म लिने गरेको पाइएको उनले सुनाए । अनुगमन टोलीले व्यापारीलाई ढक तराजु प्रमाणित गर्न आग्रह गरेको छ । चौपाया खरिदबिक्री कम्पनी र बिक्री सेवा संघलाई एक पटकलाई सचेत मात्रै गराइएको भण्डारीले बताए । ‘चाडपर्वलाई लक्षित गरेर दैनिक अनुगमन गरिरहेका छौं,’ उनले भने, ‘अर्को पटक भेटिएमा कारबाही हुन्छ भनेर सचेत गरेका छौं ।’


काठमाडौं चौपाया खरिदबिक्री कम्पनी अध्यक्ष जनककुमार खड्काले निश्चित दररेट कायम गर्न खसी बोकाको बिक्री एकद्वार प्रणालीबाट गर्नुपर्ने बताए । ‘खसी बजारबाट उपत्यकाको मागको ४० प्रतिशत मासु आपूर्ति हुँदै आएको छ । ६० प्रतिशत सिधै कोल्ड स्टोरमा जान्छ,’ उनले भने, ‘सरकारले उपत्यकामा भित्रिने खसी बोकाको ट्रान्जिट प्वाइट बनाएर त्यहाँ दररेट तोकेर अन्यत्र पठाउने वातावरण बनाउन सकेमा मात्र मूल्यमा एकरुपता ल्याउन सकिन्छ ।’

कलंकी खसी बजारमा १ सय ३२ जना व्यापारी छन् । कोहीसँग पनि चौपायाको स्वास्थ्य परीक्षण सर्टिफिकेट छैन । उपभोक्ता आफूले खरिद गरेको खसी बोका स्वास्थकर छ/छैन भन्नेबारेमा अनविज्ञ छन् । निरोगी चौपायाको सिङमा हरियो र रोगीको रातो रङ लगाउने गरिन्छ । गत वर्ष खसी बोकाको जाँच गर्ने क्रममा १२ रोगी फेला परेका थिए । भेटनरी डाक्टर अन्जिरमान सिङ डंगोलले पशु सेवा विभागका प्राविधिकसँगको सहकार्यमा चेक गरेर मात्र उपभोक्तामा पठाउने वातावरण मिलाउने बताए । ‘घटस्थापनादेखि फूलपातीको बीचमा बढी खसी बोका आयात तथा बिक्री बढी हुन्छ,’ उनले भने, ‘त्यतिबेलादेखि स्वास्थ्य परीक्षण गरेर मात्र बिक्री गर्न दिन्छौं ।’


चौपाया खरिद बिक्री सेवा संघका संरक्षक दीपक थापाले खसीबोकाको स्वास्थ्य परीक्षण गराउन संघ तयार रहेको बताए । ‘चाडपर्वमा मात्र नभई अन्य समयमा पनि स्वास्थ्य परीक्षण गर्ने वातावरण सरकारले बनाउनुपर्छ,’ उनले भने, ‘यसका लागि हामी ठाउँ उपलब्ध गराउन पनि तयार छौं ।’ उनका अनुसार नागढुंगा नाकामा पशु स्वास्थ्य परीक्षण गरेको सर्टिफिकेट चेक गर्न पोस्ट छ । ‘तर, त्यहाँ ढुवानी मापदण्ड २०६४ लागू भएको छ/छैनबारेमा मात्र चेकजाँच हुन्छ,’ उनले भने ।


बजारमा सुर्खेत, सल्यान, दाङ, कैलाली, डँडेलधुरा, रोल्पा, रुकुम, बाँके, बर्दियालगायत जिल्लाबाट खसी बोका आउने गरेको छ । अब क्रमशः खसी बजार टुकुचा, बालाजुमा अनुगमन गर्ने महानगरको योजना छ । उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा ३९ मा बजार अनुगमन गर्दा बिक्रेता वा सेवा प्रदायकले कसुर गरेको देखिएमा निरीक्षण अधिकृतले तत्काल ५ हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म जरिवाना तिराउन सक्ने छ ।

प्रकाशित : आश्विन १२, २०७६ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?