कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ठडिँदै क्षतिग्रस्त विद्यालय

भक्तपुर — सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भैरवी आधारभूत विद्यालयको नवनिर्मित भवन विद्यालय व्यवस्थापन समितिलाई आइतबार हस्तान्तरण गरिएको छ । भूकम्पका कारण क्षतिग्रस्त भवनको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना इकाइ शिक्षा (सीएलपीआईयू) मार्फत पुनर्निर्माण गरिएको हो ।

समितिलाई भवन हस्तान्तरण गरेको जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षा (डीएलपीआईयू) भक्तपुर प्रमुख भरत श्रेष्ठले बताए । नवनिर्मित भवन उद्घाटन पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य महेश बस्नेतले गरेका हुन् ।


सीएलपीआईयूको ६९ लाख ६९ हजार रुपैयाँ र स्थानीयबासिन्दाले ६ लाख ३७ हजार बराबरको जनश्रमदान गरी ७६ लाख ६ हजार लागतमा ४ कोठे भवन निर्माण गरिएको हो । भूकम्पका कारण क्षतिग्रस्त अधिकांश विद्यालय पुनर्निर्माणको चरणमा छन् भने कतिपय विद्यालय पुनर्निर्माण प्रक्रियामा रहेका छन् । जिल्लाका क्षतिग्रस्त विद्यालय तीन पद्धतिबाट पुनर्निर्माण भइरहेका छन् ।


यसमध्ये विद्यालय व्यवस्थापन समितिले डीएलपीआईयूसँग सम्झौता गरी व्यवस्थापन समितिले निर्माण गर्ने, सीएलपीआईयूमार्फत ठेकेदारबाट र त्रिपक्षीय सम्झौता (राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, सीएलपीआईयू र गैसस) बाट पुनर्निर्माण थालिएको छ ।


डीएलपीआईयू भक्तपुरका अनुसार भूकम्पका कारण क्षतिग्रस्त विद्यालयमध्ये आर्थिक वर्ष ०७३/७४ मा बालसुधार मावि सानोथिमि, चुनादेवी मावि नगरकोट, चन्द्र सूर्योदय आधारभूत विद्यालय (आवि) गुण्डु घ्याम्पेडाँडा, सरस्वती आवि मनोहरा, सरस्वती आवि सिपाडोल, सन्तकृष्ण आवि सिपाडोल, बर्दायणी आवि तौमढी, ठूली ब्रम्हायणी आवि सुडाल, चण्डेश्वर मावि वासिकचा, जनप्रेमी आवि कौशलटार पुनर्निर्माण पूरा भएका छन् ।


त्यसैगरी आर्थिक वर्ष ०७४/७५ मा शान्ति निकेतन मावि सिपाडोल, सरस्वती मावि कांक्राबारी, गणेश मावि छालिङ, सरस्वतरी मावि थाकलमाथ, सिरुटार मावि सिरुटार, महेन्द्र शान्ति मावि बालकोट, राधाकृष्ण मावि छालिङ, बालमिकेश्वर आवि चरेली, शुशीला भैरव आवि कटुञ्जे गरी १९ विद्यालयको पुनर्निर्माण भएको जानकारी दिएको छ ।


आर्थिक वर्ष ०७३/७४ भित्र पुनर्निर्माण सुरु गरी अघिल्लो वर्ष नै सक्नुपर्ने विद्यालयसमेत पूरा नभएको डीएलपीआईयूले जनाएको छ । विद्यालय पुनर्निर्माणका लागि सरकारी मापदण्डअनुरूप जग्गाको समस्या र नगरपालिकाले नक्सापासमा ढिलाइ गरिदिँदा पुनर्निर्माण प्रभावित भएको श्रेष्ठले बताए ।


जसमध्ये, तौथली आधारभूत विद्यालय नगरकोट गैरीगाउँ र देउजा गाउँ आधारभूत विद्यालय चित्तपोलको भने आन्तरिक समस्याको कारण पुनर्निर्माणको थालनी हुन नसकेको डीएलपीआईयू प्रमुख श्रेष्ठ बताउँछन् । डीएलपीआईयू भक्तपुरका अनुसार १५ विद्यालय निमार्णाधीन चरणमा छन् भने १४ विद्यायलयको पुनर्निर्माण कार्य प्रारम्भ भएको छ ।

प्रकाशित : भाद्र ३०, २०७६ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?