कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इन्द्रजात्रा सञ्चालन  कार्यविधि बन्ने

काठमाडौँ — काठमाडौं महानगरपालिकाले इन्द्रजात्राको सञ्चालनसम्बन्धी कार्यविधि बनाउने भएको छ । सरकारले इन्द्रजात्रा सञ्चालनका लागि ‘इन्द्रजात्रा पर्व संरक्षण अक्षयकोष’ स्थापना गरेको घोषणासँगै महानगरले कार्यविधि बनाउने भएको हो ।

इन्द्रजात्रा सञ्चालन  कार्यविधि बन्ने

अक्षयकोष सञ्चालनका लागि महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा समिति गठन गरिएको छ । कोष सञ्चालक समितिको अध्यक्षमा मेयर शाक्य, सदस्यमा पर्यटन मन्त्रालयका प्रतिनिधि, प्रदेश तीन सरकारका प्रतिनिधि, गुठी संस्थानका प्रतिनिधि, हनुमान ढोका दरबार हेरचाह अड्डाका प्रमुख, इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष र महानगरपालिका सम्पदा तथा पर्यटन विभागका प्रमुख सदस्यसचिव रहने छन् ।


सरकारले ५ करोड रुपैयाँको कोष स्थापना गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले घोषणा गरेका हुन् । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा भट्टराईले कोषमा नेपाल सरकारले १ करोड ५० लाख, प्रदेश सरकारले १ करोड, काठमाडौं महागरपालिकाले २ करोड र गुठी संस्थानले ५० लाख रूपैयाँ जम्मा गर्ने जनाकारी दिए ।


नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले भदौ २० को ‘इन्द्रजात्रा पर्व संरक्षण अक्षयकोष’ को स्थापना गर्ने निर्णय गरेको थियो । काठमाडौं महानगरपालिकाको पहल, मन्त्रालयको प्रयास र प्रधानमन्त्रीको विषेश चासो भएकाले नै कोष स्थापना सम्भव भएको उनको भनाइ छ । ‘वर्तमान सरकार उपत्यकाको संस्कृति, सम्पदा र परम्पराप्रति सचेत छ,’ मन्त्री भट्टराईले भने, ‘यो प्रारम्भिक प्रयास हो, आवश्यक परेमा रकम थप गर्न तयार छौं ।’


कोष स्थापनाका लागि राष्ट्रपति विद्या भण्डारीेको पनि विशेष चासो रहेको मेयर शाक्यले बताए । ‘अब जात्रा–पर्वका लागि खर्च जुटाउँदै हिँड्ने परम्पराको अन्त्य हुने छ,’ मेयर शाक्यले भने, ‘उपत्यकाका संस्कृति, परम्परा र सम्पदाको महत्त्वलाई अझ बलियो बनाउन मेरो प्रयार निरन्तर रहने छ ।’


जात्राका लागि अक्षयकोष स्थापना गर्ने सरकारको निर्णयको स्थानीय जनप्रतिनिधिले स्वागत गरेका छन् । काठमाडौं ७ का रामवीर मानन्धर, ८ का जीवनराम श्रेष्ठ र ९ का कृष्णगोपाल श्रेष्ठले संयुक्त वक्तव्य जारी गर्दै सरकारको निर्णय स्वागतयोग्य भएको उल्लेख गरेका हुन् ।

प्रकाशित : भाद्र २७, २०७६ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?