कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इन्द्रजात्रामा विदेशी मेयरहरू सहभागी हुने

काठमाडौँ — यसपालिको इन्द्रजात्रामा अन्तर्राष्ट्रिय नगरका प्रमुख सहभागी हुने भएका छन् । महानगर प्रमुख विद्यासुन्दर शाक्यले विदेशी नगरका प्रमुख र प्रतिनिधि बिहीबार काठमाडौं आउन लागेको जानकारी दिए ।

इन्द्रजात्रामा विदेशी मेयरहरू सहभागी हुने

शाक्यका अनुसार विदेशी नगर प्रमुखको इन्द्रजात्रामा सहभागी हुन लागेको यो पहिलो हो । पर्यटन वर्षको पूर्वसन्ध्यामा आउन लागेका यी पाहुनाबाट अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारसमेत हुने मेयर शाक्यले बताए ।

‘काठमाडौंको जीवन्त एवं अमूर्त सम्पदा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार हुन्छ,’ इन्द्रजात्राबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा मेयर शाक्यले भने, ‘यस वर्षको इन्द्रजात्रा सञ्चालन तथा व्यवस्थापनले पर्यटन वर्षको प्रचार हुन्छ ।’ उनीहरूले ५ रात यहाँ बिताउने छन् । उनीहरूलाई यहाँ खाने, बस्ने, भ्रमण गर्नेलगायत व्यवस्था महानगरले गर्ने छ । ‘आउने जाने खर्चचाहिँ उहाँहरूले नै व्यहोर्नुहुने छ,’ मेयर शाक्यले भने, ‘यहाँको व्यवस्था मात्र हामीले गर्ने हो ।’

पाहुनलाई भक्तपुर, ललितपुर, चन्द्रागिरिलगायत भ्रमण गराउने योजना रहेको शाक्यले जानकारी दिए । ‘काठमाडौं उपत्यकाको पर्यटन प्रवर्द्धनमा लाभ पुग्छ भनेर उपत्यकाका विभिन्न ठाउँमा घुमाउने योजना बनाएका हौं,’ शाक्यले भने, ‘उहाँहरूलाई गरिने खर्च महानगरको लगानी हो । यो लगानी पर्यटन प्रवर्द्धनका लागि हो । यो लगानीको लाभ उपत्यकावासीले पाउने छन् ।’

इन्द्रजात्राको अवलोकन गर्न महानगरको भगिनी सम्बन्ध भएका ६ देशका १३ नगरबाट ५ जना मेयरसहित ४८ जना पाहुना आउने निश्चित भएको छ । गएको ७ महिनादेखि इन्द्रजात्रा अवलोकनका लागि भगिनी सम्बन्ध भएका नगर प्रमुखलाई निमन्त्रणा पठाउन थालिएको थियो ।

यसै निमन्त्रणाका आधारमा अहिलेसम्म चीनको ल्हासाका मेयर गुहेओ गुहेओ, बंगलादेशको ढाका साउथ सिटी कर्पोरेसनका मेयर मोहम्मद सहिद खोकन, भुटानको थिम्पु नगरका मेयर किन्ले दोर्जे, भारत इष्ट दिल्ली म्युनिसिपल कर्पोरेसनका मेयर अञ्जु कमलकान्त र नर्थ दिल्ली म्युनिसिपलबाट मेयर सरदार अभतार सिंहको नेतृत्वमा जात्रा अवलोकन टोली आउने पत्र प्राप्त भएको छ ।

त्यस्तै चीनबाट सियान, छेन्दु, सेन्जेन, नान्जिन र लान्चाउ नगर, जापानको मात्सुमोतो नगर, संयुक्त राज्य अमेरिकाका फेडेरिकबर्ग र बोल्डर नगरबाट उच्च अधिकारीको नेतृत्वमा जात्रा अवलोकन टोली आउने भएको छ । यसरी आउने पाहुनाको संख्या ४८ जना हुने छ ।

पाहुनलाई हनुमानढोका आसपासमा कुमारी रथयात्रा, तल्लो र माथिल्लो टोलको भ्रमणलगायतमा सहभागी गराइने महानगरको योजना छ । इन्द्रजात्रामा राष्ट्रप्रमुखले रथयात्रा अवलोकन गर्ने चलन छ । यो वर्ष पनि राष्ट्रपति विद्यादेवी भण्डारीले अवलोकन गर्ने कार्यक्रम छ ।

मंगलबार बिहान ९ बजेर १७ मिनेटको साइतमा वसन्तपुर कालभैरव अगाडि विधिपूर्वक इन्द्रजात्राको यः सिं ठड््याएपछि इन्द्रजात्रा सुरु भएको छ । यः सिं ठड्याउनुअघि नेवार समुदायभित्रका मानन्धर थरका थकालीले पूजा गरेका थिए । मंगलबार साँझ गणेश र भैरवलाई कुमारी घरमा ल्याइएको छ । त्यसपछि कुमारी, भैरव र गणेशलाई तलेजु भवानी मन्दिरको मूलद्वारमा लगेर लसकुस गरी भित्र लगेर निम्तो तलेजु भवानीलाई दिने चलन छ ।

सरकारले भदौ २३ एकादशीका दिन गणेश र भैरवलाई इन्द्रजात्रामा सहभागी हुन निम्ता दिएको थियो । भदौ २७ मा कुमारी रथ यात्रा सुरु गरिने छ ।


५ करोडको अक्षयकोष

सरकारले इन्द्रजात्रा सञ्चालनका लागि ‘इन्द्रजात्रा पर्व संरक्षण अक्षयकोष’ स्थापना गर्ने भएको छ । जात्रा व्यवस्थापमा हुने सधैंको आर्थिक समस्या टार्नका लागि कोष स्थापना हुन लागेको हो । मन्त्रिपरिषद्को गत आइतबारको बैठकले ५ करोड रुपैयाँको कोष स्थापना गर्ने निर्णय गरेको हो ।

२०६५ सालमा तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईले इन्द्र जात्राको खर्च कटौती गरेपछि सरोकारवाला सडकमा उत्रिएका थिए । त्यही बेला सरकारले यसबारे अध्ययन गर्न समिति बनाएको थियो । तत्कालीन राष्ट्रपति रामवरण यादवलगायतलाई ५ करोडको अक्षयकोष स्थापना गर्न ध्यानाकर्षण गराएका थिए ।

कोषमा संघीय, प्रदेश र स्थानीय सरकार तथा गुठी संस्थानले रकम जम्मा गर्ने छन् । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यका अनुसार संघीय सरकारबाट संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले १ करोड ५० लाख, प्रदेश सरकारले १ करोड, काठमाडौं महानगरपालिकाले २ करोड र गुठी संस्थानले ५० लाख रुपैयाँ गरी कोष हुने छ । ‘यसैको ब्याजले इन्द्रजात्रा मनाइने छ,’ उनले भने ।

प्रकाशित : भाद्र २६, २०७६ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?