कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुल बन्यो, सडक उस्तै

काठमाडौँ — चाँगुनारायण नगरपालिका–४ मिलाख्वाटकी लक्ष्मी भँडेलको परिवारसँग ३ मोटरसाइकल, २ वटा सामान बोक्ने गाडी छन् । आजसम्म सवारीसाधन घरसम्म ल्याउन भने सकेका छैनन् । लक्ष्मीको घरको २ सय मिटर दूरीमा साढे ५२ मिटर लामो मनोहरा पुल बनेको छ । रंगरोगन गरेर चिटिक्क बनाएको पुल जोड्ने सडकको अवस्था नाजुक छ । 

साघुँरो धराप सडकका कारण सवारीसाधन ब्रम्हखेल दूरसञ्चारतिरै छोडेर हिँड्दै घर आउनुपर्ने बाध्यता रहेको उनी बताउँछिन् । भक्तपुर र काठमाडौं जोड्ने मनोहरा खोलामा १० मिटर फराकिलो सडक बने पनि आवतजावतमा समस्या भएको स्थानीय बासिन्दाको गुनासो छ । ‘चिटिक्क पुलको दायाँबाँयाको सडक हिलाम्य छ,’ उनले भनिन्, ‘सवारीसाधन त के मान्छे हिँड्न सक्ने अवस्था छैन ।’


आर्थिक वर्ष ०६९/७० मा डिभिजन सडक कार्यालय भक्तपुरले निर्माण थालेको मनोहरा पुल ७ वर्षपछि निर्माण सम्पन्न भएको हो । सडक निर्माण नहुँदा करिब ४ करोड रुपैयाँ खर्चेर बनाएको पुलको औचित्य नभएको स्थानीय बताउँछन् । सडक नबन्दा चाँगुनारायण हलछाप, मिलाख्वाट, कापाहिटी, ब्रम्हखेललगायतका बासिन्दाले समस्या भोग्दै आएका छन् ।


कागेश्वरी मनोहरा–४ ब्रम्हखेलदेखि दूरसञ्चारसम्मको करिब ७ सय ५० मिटर सडक साँघुरो र हिलाम्य छ । ‘चाँगुनारायण मन्दिर पश्चिम भेगका अधिकांश मानिसको औषधोपचार काठमाडौंमा गरिन्छ,’ ब्रम्हखेलका श्यामबहादुर पण्डित क्षेत्रीले भने, ‘सडक निर्माणको अत्तोपत्तो छैन ।’


कागेश्वरी मनोहरा–४ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता राजाराम पुडासैनीका अनुसार सडक निर्माणअघि सार्वजनिक खहरे संरक्षण गर्नुपर्ने भएकाले खहरेमा करिब २५ लाख रुपैयाँ लागतमा ढलानको रिटेनिङ्वाल लगाउने कार्य भइरहेको छ । मनोहरा पुल–ब्रम्हखेल–दूरसञ्चार सडक निर्माण तथा स्तरोन्नतिका लागि नगरपालिकाले योजना सडकअन्तर्गत इस्टमेटअनुसारको बजेट खर्च गर्ने योजना बनाएको र चालू अर्थिक वर्षभित्र सडक निर्माण सम्पन्न हुने बताए ।


मनोहरा पुल जोडिएको मिलाख्वाट–हलछाप–कापाहिटी–शाङ्दह–चाँगुनारायण सडकको ट्र्याकको अवस्था पनि त्यस्तै छ । ठाउँठाउँको भिरालो सडक भेलले बगाएर आवतजावतमा समस्या छ । उक्त सडकको स्तरोन्नतिका लागि १ करोड रुपैयाँ विनियोजन गरेको चाँगुनारायण–४ का वडा सदस्य दिनेश खनालले बताए ।

प्रकाशित : भाद्र २६, २०७६ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?