कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लिच्छविकालीन अनन्तलिङ्गेश्वरको पुनर्निर्माण सकियो

भक्तपुर — भूकम्पका कारण क्षतिग्रस्त लिच्छविकालीन अनन्तलिङ्गेश्वर महादेव मन्दिर पुनर्निर्माण सकिएको छ । सातौं शताब्दीमा नरेन्द्रदेवले प्यागोडा शैलीमा बनाएको लिच्छविकालीन मन्दिर पुरानै शैलीमा पुनर्निर्माण गरिएको हो । 

लिच्छविकालन प्यागोडा शैलीको मन्दिर १९९० सालको भूकम्पले क्षतिग्रस्त भएपछि पुनर्निर्माण गर्दा गुम्बज शैलीमा बनाइएको थियो । सोही गुम्बज शैलीको मन्दिर पनि ०७२ वैशाखको भूकम्पले क्षतिग्रस्त भएको थियो ।


क्षतिग्रस्त मन्दिरलाई १९९० सालअघिकै शैलीमा पुनर्निर्माण गरिएको मन्दिर संरक्षण तथा विकास समिति अध्यक्ष शालिकराम न्यौपानेले बताए । इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठको ‘अनन्तलिङ्गेश्वर’ पुस्तकमा १९९० सालको भूकम्प अघि अनन्तलिङ्गेश्वर मन्दिर नेपाली शैलीमा बनेको तीनतले थियो ।


स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय (पुरातत्त्व विभाग) भक्तपुरका अनुसार यो पल्ट १ करोड ६३ लाख २९ हजार ६ सय ८८ लागतमा मान्दिर पुननिर्माण गरिएको हो । करिब दुई वर्ष खर्चेर बनाइएको अनन्तलिङ्गेश्वर महादेव मन्दिरको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य महेश बस्नेत र पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले संयुक्त रूपमा उद्घाटन गरे ।


उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विकास निर्माणको नाममा पुरातात्त्विक संरचनाको विनाश हुन नहुने बताए । पूर्व पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलले लिच्छविकालीन मन्दिर र मन्दिरवरपर निर्माण गर्न लागिएको गुरुयोजना सम्पन्न गर्न समन्वय, ऐक्यबद्धता आवश्यक भएको बताए ।


अर्का पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य महेश बस्नेतले भक्तपुरका धेरै क्षेत्रहरू विश्व सम्पदामा सूचीकृत भएका र यहाँका महत्त्वपूर्ण धार्मिक स्थल भएकाले भक्तपुरलाई धार्मिक पर्यटकीय क्षेत्र घोषणा गरी विकास गर्नुपर्ने बताए ।

प्रकाशित : भाद्र २६, २०७६ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?