मल्लकालीन नमुना गाउँ : बाटो नबढाउन सर्वोच्चको आदेश

दामोदर न्यौपाने

काठमाडौँ — भक्तपुरको आटेमा निर्माणाधीन प्राचीन वास्तुकला झल्कने नमुना गाउँको बीचबाट बाटो विस्तार नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सम्पदाविद् रवीन्द्र पुरीले बनेपा नगरपालिकालगायतलाई विपक्षी बनाई दिएको मुद्दाको सुनुवाइ गर्दै सर्वोच्च अदालतले उक्त आदेश दिएको हो ।

सर्वोच्चका न्यायाधीश सुष्मलता माथेमाको एकल इजलासले ‘आदेश जारी हुनु नपर्ने’ मनासिब कारण भए सोसमेत खुलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षीलाई भनेको छ । जग्गाधनी पुर्जा भएको जग्गामा बाटो विस्तार गर्न लागेको भन्दै पुरीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

सूर्यविनायक र बनेपा नगरापालिकाको सीमास्थित मनोरम सरस्वती डाँडामा नेपालीको प्राचीन मल्लकालीन वास्तुकला झल्कने गाउँ बसाउन सुरु भएको छ । बनेपा नगरपालिकाको आफ्नै निर्णय र सडक विभागको समेत निर्णयविपरीत बनेपा नगरपालिका र ढुंगाखानीको मिलेमतोमा सडक बढाउन थालेपछि नेपालकै नमुना मानिएको यो गाउँ संकटमा परेको हो ।

सडक विभागले दुई वर्षअघि ७ मिटरको सडक बढाएर १० मिटर बनाउन सूचना जारी गरेको थियो तर त्यहाँको भौगोलिक अवस्थाका कारणले सडक बढाउन नसक्ने टिप्पणी प्राविधिकले गरेपछि विभागले सडक ५ मिटर नै कायम गर्ने निर्णय गरेको थियो । सडक विभागले ५ मिटर बनाउने निर्णय गरे पनि अहिले यो ७ मिटर छ ।

सडक डिभिजन कार्यालय भक्तपुरले ०७४ जेठमा सडकको प्रारम्भिक वातावरणीय परीक्षण गर्न सार्वजनिक सूचनाआह्वान गरेको थियो । सडकले आह्वान गरेको सूचनामा यहाँका भौतिक, जैविक, रासायनिक, सांस्कृतिक र आर्थिक तथा सामाजिक प्रणाली, यिनका अवयवको अन्तरक्रिया तथा अन्तर सम्बन्धमा के कस्तो प्रभाव पर्छ भनेर अध्ययन गर्न यो सूचना आह्वान गरेको थियो । वातावरणीय परीक्षण प्रतिवेदनले पनि सडकको चौडाइ साढे ५ मिटर रहेको उल्लेख छ ।

साँगा हुँदै भक्तपुर डोलेश्वर निस्कने यो सडक दुई खण्डमा छ । पहिलो खण्ड साँगा आशापुरीको लम्बाइ साढे ५ किलोमिटर छ । त्यहाँबाट डोलेश्वरसम्म साढे १ किलोमिटर छ । यो सडकमा नियमित रुटका गाडी चल्दैनन् । अवैध रूपमा सञ्चालन भएको खानीका टिपर गुडाउने प्रयोजनका लागि नमुना बस्ती मासिने गरी बनेपा नगरपालिकाले सडक विस्तार गर्न लागेको हो ।

नमुना गाउँको छेउमा भौगोलिक कारणले सडक चौंडा बनाउन नमिल्ने सुझाव सडक विभागलाई दिएको पुरीले जनाए । बस्तीको बीच र सिरानबाट बाटो पर्छ । बाटो विस्तार गरेर सडक चौडा गर्दा बनिसकेका घर सबै भत्काउनुपर्ने हुन्छ । चार वर्षमा सक्ने योजनासहित घर बनिरहेका छन् । अहिले तीन वटा घर बनिसकेका छन् । घरको कम्माउन्डसँगै सडक जोडिएको छ । घरको दक्षिणतिरको सडक भिरालो ठाउँमा छ ।

सडक विभागलाई प्राविधिक रूपमा सडक विस्तार गर्न सम्भव छैन भनेर प्रतिवेदन दिएपछि बनेपा नगरपालिकाको १४ वडा कार्यालयको बैठक बस्यो । ०७४ साउन १२ मा वडा अध्यक्ष गौरी राउतको अध्यक्षतामा बसेको बैठकले बाटो ७ मिटरै कायम गर्ने निर्णय गरेको थियो । त्यस दिन बसेको बैठकले विभिन्न २७ सडकको मापदण्ड तोकेको थियो ।

त्यसमध्ये २३ नम्बरमा यही खाल्चोक भन्ज्याङ, बाबियो डाँडा हुँदै आशापुरी जाने सडकलाई राखेको थियो । त्यही बैठकले यसको चौडाइ ७ मिटर कायम गरेको थियो । साँगा हुँदै भक्तपुरको डोलेश्वर निस्कने अर्को वैकल्पिक बाटो पनि छ । गणेशस्थानबाट कांक्रेबारी हुँदै आशापुरी पुग्ने बाटो यसको विकल्प हो । त्यो बाटो विस्तार गर्ने सम्भावना हुँदाहुँदै त्यता ध्यान दिइएको छैन । यो बाटालाई वडा कार्यालयले २६ नम्बरमा राखेर मापदण्ड तोकेको छ । यसको चौडाइ पनि ७ मिटर नै छ ।

यो विकल्प प्रयोग नगरी नगरपालिकाले तीन पटक सूचना जारी गरिसकेको छ । ०७६ असार १९ मा नगरपालिकाले सार्वजनिक सूचना जारी गरेर यही नमुना बस्तीको गेटमा सूचना टाँसेको थियो । बोर्ड बैठक बसेको भोलिपल्टै सात दिनभित्रमा सडक विस्तार गर्ने भन्दै सूचना सार्वजनिक गरेको थियो ।

पहिलो सूचनामा संरचना भएको ठाउँ यथास्थितिमै राखेर विस्तार गर्ने जनाएको थियो । फेरि दोस्रो सूचना जारी गर्‍यो साउन २९ मा । दोस्रो सूचनामा सडक फराकिलो पार्ने उद्देश्यले रेखांकनभित्र पर्ने पर्खाल तथा अस्थायी संरचना १५ दिनभित्र हटाउन वा भत्काउन अनुरोध गर्‍यो । वडा बोर्ड बैठकमा ७ मिटर कायम गर्ने निर्णय गर्ने उनै वडा अध्यक्ष राउतले पर्खाल भत्काउन अनुरोध गर्दै सूचना जारी गरेका थिए । उनका नाममा टाँसिएको सूचनामा हस्ताक्षर भने गरिएको छैन ।

५४ रोपनी क्षेत्रफल ओगटेको नमुना गाउँको मुख्य आकर्षण भनेकै पर्खाल हो । पर्खाल बनाउन मात्रै करोडौं खर्च भएको पुरीले जानकारी दिए । यो पर्खाल भुइँचालो आउनुअघि नै बनाइएको हो । नुमुना बस्तीमा तयार भएका तीन घरमध्ये एउटा घर माटाको छ । तीन घरको नामै ढुंगे घर, इँटा घर र माटो घर नाम दिइएको छ ।

अहिले बलियो बनाउनुपर्छ भनेर गाउँ–गाउँमा सिमेन्ट प्रयोग गरिएका छन् । रड प्रयोग गरिएका छन् तर व्यवस्थित तरिकाले बनायो भने प्राचीन निर्माण सामग्री प्रयोग गरेर बनाइएका घर पनि बलिया हुन्छन् भन्ने उदाहरण हो यो बस्ती । ‘भुइँचालोले माटोको जडान भएको घरसमेत केही भएन,’ पुरी भन्छन्, ‘हाम्रा प्राचीन निर्माण सामग्री पनि बलिया छन् भन्ने उदाहरण हो यो । यहाँ बनेका तीन घरमध्ये माटाको घरै सबैको आकर्षण केन्द्र भएको पुरी बताउँछन् । घरमा प्राचीन निर्माण सामग्री चुकुल, नसलगायत प्रयोग गरिएका छन् ।

बस्तीको डिजाइन मल्लकालीन वास्तुकलाअनुसार गरिएको छ । बस्तीमा ढुंगेधारा हुनेछन् । इनार, जलद्रोणी हुनेछन् । चैत्य, गुम्बा, मन्दिरजस्ता संरचना हुनेछन् । घर साढे दुईतले छन् । घर ‘लोड बेयरिङ’ प्रणालीमा बनेका हुन् । गारो, दलिन, निदाल र चिर्पटको तला बनाइएको छ । चिर्पटमाथि तेलिया इँटा छापिएका छन् । घरका झ्याल, ढोका, दलिनमा आसल तेलको परम्परागत चहक झल्काइएको छ ।

परम्परागत घरमा आधुनिक सुविधा हुने गरी घरको डिजाइन गरिएका छन् । घरको तल्लो तलामा किचन, डाइनिङ र बैठक कोठा छन् । बीचको तलामा एट्याच बाथरुमसहितका दुई वटा बेड रुम छन् । बुइगलमा कौसी र खुला ठाउँ छ । खुला ठाउँमा पुस्तकालय बनाउन सकिने गरी डिजाइन गरिएको छ । हरेक कोठाको साइज सात फुट छन् । पिंढी, बार्दली पनि छन् ।

चार वर्षमा सक्ने योजनासहित बस्ती निर्माण सुरु भएको थियो । त्यही बेला भुइँचालो आएपछि काम रोकियो । यहाँको काम रोकेर पुनर्निर्माणका काममा अन्त लाग्नुपर्‍यो, पुरी भन्छन्, ‘अब काम सुरु गर्न लागेका थियौं तर केही समूहको स्वार्थका लागि बस्ती नै उठाइदिने षड्यन्त्र भयो । दुःख लागेको छ ।’

प्रकाशित : भाद्र २३, २०७६ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्

६ दिने शिशुको शल्यक्रिया

कान्तिपुर संवाददाता

काठमाडौँ — जन्मजात खानानली बन्द भएका ६ दिने शिशुको शल्यक्रिया भएको छ । आमाको दूध खान र थुकसमेत निल्न नसक्ने समस्या देखिएपछि बारा जिल्लाका सुस्मा र प्रकाश गुरुङका शिशुको शल्यक्रिया गरिएको हो । 

मेडिकल भाषामा यस्तो समस्यालाई ‘ट्रेकियोएसोफेजियल फिस्टुला’ भनिन्छ । धापासीस्थित ग्रान्डी अस्पतालमा शल्यचिकित्सक डा. आशिषलाल श्रेष्ठको टिमले शिशुको शल्यक्रिया गरी खानानली खुलाइदिएको हो । रक्सौलको डन्कन अस्पतालमा जन्मिएका उनलाई रिफर गरी ग्रान्डी पुर्‍याएको थियो ।

छाती चिरी शल्यक्रिया गरिएका शिशुलाई १० दिन अस्पतालमा राखेपछि अहिले उनको अवस्था सामान्य भएको र चिकित्सकको निगरानीमै राखिएको डा. श्रेष्ठले कान्तिपुरलाई बताए । उनका अनुसार शिशुलाई सास पनि राम्ररी फेर्न नसक्ने अवस्थामा ल्याइएको थियो । ‘थुक भित्र जान नसकेर मुखबाट फिँज निस्किरहन्थ्यो । नाकबाट दूध हाल्दा पनि शिशुले खान सकेन । जाँच गरिहेर्दा घाँटीमा नली बेरिएको देखियो ।’

विशेषज्ञका अनुसार नवजात शिशुको ठूला शल्यक्रिया गर्न जटिल हुन्छ । दक्ष बालशल्यचिकित्सकको टिम, अत्याधुनिक प्रविधि र बिरामी पक्षको विश्वासका कारण जटिल शल्यक्रिया गर्न सम्भव भएको डा. श्रेष्ठ बताउँछन् । उनले भने, ‘कलिला शिशुको अगंको आकार सानो र अति संवेदनशील हुन्छ । सानो छाती चिरेर शल्यक्रिया गर्दा निमोनिया हुने, श्वासप्रश्वासमा समस्या हुने र संक्रमण भएर मृत्यु हुने जोखिम पनि उत्तिकै हुन्छ ।’

चिकित्सा विज्ञानका अनुसार करिब ४ हजार जीवित नवजात शिशुमध्ये १ जनामा यस्तो समस्या देखिन्छ । दक्ष जनशक्ति र प्रविधि भएमा शल्यक्रिया गरी शिशुको ज्यान जोगाउन सकिन्छ । डा. श्रेष्ठका अनुसार यो समस्या शिशुको ज्यानै जाने खालको हो ।

भ्रूण विकासको क्रममा हुने यस्ता समस्या लिएर जन्मने शिशु आमाको दूध खान र थुक निल्नसमेत नसक्ने अवस्थामा हुन्छन् । थुक निल्न नसक्ने भएपछि उपचार नपाएमा थुक सर्केर फोक्सो पुग्छ र मृत्यु हुन सक्छ । उनका अनुसार योरोगका धेरै कारणमध्ये ४ प्रतिशत वंशाणुगत हो ।

प्रकाशित : भाद्र २३, २०७६ ०८:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्