कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जय बागेश्वरीमा भेटियो अर्को मन्दिर

दामोदर न्यौपाने

काठमाडौँ — पशुपति क्षेत्रको जयबागेश्वरी मन्दिर भत्काउँदा अर्को मन्दिर भेटिएको छ । जयबागेश्वरीको तीन तलामध्ये माथिल्लो भत्काउँदा अर्को मन्दिर भेटिएको हो । मन्दिरको बीचमा तीनवटा गजुर भेटिएका छन् । 

जय बागेश्वरीमा भेटियो अर्को मन्दिर

‘मन्दिरभित्र अर्को मन्दिर भेटियो,’ पशुपतिका भण्डारी केदारमान भण्डारी भन्छन्, ‘अब यो के गर्ने, कसरी बनाउने भनेर छलफल अघि बढेको छ ।’ मन्दिर इँटा र माटोले बनेको भेटिएको छ । बाहिरी मन्दिर पनि इँटा र माटोले नै बनेको छ । पशुपति क्षेत्र विकास कोषले माटोको यो मौलिकता मासेर चुना सुर्की प्रयोग गरेर बनाउन लागेको छ ।


मन्दिर बनाउने जिम्मा पाएको तुलसी कन्ट्रक्सनसँगले नै मन्दिर भत्काउन सुरु गरेको थियो । ३ करोड १४ लाख रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ । बीचमा मन्दिर भेटिएपछि यसबारे थप अनुसन्धान गर्नुपर्ने माग उठेको छ । सतिप्रथा हुँदा यहाँ गहना चढाएर सति जाने चलन थियो । त्यही भएर यहाँभित्र गहनासमेत हुन सक्ने भण्डारीको अनुमान छ । ‘जयबागेश्वरी धनी मन्दिर भनेर समेत चिनिन्छ,’ भण्डारी भन्छन्, ‘यहाँ ढुकुटी पनि हुन सक्छ । यसलाई अनुसन्धान गरेर मात्र नयाँ मन्दिर बनाउनुपर्छ ।’


लिच्छविकालीन मानिन्छ जयबागेश्वरी । यसको पादपीठमा लिच्छविकालीन भएको प्रमाण फेला परेको छ । माथिल्लो भागमा भने हरेक १२ वर्षमा कलेबर फेर्ने चलन छ । यो बेला मूर्तिदेखि मन्दिरका बाहिर भाग रंगरोगन गर्न, बुट्टा फेर्नेलगायतका काम गरिन्छ । पशुपति क्षेत्रको भण्डारखाल छेउकै नवाली टोलमा पर्छ जयबागेश्वरी ।


पशुपति क्षेत्रका ९ वटा टोलमध्ये एउटा हो नवाली । पशुपति क्षेत्र ९ वटा ग्रह संयोजन मिलेर बनेको छ । पशुपति क्षेत्र ९ ढोका, ९ डबली, ९ इनार, ९ धारा, ९ शक्तिपीठ, ९ चोक, ९ चउर र ९ जात, ९ टोल मिलेर बनेको छ पाशुपात क्षेत्र । यसलाई ९ गुणा ९ (८१) ग्रहको संयोजन भनिन्छ ।


नेपालको पहिलो वंश गोपाल वंशको राजधानी यही क्षेत्रलाई मानिएको छ । देवपाल राजाले शासन गरेको हुनाले यो ठाउँलाई देवपतनसमेत भनिन्छ । यस क्षेत्रको व्यवस्थापन गर्ने काम यही ९ जातले गर्दै आएका छन् । नेवारी भाषामा देवपाटलाई ‘ग्वल’ भनिन्छ । राजभण्डारीका अनुसार ग्वलको अर्थ ९ गुणा ९ को संयोजन हो ।

राजोपाध्याय, कर्मचार्य, जोशी, राजभण्डारी, कपाली, वैद्य, डंगोल, खड्गी र देउला जाति मिलेर यो क्षेत्रको व्यवस्थापन गर्दै आएका छन् । यी जातिले यहाँ जन्मदेखि मरणसम्मका क्रियाकलाप सञ्चालन गर्दै आएका छन् देवपाटनमा । ९ ग्रहको संयोजन अहिले बिग्रेको छ । पशुपति क्षेत्र विकास कोषले यहाँको बस्ती उठाइदिएपछि ९ टोल अब रहेन । ९ टोलमध्ये ५ टोली उठाइयो । अब चार टोल मात्रै बाँकी छ । नवालीटोल, इतापाखाटोल, पाँचुटोल, भकुनटोल, करेटोल, लगानलाछीटोल, मतमडिलटोल, दथुटोलजस्ता टोल मिलेर बसेको थियो ।


यी टोलैपिच्छै बेग्लाबेग्लै जातको बसोबास थियो । राजोपाध्य, भण्डारी, वैद्य, शाक्य, श्रेष्ठ, डंगोल, मानन्धर, कसाइ, नापित, संघ, गाइने, कुसुले, पोडेलगायतका जाति पशुपति क्षेत्रमा बसोबास गर्छन् । यहाँ नेवार जातिको चारै वर्णको बसोबास थियो ।

यी टोलमा अलगअलग जातिको बसोबास थियो । राजोपाध्य र वैद्यको थलो दथुटोल हो । शाक्यहरू नवालीटोलमा बस्छन् ।


डंगोलको बसोबास लगनलाछीटोलमा र भगुँटोल हो । भण्डारीको टोल दथुटोल पाँचुटोल र मतण्डिटोल हो । गाइने र कसाइ करेटोलमा, कुसुले लगानलाछीटोल र भकुनटोलमा छरिएर रहेका थिए । पोडेको बसोबास पहिला इतापाखाटोलमा थियो । पछि उनीहरूलाई यहाँबाट अन्यत्र सारिएको थियो । उनीहरूलाई विसं. १९४५ मा इतापाखाबाट गौचरनमा सारिएको थियो ।


पशुपतिका मुख्य शक्तिपीठमध्येमा पर्छ जयबागेश्वरी । मूर्त मात्रै नभई यहाँ थुप्रै अमूर्त सम्पदा पनि छन् । तीमध्ये नवदुर्गा नाच मुख्य हो । जयबागेश्वरीलाई नवदुर्गाको मितिनीका रूपमा पनि लिइन्छ । त्यही भएर भक्तपुरका देवगण नवदुर्गा नाच लिएर जयबागेश्वरी जाने गर्छन् । यहाँ साउन, मंसिर र चैतमा राँगो बलि दिइन्छ । पुस र माघमा देवीलाई आगो तपाइन्छ । असारमा त्रिशूल जात्रा देखाइन्छ । ‘पुनर्निर्माण गर्दा यी सबै अमूर्त पक्षलाई पनि ध्यान दिइनुपर्छ,’ वैद्य भन्छन्, ‘सम्पदा निर्माण भनेको भौतिक निर्माण मात्र होइन, यहाँका अमूर्त पक्षलाई पनि ध्यान दिइनुपर्छ ।’


अरू शक्तिपीठ पशुपति क्षेत्रभित्रै पर्छन् । जयबागेश्वरी अर्को शक्तिपीठ पिंगलास्थान भने चक्रपथ बनेपछि क्षेत्रबाहिर पर्‍यो । पिंगलास्थान पुलमुनि परेको छ । यहाँ सयौंले नाघेर हिँड्छन् । जयबागेश्वरीचाहिँ सडक पारितिर पर्‍यो । दिनहुँ गुड्ने गाडीले गर्दा यो थर्किराखेको हुन्छ । ‘यति प्राचीन मन्दिरको छेउबाट गाडी गुडाइएको छ । यसले गर्दा पनि यसको आयु छोट्टिँदै गयो,’ मन्दिरमा कलेबर फेर्दै आएका राजेन्द्र चित्रकार भन्छन्, ‘यो सम्पदामाथि भएको ज्यादती हो ।’


प्यागोडा शैलीको छ मन्दिर । यो चारपाटे मण्डप शैलीको छ । छाना धातुको छ । ढोका एउटा मात्रै छ । पश्चिमतिर मोहना फर्केको मन्दिर तीनतले छ । यहाँको पूजाको थालनी लिच्छविकालीन राजा शिवदेवको पालादेखि सुरु भएको मानिन्छ । भाषा वंशावलीका अनुसार मानसरोवरबाट तिला नदी तरेर आई जयबागेश्वरी भएको उल्लेख छ ।


गर्भगृहको बीचमा जयबागेश्वरी, दायाँतर्फ श्वेतभैरव र बायाँतिर गणेशका मूर्ति छन् । गणेश सुँड नभएको छ । सुँड नुहुनुको अर्थ महादेवले गणेशको टाउको काट्नुअघिकै भएको वैद्य बताउँछन् । आफ्नो बाटो अवरुद्ध भएपछि आक्रोशित भएका महादेवले गणेशको टाउको काटिदिएको र पछि पार्वतीले आफ्नो छोराको टाउको काटेकोमा रोइकराइ गरेपछि महादेवले हात्तीको टाउको जोडिदिएको हिन्दु धर्मावलम्बीहरू विश्वास गर्छन् ।


‘यहाँ केके छन् केके,’ वैद्य भन्छन्, ‘खोज्नुपर्ने धेरै छन् यहाँ । त्यही भएर यसलाई हचुवामा लिनु हुँदैन ।’ कुनै बेला सति जाने महिलाको गहना यही मन्दिरमा चढाउने गरिएका जयबागेश्वरीलाई धनी मन्दिरको रूपमा समेत लिइने गरिएको पशुपतिका भण्डारी केदारमान भण्डारी बताउँछन् । तर यहाँ चढाइएका गहनाको कुनै अभिलेख भने छैन । ‘अभिलेख राख्ने काम कोषको हो,’ भण्डारी भन्छन्, ‘तर कोष नै संवेदनशील देखिएको छैन ।’ इतिहासकार डा. गोपाल शिवाकोटीका अनुसार यसको भण्डार राजा जयप्रकाश मल्ल र नृपेन्द्र मल्लले रित्याएका हुन् ।


पाशुपात क्षेत्रका प्राचीन मन्दिरमध्येमा पर्छ यो । यसको निर्माण कलिगत सम्वत् ३२३२ देखि बनाउन सुरु गरेर ३२७३ मा सम्पन्न गरिएको देवमाला वंशावलीमा उल्लेख छ । लिच्छविकालीन राजा मन्दिर १९९० सालको भुइँचालोमा भत्किएको थियो । त्यति बेला पनि माटोबाटै बनाइएको थियो । त्यसअघि राजा प्रताप मल्लले विसं. १७०६ मा पनि यसको जीर्णोद्वार गरेका थिए । उनले नारायणस्तोत्र पनि कुदाउन लगाएका थिए ।

प्रकाशित : भाद्र २२, २०७६ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?