जय बागेश्वरीमा भेटियो अर्को मन्दिर

दामोदर न्यौपाने

काठमाडौँ — पशुपति क्षेत्रको जयबागेश्वरी मन्दिर भत्काउँदा अर्को मन्दिर भेटिएको छ । जयबागेश्वरीको तीन तलामध्ये माथिल्लो भत्काउँदा अर्को मन्दिर भेटिएको हो । मन्दिरको बीचमा तीनवटा गजुर भेटिएका छन् । 

‘मन्दिरभित्र अर्को मन्दिर भेटियो,’ पशुपतिका भण्डारी केदारमान भण्डारी भन्छन्, ‘अब यो के गर्ने, कसरी बनाउने भनेर छलफल अघि बढेको छ ।’ मन्दिर इँटा र माटोले बनेको भेटिएको छ । बाहिरी मन्दिर पनि इँटा र माटोले नै बनेको छ । पशुपति क्षेत्र विकास कोषले माटोको यो मौलिकता मासेर चुना सुर्की प्रयोग गरेर बनाउन लागेको छ ।

मन्दिर बनाउने जिम्मा पाएको तुलसी कन्ट्रक्सनसँगले नै मन्दिर भत्काउन सुरु गरेको थियो । ३ करोड १४ लाख रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ । बीचमा मन्दिर भेटिएपछि यसबारे थप अनुसन्धान गर्नुपर्ने माग उठेको छ । सतिप्रथा हुँदा यहाँ गहना चढाएर सति जाने चलन थियो । त्यही भएर यहाँभित्र गहनासमेत हुन सक्ने भण्डारीको अनुमान छ । ‘जयबागेश्वरी धनी मन्दिर भनेर समेत चिनिन्छ,’ भण्डारी भन्छन्, ‘यहाँ ढुकुटी पनि हुन सक्छ । यसलाई अनुसन्धान गरेर मात्र नयाँ मन्दिर बनाउनुपर्छ ।’

लिच्छविकालीन मानिन्छ जयबागेश्वरी । यसको पादपीठमा लिच्छविकालीन भएको प्रमाण फेला परेको छ । माथिल्लो भागमा भने हरेक १२ वर्षमा कलेबर फेर्ने चलन छ । यो बेला मूर्तिदेखि मन्दिरका बाहिर भाग रंगरोगन गर्न, बुट्टा फेर्नेलगायतका काम गरिन्छ । पशुपति क्षेत्रको भण्डारखाल छेउकै नवाली टोलमा पर्छ जयबागेश्वरी ।

पशुपति क्षेत्रका ९ वटा टोलमध्ये एउटा हो नवाली । पशुपति क्षेत्र ९ वटा ग्रह संयोजन मिलेर बनेको छ । पशुपति क्षेत्र ९ ढोका, ९ डबली, ९ इनार, ९ धारा, ९ शक्तिपीठ, ९ चोक, ९ चउर र ९ जात, ९ टोल मिलेर बनेको छ पाशुपात क्षेत्र । यसलाई ९ गुणा ९ (८१) ग्रहको संयोजन भनिन्छ ।

नेपालको पहिलो वंश गोपाल वंशको राजधानी यही क्षेत्रलाई मानिएको छ । देवपाल राजाले शासन गरेको हुनाले यो ठाउँलाई देवपतनसमेत भनिन्छ । यस क्षेत्रको व्यवस्थापन गर्ने काम यही ९ जातले गर्दै आएका छन् । नेवारी भाषामा देवपाटलाई ‘ग्वल’ भनिन्छ । राजभण्डारीका अनुसार ग्वलको अर्थ ९ गुणा ९ को संयोजन हो ।
राजोपाध्याय, कर्मचार्य, जोशी, राजभण्डारी, कपाली, वैद्य, डंगोल, खड्गी र देउला जाति मिलेर यो क्षेत्रको व्यवस्थापन गर्दै आएका छन् । यी जातिले यहाँ जन्मदेखि मरणसम्मका क्रियाकलाप सञ्चालन गर्दै आएका छन् देवपाटनमा । ९ ग्रहको संयोजन अहिले बिग्रेको छ । पशुपति क्षेत्र विकास कोषले यहाँको बस्ती उठाइदिएपछि ९ टोल अब रहेन । ९ टोलमध्ये ५ टोली उठाइयो । अब चार टोल मात्रै बाँकी छ । नवालीटोल, इतापाखाटोल, पाँचुटोल, भकुनटोल, करेटोल, लगानलाछीटोल, मतमडिलटोल, दथुटोलजस्ता टोल मिलेर बसेको थियो ।

यी टोलैपिच्छै बेग्लाबेग्लै जातको बसोबास थियो । राजोपाध्य, भण्डारी, वैद्य, शाक्य, श्रेष्ठ, डंगोल, मानन्धर, कसाइ, नापित, संघ, गाइने, कुसुले, पोडेलगायतका जाति पशुपति क्षेत्रमा बसोबास गर्छन् । यहाँ नेवार जातिको चारै वर्णको बसोबास थियो ।
यी टोलमा अलगअलग जातिको बसोबास थियो । राजोपाध्य र वैद्यको थलो दथुटोल हो । शाक्यहरू नवालीटोलमा बस्छन् ।

डंगोलको बसोबास लगनलाछीटोलमा र भगुँटोल हो । भण्डारीको टोल दथुटोल पाँचुटोल र मतण्डिटोल हो । गाइने र कसाइ करेटोलमा, कुसुले लगानलाछीटोल र भकुनटोलमा छरिएर रहेका थिए । पोडेको बसोबास पहिला इतापाखाटोलमा थियो । पछि उनीहरूलाई यहाँबाट अन्यत्र सारिएको थियो । उनीहरूलाई विसं. १९४५ मा इतापाखाबाट गौचरनमा सारिएको थियो ।

पशुपतिका मुख्य शक्तिपीठमध्येमा पर्छ जयबागेश्वरी । मूर्त मात्रै नभई यहाँ थुप्रै अमूर्त सम्पदा पनि छन् । तीमध्ये नवदुर्गा नाच मुख्य हो । जयबागेश्वरीलाई नवदुर्गाको मितिनीका रूपमा पनि लिइन्छ । त्यही भएर भक्तपुरका देवगण नवदुर्गा नाच लिएर जयबागेश्वरी जाने गर्छन् । यहाँ साउन, मंसिर र चैतमा राँगो बलि दिइन्छ । पुस र माघमा देवीलाई आगो तपाइन्छ । असारमा त्रिशूल जात्रा देखाइन्छ । ‘पुनर्निर्माण गर्दा यी सबै अमूर्त पक्षलाई पनि ध्यान दिइनुपर्छ,’ वैद्य भन्छन्, ‘सम्पदा निर्माण भनेको भौतिक निर्माण मात्र होइन, यहाँका अमूर्त पक्षलाई पनि ध्यान दिइनुपर्छ ।’

अरू शक्तिपीठ पशुपति क्षेत्रभित्रै पर्छन् । जयबागेश्वरी अर्को शक्तिपीठ पिंगलास्थान भने चक्रपथ बनेपछि क्षेत्रबाहिर पर्‍यो । पिंगलास्थान पुलमुनि परेको छ । यहाँ सयौंले नाघेर हिँड्छन् । जयबागेश्वरीचाहिँ सडक पारितिर पर्‍यो । दिनहुँ गुड्ने गाडीले गर्दा यो थर्किराखेको हुन्छ । ‘यति प्राचीन मन्दिरको छेउबाट गाडी गुडाइएको छ । यसले गर्दा पनि यसको आयु छोट्टिँदै गयो,’ मन्दिरमा कलेबर फेर्दै आएका राजेन्द्र चित्रकार भन्छन्, ‘यो सम्पदामाथि भएको ज्यादती हो ।’

प्यागोडा शैलीको छ मन्दिर । यो चारपाटे मण्डप शैलीको छ । छाना धातुको छ । ढोका एउटा मात्रै छ । पश्चिमतिर मोहना फर्केको मन्दिर तीनतले छ । यहाँको पूजाको थालनी लिच्छविकालीन राजा शिवदेवको पालादेखि सुरु भएको मानिन्छ । भाषा वंशावलीका अनुसार मानसरोवरबाट तिला नदी तरेर आई जयबागेश्वरी भएको उल्लेख छ ।

गर्भगृहको बीचमा जयबागेश्वरी, दायाँतर्फ श्वेतभैरव र बायाँतिर गणेशका मूर्ति छन् । गणेश सुँड नभएको छ । सुँड नुहुनुको अर्थ महादेवले गणेशको टाउको काट्नुअघिकै भएको वैद्य बताउँछन् । आफ्नो बाटो अवरुद्ध भएपछि आक्रोशित भएका महादेवले गणेशको टाउको काटिदिएको र पछि पार्वतीले आफ्नो छोराको टाउको काटेकोमा रोइकराइ गरेपछि महादेवले हात्तीको टाउको जोडिदिएको हिन्दु धर्मावलम्बीहरू विश्वास गर्छन् ।

‘यहाँ केके छन् केके,’ वैद्य भन्छन्, ‘खोज्नुपर्ने धेरै छन् यहाँ । त्यही भएर यसलाई हचुवामा लिनु हुँदैन ।’ कुनै बेला सति जाने महिलाको गहना यही मन्दिरमा चढाउने गरिएका जयबागेश्वरीलाई धनी मन्दिरको रूपमा समेत लिइने गरिएको पशुपतिका भण्डारी केदारमान भण्डारी बताउँछन् । तर यहाँ चढाइएका गहनाको कुनै अभिलेख भने छैन । ‘अभिलेख राख्ने काम कोषको हो,’ भण्डारी भन्छन्, ‘तर कोष नै संवेदनशील देखिएको छैन ।’ इतिहासकार डा. गोपाल शिवाकोटीका अनुसार यसको भण्डार राजा जयप्रकाश मल्ल र नृपेन्द्र मल्लले रित्याएका हुन् ।

पाशुपात क्षेत्रका प्राचीन मन्दिरमध्येमा पर्छ यो । यसको निर्माण कलिगत सम्वत् ३२३२ देखि बनाउन सुरु गरेर ३२७३ मा सम्पन्न गरिएको देवमाला वंशावलीमा उल्लेख छ । लिच्छविकालीन राजा मन्दिर १९९० सालको भुइँचालोमा भत्किएको थियो । त्यति बेला पनि माटोबाटै बनाइएको थियो । त्यसअघि राजा प्रताप मल्लले विसं. १७०६ मा पनि यसको जीर्णोद्वार गरेका थिए । उनले नारायणस्तोत्र पनि कुदाउन लगाएका थिए ।

प्रकाशित : भाद्र २२, २०७६ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्

कानुन व्यवसायी महिला सम्मेलन : संविधानप्रदत्त अधिकार कार्यान्वयन माग

प्रदीप मेन्याङ्बो

सुनसरी — कानुन व्यवसायी महिलाहरूको धरानमा सम्पन्न दुईदिने राष्ट्रिय सम्मेलनले २१ बुँदे धरान घोषणापत्र जारी गर्दै संविधानले प्रत्याभूत गरेका हक अधिकारहरूलाई वास्तविक रूपमा कार्यान्वयन गर्न माग गरेको छ । 

सम्मेलनले लैंगिक समानता, सशक्तीकरण विकास, महिलाको हक तथा समानुपातिक समावेशी सिद्धान्तको आधारमा राज्यको निकायमा सहमागिता गराउनुपर्ने र ती मौलिक हक कार्यान्वयनका लागि आवश्यक मापदण्डअनुसार ऐनकानुनलाई प्रभावकारी संयन्त्र निर्माण गर्न पनि माग गरेको छ ।

बार एसोसिएसनको २८ औं कानुन व्यवसायी महिला सम्मेलनले संविधान र देवानीसंहिता सम्बन्धमा सम्मेलनले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धिका प्रावधान पालना गर्न पनि माग गरेको छ । घोषणापत्रमा भनिएको छ, ‘पटक पटक सम्बन्धित समितिहरूले दिएका सुझाव कार्यान्वयनका लागि नागरिकतामा लैंगिक विभेदबिना महिला र पुरुषले आफ्ना सन्तानलाई वंशजको आधारमा समान रूपमा नागरिकता प्रदान गर्ने हालै संसद्मा दर्ता भएको नागरिकतासम्बन्धी विधेयकमा गर्न र सोहीअनुसार नियमावलीमा समेत संशोधन गर्न सम्मेलनले माग गर्छ ।’ संविधानको धारा ११ (६) मा भएको प्रावधान संशोधन गरी नागरिकतामा दम्पतीको समान हक सुनिश्चित गर्न पनि सम्मेलनले माग गरेको छ ।

नेपाल बार एसोसिएसन केन्द्रीय कार्यालयद्वारा आयोजित सुनसरी बार एकाइ र धरान कानुन व्यवसायीको स्थानीय व्यवस्थापनमा सम्पन्न सम्मेलनमा महिला कानुन व्यवसायीहरूले बलात्कारलगायतका महिला तथा बालबालिका विरुद्धका जघन्य अपराधका घटनाको संख्या दिनदिनै वृद्धि भएकाले ती घटनाको निष्पक्ष स्वतन्त्र र प्रभावकारी अनुसन्धान गरी पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक कानुन र संयन्त्र निर्माण गर्न माग गरेका छन् ।

दुई दर्जनभन्दा बढी कार्यपत्रमाथि व्यापक प्यानल छलफलपछि जारी धरान घोषणापत्रमा भनिएको छ, ‘न्यायिक समितिको क्षेत्राधिकार अझै अन्योलमा रहेको हुँदा न्यायिक समितिको क्षमता वृद्धि गर्न कानुनी तालिम, स्थानीय बारसँग अनिवार्य समन्वय सहकार्य गर्न र बार मार्फत जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गर्छ । साथै, न्यायिक समितिको विज्ञ समूह तथा कानुनी सल्लाहकार नियुक्तिमा स्थानीय बारको सहयोगमा कानुन व्यवसायी महिलाको अनिवार्य नियुक्ति तथा मनोनयन गर्न पनि सरकारसँग माग गर्छ ।’

सम्मेलनले न्यायमा पहुँच र पेसागत हकहितको सन्दर्भमा संघीय, प्रादेशिक र स्थानीय सरकारको संरचनाअनुरूप निःशुल्क कानुनी सेवा दिन नीति निर्माण गर्नुपर्ने, तीन तहका सरकारका बीच समन्वय र सहकार्य स्थापनाका लागि आवश्यक संयन्त्र निर्माण गर्न पनि माग गरेको छ । घोषणपत्र तयार भएपछि अधिवक्ता लक्ष्मी पोखरेलले सम्मेलनमा पढेर सुनाइएको थियो, ‘संवैधानिक निकाय तथा विभिन्न आयोगहरूमा महिलाको समावेशी र समानुपातिक सहभागितासम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि नेपाल बारले विशेष पहल गर्न यो सम्मेलन माग गर्छ ।’

कानुन व्यवसायी महिलाको उक्त सम्मेलनले नवोदित कानुन व्यवसायी महिलाको सीप, दक्षता र क्षमता वृद्धिका साथै सुदृढीकरणका लागि अग्रज कानुन व्यवसायीको ल फर्ममा सहज पहुँचको व्यवस्था गर्न बार एसोसिएसनसँग माग गरेको छ । घोषणपत्र जारीपछि नेपाल बारकी उपाध्यक्षसमेत रहेकी महिला समिति अध्यक्ष रक्षा बस्यालले भनिन्, ‘संविधानले महिला र पुरुष समान मानेको छ । तर, व्यवहारमा त्यो देखिँदैन । कानुन बनाउने विषयमा पनि विभेद छ । संविधानभित्रै बाझिएका छन् ।’

मौलिक हकको धारा १८ मा समानताको हक र धारा ३८ मा महिलाको हक भए पनि नागरिकताको हकमा बुहारी ल्याउने छोरा र ज्वाइँसँग जाने छोरीबीच नै विभेद भएको उनले बताइन् । ‘समानताका लागि संविधान र कानुन त छ तर व्यवहारमा लागू नभएकाले महिलाले अझै संघर्ष गर्न बाँकी छ,’ उनले भनिन् । महिलाविरुद्धको हिंसालाई कानुनले पनि यथोचित सम्बोधन गर्न नसकेको उनले बताइन् ।

महिलालाई ३३ प्रतिशत भने पनि नीति निर्माणमा नेतृत्व गर्ने, प्रत्यक्षमा लड्ने भनेर अझै पनि स्वीकार गरेको नपाइएकाले सम्मेलनले व्यापक बहस र छलफल गरी धरान घोषणा जारी गरेको उनको भनाइ छ । महिलाको सम्मेलनमा पहिलो पटक पुरुष कानुन व्यवसायीलाई पनि बराबर सहभागिता गराइएको उनले बताइन् ।

सम्मेलनमा ५ सय महिला र सोही संख्यामा पुरुष कानुन व्यवसायी सहभागी थिए । मानव अधिकार र लैंगिक न्यायका लागि समानता, अविभेद र सशक्तीकरण नाराका साथ शनिबार चुम्लुङ हिममा सम्पन्न दुईदिने सम्मेलनको उद्घाटन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले गरेका थिए । महिलाविरुद्ध लैिंगक विभेद भएको कारण समाज र परिवारमा शृंखलाबद्ध लैंगिक हिंसा बढेको उनले बताएका थिए ।

सम्मेलनले महिला कानुन व्यवसायीको वृत्ति विकास हुने, हालका कानुनमा भएका कमीकमजोरी र त्रुटि सच्याउने र कानुन बनाउँदा सुझाव राय बन्ने अपेक्षा गरिएको छ । मानव अधिकार र लैंगिक हिंसासँग जोडिएको सम्मेलनमा नेपाल बार एसोसिएसनले संवैधानिक सर्वोच्चता विधिको शासन, मानवअधिकार र सक्षम न्यायपालिका, प्रेस स्वतन्त्रता व्यावसायिक हकहित संरक्षण र प्रवर्द्धनसँगै जोडेर महिलामा हुने लैंगिक हिंसा, समानता, अविभेद र सशक्तीकरणलाई सम्मेलनले आफ्नो मुख्य एजेन्डा बनाएको थियो ।

प्रकाशित : भाद्र २२, २०७६ ०७:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्