कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुँला पर्वमा पोखिं ताल

काठमाडौँ — गुँला पर्व महिनाभर स्वयम्भूलगायत मन्दिरमा पुगेर विभिन्न तालमा दाफा (भजन) गाउने बारे प्रायलाई थाहा होला । ललितपुरको ठेचोमा गाउने दाफा भजन अर्न्तगत कै ‘पोखिं’ तालका बारेमा भने कमैलाई मात्र जानकारी होला भन्दा फरक नपर्ला ।

यो ताल प्रत्येक वर्ष एक पटक मात्र बजाइन्छ । त्यो पनि बाबुको मुख हेर्ने भाद्रकृष्ण औंसीको राती ।


विशेष किसिमको यो ताल बजाएपछि सम्मानस्वरूप नृत्य नाथ गुरु स्वंयम उपस्थित भई नृत्य गर्न बाध्य हुने नेवार समुदायमा विश्वास छ ।


शुक्रबार औसीको राती गोदावरी नगरपालिका–१२ स्थित न्हेछेँ दाफा खलक मिलेर यो ताल बजाए । खलःका कजी (व्यवस्थापक) ५९ वर्षीय जीतगोविन्द्र महर्जन भन्छन्, ‘पोखिं विभिन्न तालमध्ये प्रमुख हो । यसमा नाथ गुरुको आहवान गरिन्छ । नेपाल भाषामा ‘द्यः

ह्याकीगु’ भनी बाजामार्फत देवता साधना गरिन्छ ।’


उनका अनुसार ताल बजाउन सुरु गरिसकेपछि देवता आउने विश्वासले बाजा खलकहरू कुराकानी हिंडडुल गर्न मिल्दैन । ‘ताल बजाउँदै जाने क्रममा ब्रम्हायणी देवीको शिरमा सजाइएको फूल भुईँमा झरेपछि देवता आएको विश्वास गरिन्छ,’ उनले भने, ‘पुर्खाले बजाउँदै आएको चार शताब्दी बित्यो । अहिलेसम्म प्रत्येक वर्ष फूल खस्दै आएको छ ।’


यो ताल बजाइसकेपछि रातभरि जाग्रम बसेर अष्टमात्रिका, नवदुर्गा गरेर ३३ कोटी देवताका परम्परागत गीत गाउने प्रचलन छ । खलक मिलेर शुक्रबार करिब ९ बजेबाट गाउन सुरु गरेको गीत शनिबार बिहान मात्र समापन भयो । दाफा ठेचो तल्लो लाछी टोलस्थित ब्रम्हायणी मन्दिर गाउने गरिन्थ्यो । मन्दिर समयमा पुनर्निर्माण सम्पन्न नभएकाले नजिकैको सत्तलमा बसेर गाएका थिए । बाजामा खिं, ताः, झ्याली, धाः, भुस्यालगायत छन् । तालमा चो, जती, प्र, ग्रह, पलिमालगायत छन् ।


प्रत्येक तालमा महिनाअनुसार गीत र लय फरक फरक हुन्छन् । दसैमा दुर्गा भवानी, जनैपूर्णिमा गोसाइकुण्डको शिलु तीर्थ, इन्द्रजात्रामा इन्द्र, असारमा रोपाइको गीत गाइन्छ । यी बाहेक स्वयम्भु, बौद्ध, पशुपति, भैरव, बज्रबाराहीलगायतका गीत छन् । न्हेछेँ दाफा खलःका गुरु ६६ वर्षीय दशलाल महर्जन भन्छन्, ‘दाफा हिन्दु र बौद्ध दर्शन अनुसार अत्यन्त महत्वपूर्ण भजन हो । दाफाको ग्रन्थ राख्ने झोला र गाथा छालाको छ ।


भित्री पृष्ठमा नेपाली कागज जस्तो छ । ग्रन्थमा मिति उल्लेख छैन । गीतको बोलका आधारमा ४ सय वर्ष पुरानो भन्न सकिन्छ ।’ उनका अनुसार ‘पोखिं’ बजाउनु बाजा मार्फत देवता साधना गर्नु हो । ‘यो ताल बजाउन सकेपछि ब्रम्हायणी देवीको विधिवत पुजा गरिन्छ । ‘खलःमा ५३ परिवार आवद्ध छन् । एक पटक दाफा गाउदा कम्तीमा १५ देखि ३० मिनेट लाग्छ । र २५ जना गुठीयार चाहिन्छ ।’


दाफाका अर्का गुरुमा ८६ वर्षीय हरिगोविन्द महर्जन छन् । बाजा नियमति चलाउन चित्या (भान्छे) ७७ वर्षीय श्रीराम महर्जन, व्यवस्थपनमा ४९ वर्षीय जगतबहादुर महर्जन र लेखापालमा ५५ वर्षीय बेखाराम महर्जन सक्रिय छन् । नेवारहरू बाह्रै महिना सांस्कृतिक चाडपर्व मनाउँछन् । ऋतु अनुसार मनाइने विभिन्न पर्वमध्ये साउन शुल्क प्रतिपदादेखि भाद्र शुल्क पतिपदा एक महिनासम्म मनाइने गुँला शनिबार सकिएको छ ।


अन्तिम दिन उपत्यकाबासी स्वयम्भुस्थित गो श्रृंग पर्वतमा पुगेर प्रथना पूजा गरेर खुसी मनाएका छन् । त्यहाँ बुद्धको स्तोत्र पाठ र बाजा बजाउनेको भीड लागेको थियो । प्रा. सुर्वण शाक्य भन्छन्, ‘विक्रम सम्वतमा नयाँ वर्ष वैशाख भनेजस्तै नेवारहरूले कछला महिनालाई नयाँ वर्षको रूपमा मान्छन् । गुँला भनेको ऋतुअनुसार मनाइने १२ औं महिनामध्ये ९ औं महिना हो । गुँ अर्थ नौ र ‘ला’ को महिना भन्ने बुझिन्छ । गुँला महिनालाई सम्पूर्ण गुणयुक्त महिनाको रूपमा लिइन्छ ।’


उनका अनुसार गुन्हुला शब्द अपभ्रंश भएर गुनुला हुँदै गुँला भएको हो । ‘मानिसहरूले ११ महिनासम्म व्यवहार बस्दा चाहेर वा नचाहेर झुठ बोलेको, पाप गरेका हुन सक्छन् । यसलाई पखाल्न यो महिना व्रत बस्ने, दुष्कर्म छोडेर सुकर्मतिर लाग्ने र पुण्य सञ्चय गर्ने गर्छन्,’ उनले भने, ‘जाँडरक्सी, माछामासु र बलि पनि चढाइँदैन । दान दिने गर्छन् ।

प्रकाशित : भाद्र १६, २०७६ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?