भक्तपुरमा १२ जना डेङ्गुका बिरामी

रासस

भक्तपुर — देशभरि फैलँदै गएको डेङ्गुको असरले भक्तपुर जिल्लालाई पनि उच्च जोखिममा पारेको छ । जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत पार्थमणि न्यौपानेले गत वर्षभन्दा यस वर्ष चार दोब्बर डेङ्गुको बिरामी भेटिएकाले यो जिल्ला डेङ्गुको उच्च जोखिममा परेको जानकारी दिए। 

भक्तपुर अस्पतालमा कार्यरत एक कर्मचारीसहित अहिलेसम्म १२ जनामा डेङ्गुको सङ्क्रमण फेला परेको हो। अहिले दुई जनाको सोही अस्पतालमा र अन्यको टेकु अस्पतालमा उपचार भइरहेको उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रविभूषण सुवालले जानकारी दिए।

यहाँ डेङ्गुको सङ्क्रमण परीक्षण कीटको व्यवस्था नहुँदा टेकु अस्पतालमा जचाउन पठाउनु परेको उनले बताए।

जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत न्यौपानेका अनुसार गत वर्ष तीन जनामा मात्रै डेङ्गु देखिएको र यस वर्ष डेङ्गु सङ्क्रमण बढेपछि जिल्लाका सबै स्वास्थ्य चौकी, नगर जनस्वास्थ्य चौकी र सञ्चारमाध्यममार्फत गाउँगाउँमा यसबारे जनचेतना फैलाउने अभियान सुरु गरिएको छ।

कार्यालयले डेङ्गु सङ्क्रमणबाट जोगिन दिउँसो टोक्ने लामखुट्टेबाट बच्न र घरवरिपरि पानी जमेका खाल्डाखुल्डी नराख्न, झ्याम्म भएका झाडी नराख्न, फोहर नगर्न र इन्सेक्टिसाइड छरेर डेङ्गुको सङ्क्रमणबाट जोगिन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित : भाद्र १५, २०७६ १४:२५
प्रतिक्रिया
पठाउनुहोस्

धादिङको धौखोलामा बोलेरो दुर्घटना, १४ जना घाइते

हरिहरसिंह राठौर

धादिङ — धादिङको ज्वालामुखी–६ धौखोलामा बोलेरो दुर्घटना भएको छ । ज्वालामुखी–५ खरिबाट सदरमुकाम आउँदै गरेको ग १ ज ५४३१ नम्बरको बोलेरो जिप सडकबाट ५ मिटर तल खस्दा १४ जना घाइते भएका छन् ।

घाइतेमध्ये एकजनाको स्थिति गम्भिर भएको कारण उपचारका लागि काठमाडौको ट्रमा सेन्टर लगिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए ।

गम्भिर घाइते हुनेमा ज्वालामुखी ५ खरिकी काली गुरुङ रहेकी छिन् । उनको टाउकोमा चोट लागेको कारण उपचारको लागि काठमाडौं पुर्‍याइएको हो । क्षमताभन्दा बढी यात्रु र बिग्रेको सडकका कारण दुर्घटना भएको हो ।

दुर्घटनामा ज्वालामुखी ५ खरीका २९ वर्षीय सोमबहादुर मगराती, २२ वर्षीय लक्ष्मी रोक्का, १२ वर्षीय रमेश रोक्का, २५ वर्षीय गीता रोक्का, २२ वर्षीय धनबहादुर दुवाडी, ६ वर्षीय रोचिता गुरुङ घाईते भएका छन् ।

त्यस्तै १० वर्षीय सरिता रोक्का, १० वर्षीय पार्वती नेपाली, ५० वर्षीय १० वर्षीय सुनिल बालकोटी, १७ वर्षीय सरस्वती गुरुङ, नीलकण्ठ नगरपालिका २ साखुका १३ वर्षीय सिर्जना नेपाली घाइते भएका छन् ।

घाइतेहरुको जिल्ला अस्पताल धादिङबेसीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए । उक्त बोलेरोमा कतिजना यात्रु थिए भन्ने एकिन विवरण अझै नआइसकेको डिएसपी खड्काले बताए ।

प्रकाशित : भाद्र १५, २०७६ १४:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्