कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फार्मेसी परिषद् एउटै कोठामा 

फातिमा बानु

काठमाडौँ — रंग खुइलिएर मक्किएको भित्ता । भुइँभरि छरिएका कागजपत्र र फाइल कोचिएका पेटी । महत्त्वपूर्ण रेर्कड फाइल थन्काएको काठका दराज खुल्लै । एउटै कोठमा कर्मचारी र पदाधिकारीको कार्यकक्ष । राजधानीको बानेश्वरस्थित सरकारी स्वामित्वको नेपाल फार्मेसी काउन्सिलको कार्यालयको अवस्था हो, यो ।

१८ वर्षे स्थापनाकालदेखि काउन्सिल एक कोठामा सञ्चालित छ । पर्याप्त बजेट र योजना हुँदाहुँदै पनि भवन बन्न नसक्दा साँघुरो कोठाबाट सेवा दिन बाध्य हुनुपरेको काउन्सिलका अध्यक्ष केशवध्वज जोशीले बताए । ‘पदाधिकारी बस्नका लागि एउटै कोठालाई बारेर साना कोठाजस्तो बनाएका छौं,’ उनले भने, ‘प्रशासनिक कामदेखि बैठक बस्ने काम यहीँ हुन्छ ।’ आफ्नै भवन नहुँदा काउन्सिल औषधि प्रयोगशालाको भवनमा रहेको एउटा कोठाबाट चलिरहेको छ ।


देशभरिका करिब लाइसेन्सप्राप्त १२ हजार फार्मासिस्ट, बर्सेनि करिब ३ हजारको संख्यामा उत्पादन हुने यस्तै जनशक्ति र ५ दर्जन फार्मेसी शिक्षण संस्था नियमन तथा नियन्त्रण गर्ने संस्थाको वर्तमान स्थिति यस्तो छ ।

टेबलकुर्सी र कम्प्युटर खरिद गर्ने आर्थिक हैसियत भए पनि भवन अभावका कारण थोरै पूर्वाधारमा काम चलाउन बाध्य छन्, कर्मचारी । दैनिक करिब एक सय सेवाग्राही ठोकिने यो संस्थामा सेवाग्राहीका लागि बस्ने ठाउँ छैन । पानीमा रुझेर, घाममा सेकिएर उनीहरू लामो लाइन बसिरहेका हुन्छन् । फार्मासिस्टको लाइसेन्स परीक्षा नजिकिँदै गर्दा सेवाग्राहीको यस्तो सास्ती झन् बढेकोमा अध्यक्ष जोशी थप चिन्तित छन् । भवन निर्माणका लागि स्वास्थ्य मन्त्रालयले स्वीकृतिसमेत दिइसकेको छ ।


एक वर्षदेखि रजिस्टार छैनन्

भवन अभावले त काउन्सिललाई कमजोर बनाएको नै छ । जनशक्ति न्यून हुँदा यसको पीडा थप दयनीय बन्न पुगेको छ । काउन्सिलमा रजिस्टार नभएको एक वर्ष दिन नाघिसक्यो । तत्कालीन रजिस्टार पानबहादुर क्षेत्रीले राजीनामा दिएपछि संस्था रजिस्टारविहीन बन्न पुगेको हो । रजिस्टार नहुँदा दैनिक तथा प्रशासनिक कामकारबाहीमा प्रत्यक्ष असर परेको बताउँदै काउन्सिलका प्रशासनिक अधिकृत सञ्जीव पाण्डेले भने ।


प्रकाशित : भाद्र १४, २०७६ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?