कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेयरलाई ध्यानाकर्षण

काठमाडौँ — सम्पदा अभियान्ताले पुल्चोकस्थित कमलपोखरी सम्बन्धमा भएको सम्झौताप्रति ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको ध्यानाकर्षण गराएका छन् । उनीहरूले यस जग्गामा पार्किङ नभई पोखरी नै कायम गर्नुपर्ने माग अघि सारेका छन् । 

स्थानीय नःटोलवासीले पोखरी कायम गर्न माग गर्दा सम्पदाप्रेमीले समर्थन गरेका थिए । अहिले पोखरीमा पार्किङ बनाउन स्थानीय नःटोलवासी र महानगरबीच सम्झौता भएको छ । महानगरका मेयर महर्जनलाई ध्यानआर्कषण गरेको पत्रमा भनिएको छ, ‘सम्झौतापत्रमा उल्लेख भएअनुसार १८ महिनापछि पोखरी बन्ने सुनिश्चित छैन । सम्झौतामा पार्किङ सञ्चालन टेन्डर पाएका ठेकेदारको हस्ताक्षर छैन । पछि ठेक्का रद्द गरेमा ठेकेदार मुद्दा मामिलामा जान सक्छ । त्यसैले पोखरी नै बन्छ भनेर ठोकेर भन्ने कुनै आधार छैन ।’


ललितपुर महानगरका मेयर महर्जनले ठेकेदारसँग भएको सम्झौतामा महानगरलाई आवश्यक परे ६० दिनको म्याद दिएर ठेक्का रद्द गर्न सक्ने दाबी गरे । ‘नेपाल भ्रमण वर्ष २०२० सकेलगतै पोखरी निर्माण सुरु गर्छौं,’ उनले भने, ‘हामी सम्पदाविरोधी होइनौं ।’


सम्पदाप्रेमीहरूले पुल्चोकस्थित कमलपोखरीमा पार्किङ सञ्चालनसम्बन्धी भएको सम्झौता कानुनसम्मत पनि नभएको निष्कर्ष निकालेका छन् । स्थानीय राजाराम तण्डुकार भन्छन्, ‘नेपाल भ्रमण वर्ष पार्किङ सञ्चालन गर्ने दिने बहाना मात्र हो । महानगरमा वैकल्पिक पार्किङ स्थल बालकुमारीमा छ ।’ उनले सम्झौतामा उल्लेख भएअनुसार डेढ वर्षपछि कुनै पनि हालतमा पोखरी निर्माण नहुने बताए । ‘ठेकेदारको सम्झौतामा हस्ताक्षर छैन । ५ वर्षका लागि पाइसकेको ठेक्का बीचमा रद्द गरेमा ठेकेदारले कानुनी उपचार खोज्ने पक्का छ,’ उनले भने, ‘यो पार्किङ सञ्चालन गर्न दिने खेल मात्र हो ।’

प्रकाशित : भाद्र १४, २०७६ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?