कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

न्हू पोखरीको पुनर्निर्माण सुरु

सीमा तामाङ

काठमाडौँ — पोखरी तथा ढुंगेधाराको मुख्य स्रोत मानिएको लगनखेलस्थित न्हू पोखरी करिब चार दशक अगाडि सुकेको थियो । पोखरीमा पानी घटेपछि जमिन अतिक्रमणमा पर्‍यो । पोखरीवरिपरिको डिल भत्काएर फुटपाथ पसल, झुपटपट्टी, सवारीसाधन पार्क गर्ने थलो बन्यो । 

पोखरीको पानी सुकेपछि डम्पिङ साइट, घर भत्काइएको सामान फाल्ने र सुंगुरबंगुर खेल्ने ठाउँ बनेको थियो । हाल ललितपुर महानगरले न्हू पोखरी पुनर्निर्माण सुरु गरेको छ ।


करिब १० रोपनी जग्गामा फैलिएको पोखरीको छेउमा ८ फिट र बीच भागमा १५ फिट गहिरो छ । अब बन्ने पोखरी बच्चादेखि वृद्धसम्मका लागि बस्न मिल्ने गरी बनाइने छ । पोखरीमा पानीको फोहोर अर्थात् वाटर फाउन्टेन, बोटिङ गर्न मिल्ने, सार्वजनिक शौचालय, प्राकृतिक विपद् आइपर्दा बस्न मिल्ने ठाउँ निर्माण हुने भएको हो ।


ललितपुर महानगरले न्हू पोखरी निर्माणका लागि गत वर्ष ५० लाख रुपैयाँ बजेट छुट्याएको थियो । जुन बजेटको काम अहिले भइरहेको वडा– ५ का वडाध्यक्ष विकासमान श्रेष्ठले बताए । यस वर्ष पनि पोखरीका लागि महानगरले १ करोड बजेट छुट्याएको छ । ५ करोड लागतमा बृहत् योजनासहित पुनर्निर्माण गर्ने लक्ष्य राखिएको छ । वडा अध्यक्ष श्रेष्ठका अनुसार आवश्यक परे वडा कार्यालय भत्काइने छ । वडा कार्यालय विस्तारका क्रममा नयाँ भवन निर्माण गरिएको थियो ।


पोखरी मााःआपा (पुरानो शैलीको ६ इन्च चौडाइ र ८ इन्च लम्बाइ भएको इँटा) र बज्र (सुर्की, बालुवा र चुना मिसाएर बनाएको), कालो माटो मिलाएर निर्माण गरिरहेको, पुनर्निर्माणको जिम्मा लिएका भक्तपुरको कृष्णप्रसाद दुमरुले बताए । उनी भाजुपोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष पनि हुन् । भक्तपुरको ९ सय वर्ष पुरानो भाजुपोखरी र सिद्धपोखरी पनि उनकै समूहले निर्माण गरेका छन् । हाल उनकै समूहले काठमाडौंको रानीपोखरी पनि पुनर्निर्माण गरिरहेका छन् ।


पोखरीको पश्चिम भाग सडक विस्तारका क्रममा माथिल्लो तह नै सडकमा गाभिन गएको छ । उत्तरको भाग नर्सरी र दक्षिण भागमा वडा कार्यालय ५ को भवन निर्माण भएको छ । पोखरी उत्खनन गर्दा पोखरीभित्र जाने खुडकलो, स्लोभ वालहरू भेटिएको दुमरुले बताए ।


त्यस्तै पोखरीको बीच भागमा १४ फिट लम्बाइ र १४ फिट उचाइ भएको ४ फिटको काठको टुक्रा पनि फेला परेको छ । तर अहिले उक्त काठ पोखरीको पानीले छोपिएको उनले सुनाए । इतिहासविद्, सम्बन्धित सरोकारवालाले उक्त काठको बारेमा कुनै पनि खोजीेकार्य नगरेको उनको गुनासो छ । खोजी गरे थप तथ्यहरू फेला पर्ने उनको अनुमान छ ।


हाल दक्षिणतर्फ पानी बस्ने ठाउँको स्लोभ वाल निर्माण गरिरहेको छ । पोखरीमा भेटिएको पुरानो अवशेषका आधारमा पोखरी निर्माण भइरहेको छ । गत वर्षको बजेटले अहिलेसम्म पोखरी उत्खनन तथा गाह्रो लगाउने काम गरे पनि केही भागसम्म अधुरो रहने उनको अनुमान छ ।


काठमाडौंको रानीपोखरीलाई पनि ‘न्हू पुखु’ भनिन्छ । न्हूको अर्थ नेपालभाषामा नयाँ भन्ने बुझिन्छ । तत्कालीन समयमा नयाँ भएकाले पोखरीको नाम ‘न्हू पुखु’ रहेको हुन सक्ने वडाध्यक्ष श्रेष्ठको भनाइ छ । लगनखेलको न्हू पुखु १६औं शताब्दीमा सिद्धिनरसिंह मल्लको समयमा निर्माण भएको मानिन्छ । यहाँ राजकुलोबाट पानी भरिन्थ्यो । पाटनका लागि टीकाभैरव राजकुलोबाट बगेर आउने पानीले पाटनका पोखरी भरिन्थे ।

प्रकाशित : भाद्र १३, २०७६ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?