कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

करार कर्मचारीको भरमा अस्पताल

भक्तपुर — मुलुककै दोस्रो जेठो भक्तपुर अस्पतालमा ८ मेडिकल अधिकृत दरबन्दीमध्ये ६ जना अध्ययन बिदामा छन् । समायोजन गर्दा २ जना संघमा परेका छन् ।

दरबन्दीका नवौं, दसौं तहका १० जना दरबन्दीका कन्सल्टेन्ड चिकित्सक संघ र प्रदेशमा सरुवा भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा.रविभूषण सुवालले बताए । अस्पतालमा एघारौं तहका २ चिकित्सकको दरबन्दी रहे पनि पहिल्यै रिक्त छ ।


दरबन्दीमा कार्यरत अघिकांश चिकित्सक, कर्मचारी समायोजनमा अन्यत्र सरुवा भएपछि छात्रवृत्ति र करारका कर्मचारी चिकित्सकको भरमा अस्पताल सञ्चालन गर्नुपर्ने बाध्यता छ । ७५ शय्या क्षमताको भक्तपुर जिल्ला अस्पताल प्रदेश नम्बर ३ सरकार मातहत छ । दैनिक ५ देखि ६ सय जनाभन्दा बढी बिरामी उपचारका लागि आउने अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या आएको मेडिकल सुपरिटेन्डेन सुवाल बताउँछन् ।


मेडिकल सुपरिटेन्डेन सुवाल स्वयं पनि भक्तपुर अस्पतालमा काजमा हुन् । उनको दरबन्दी वीर अस्पतालमा रहेको छ । ‘कर्मचारी, चिकित्सक समायोजनका कारण अस्पताल रित्तिएको छ,’ उनले भने, ‘यहाँका चिकित्सकलाई केन्द्र सरकारले समायोजन गरी अन्यत्रका अस्पताल पठाएपछि जनशक्तिको अभाव भएको हो ।’ प्रदेश मातहतका अस्पतालमा मात्र होइन, यस्तो समस्या संघ मातहतका अस्पतालले पनि झेल्नुपरेको छ ।


बिरामीको उपचारलाई मध्यनजर गर्दै अस्पतालले विकास समितिमार्फत प्रसूति र फिजिसियन मेडिकल अफिसर राखेर सेवा दिइरहेको जनाएको छ । ‘उपचारका लागि आएको बिरामीलाई त्यत्तिकै पठाउनु त भएन,’ मेडिकल सुपरिटेन्डेन डा.सुवालले भने, ‘निम्न आयस्रोत भएका बिरामीको मुख्य गन्तव्य भक्तपुर अस्पताल हो ।’


भक्तपुर अस्पतालबाट हाडजोर्नी, भिडियो एक्सरे, बालरोग, प्रसूति, प्याथोलोजिस्ट, नाक/कान/घाँटी रोग, एनेस्थेसिया, छाला रोग, सर्जनलगायत चिकित्सक केही प्रदेश र धेरैजसो स्थानीय तहमा समायोजन भएर गएपछि बिरामीको उपचारमा समस्या खेप्नुपरेको छ । छात्रवृत्ति र करारका चिकित्सकबाट सर्जन र फिजिसियनको सेवा दिइरहेको अस्पतालले जनाएको छ ।

प्रकाशित : भाद्र १२, २०७६ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?