गोश्वारा हुलाक सर्दा सेवाग्राहीलाई सास्ती

गणेश राई

काठमाडौँ — आधा शताब्दीदेखि सुन्धारामा रहेको गोश्वारा हुलाक कार्यालय अन्तै सारिएपछि सेवाग्राहीलाई सास्ती भएको छ । ऐतिहासिक धराहरा पुनर्निर्माणका निम्ति क्षेत्र विस्तार गरिने भएपछि हुलाक कार्यालयलाई डिल्लीबजारमा सारिएको हो । 

आफ्नो वेबसाइटबाहेक सार्वजनिक सूचना जारी नगरी कार्यालय सारिएपछि दैनिक सयौं सेवाग्राहीले सास्ती व्यहोर्नुपरेको छ । ‘म जापान पढ्न जान युनिभर्सिटीमा डकुमेन्ट (कागजात) पठाउनको आएको हो,’ सुन्धारास्थित गोश्वारा हुलाकको ढोकामा भेटिएका सविन तामाङले भने, ‘हुलाक सर्‍यो भन्छन्, कहाँ हो थाहा छैन ।’

पोस्ट बक्स नम्बर नवीकरण गर्न आएकी साधना रिमाल पालेले ढोकाबाटै डिल्लीबजार जान भनेपछि अवाक् भइन् । ‘पोस्ट बक्समा चिठी पनि हेर्नुछ, नवीकरण पनि गर्नुछ,’ उनले भनिन् । तर, हुलाक कार्यालयले महिना दिनदेखि पोस्ट बक्सको सेवा बन्द भएको र सुचारु राख्न अझै केही साता लाग्ने भनेको छ ।

हाल नेपालमा रहेका जर्मन नागरिक हुलाक टिकट खोज्दै सुन्धारा आइपुगे । तर पालेले डिल्लीबजार पुग्नु भनेर संकेत गरेपछि उनी अलमलमा परेर फर्किए । यसरी गत साउन पहिलो सातादेखि दैनिकजसो सुन्धारास्थित गोश्वारा हुलाक धाउने सेवाग्राहीले सास्ती व्यहोर्दै आएका छन् ।

गोश्वारा हुलाकबाट सेवाग्राहीले चिठीपत्र (साधारण र रजिस्टरी) पठाउने, हुलाक टिकट लिने, चिठीपत्र पाउनेले हुलाकी, झ्यालबाट र पोस्ट बक्समार्फत् लिने गर्छन् । गोश्वारा हुलाकले पार्सल, द्रुत डाँक सेवा (ईएमएस), बचत बैंक, धनादेश सेवा प्रदान गर्दै आएको छ । ‘साउन मसान्तभित्र सबै कार्यालय डिल्लीबजारमा सारिसक्यौं,’ कार्यालय प्रमुख वेदप्रसाद भण्डारीले भने, ‘कार्यालय कक्षहरू मिलाउँदै छौं । केही दिनभित्र सेवा नियमित हुन्छ । पोस्ट बक्सहरूचाहिँ सार्नै बाँकी रहेकाले हालका लागि स्थगित गरिएको छ ।’

प्रमुख भण्डारीका अनुसार गोश्वाराअन्तर्गत १९ हजार ७ सय २५ वटा पोस्ट बक्स छन् । तीमध्ये करिब १ हजार ५ सयवटा बक्स सुचारु छन् । यसअघि हुलाक सेवा विभागका निम्ति बनाइएको पाँचतले भवनमा गोश्वारा कार्यालय सारिएको हो । उक्त भवन संरचना पोस्ट बक्स, दैनिक सेवाका निम्ति अनुकूल नरहेको जनाइएको छ । ‘ठाउँको अभाव छ, तैपनि नवीकरण भएका पोस्ट बक्सलाई चाँडै व्यवस्थापन गर्ने छौं,’ प्रमुख भण्डारीले भने, ‘भदौ १५ भित्र सुन्धाराका सम्पूर्ण सामान सारिसक्ने लक्ष्य राखेका छौं ।’

भारत सरकारको सहयोगमा २०२६ सालमा सुन्धारास्थित गोश्वारा हुलाक कार्यालय भवन निर्माण सम्पन्न भएको थियो । सोही वर्ष नेपाल सरकारलाई भवन हस्तान्तरण भई सेवा सुचारु रहँदै आएको थियो ।

सरकारले २०७३ सालमा सुन्धारास्थित धरहरा पुनर्निर्माण गर्ने र त्यसनिम्ति ११ रोपनी क्षेत्रफलमा रहेको गोश्वारा हुलाक कार्यालय अन्यत्र सार्ने निर्णय गरेको थियो । त्यसै अनुसार ५ वटा भवनबाट सेवा दिंदै आएको गोश्वारा हुलाकलाई अन्यत्र सारिएको हो । गोश्वारामा सेवारत ३ सय ६० कर्मचारी छन् । त्यसैगरी ७० वटा साना ठूला सवारीसाधन रहेका छन् । अहिले एउटै भवनमा सारिँदा ठाउँको अभाव खड्किएको प्रमुख भण्डारीले बताए ।

‘सरकारले डिल्लाबजार चारखाल कारागार परिसरको १३ रोपनी जग्गा गोश्वारा हुलाकको नाममा उपलब्ध गराएको छ,’ उनले भने, ‘तर, कारागार अन्यत्र व्यवस्थापन नगरिएकाले तत्काल कुनै भवन संरचना निर्माण गर्ने स्थिति छैन ।’
सुन्धारा सबैतिरबाट पायक पर्ने स्थान तथा व्यवस्थित र सुरक्षित भवन संरचनामा हुलाक घर रहेको थियो । डिल्लीबजार भने एकतर्फी मात्र यातायात सञ्चालन हुने ठाउँ परेकाले सेवाग्राही मर्कामा परेका छन् । ‘सुन्धारा पूर्व–पश्चिम, उत्तर–दक्षिण जताबाट पनि सार्वजनिक यातायात आउन सक्ने ठाउँ हो र जोसुकैलाई थाहा छ,’ फिलाटेलिक अधिकृत सुधा रेग्मीले भनिन्, ‘डिल्लीबजार पुरानो बस्तीसमेत रहेको ठाउँ भएकाले साँघुरो छ । यातायात पनि एकतर्फीमात्र चल्ने भएकाले समस्या छ ।’

धरहरालाई फराकिलो परिसरमा निर्माण हुने भएपछि गोश्वारा हुलाक र टक्सार विभागसमेत अन्यत्र सारिएका छन् । त्यसैगरी उत्तरतर्फ रहेको सञ्चय कोषको भवनको केही भागसमेत भत्काइने जनाइएको छ । हुलाक कार्यालय रहेको ठाउँमा भने सतहमुनि (अन्डर ग्राउन्ड) दुई तले मोटर पार्किङ स्थल र माथि बगैंचा रहने जनाइएको छ ।

नेपालमा हुलाक सेवा
विसं. १९३५ मा ‘नेपाल हुलाक घर’ स्थापना भएको हो । त्यसअघि परम्परागत सञ्चारमा सीमित थियो । २०१३ सालमा नेपालले विश्व हुलाक संघको सदस्यता प्राप्त गरेको थियो । त्यसको तीन वर्षपछिबाट नेपालले वैदेशिक चिठी आदानप्रदान सुरु गरेको थियो । हाल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत हुलाक सेवा विभाग रहेको छ । विभागअन्तर्गत गोश्वारा हुलाक, फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन, केन्द्रीय धनादेश कार्यालय र हुलाक
प्रशिक्षण केन्द्र रहेका छन् ।

त्यसैगरी विराटनगर, पोखरा, सुर्खेत र दिपायल गरी चारवटा निर्देशनालय छन् । देशभरिका ७० जिल्लामा हुलाक, ८ सय ४२ इलाका हुलाक र ३ हजार ७४ अतिरिक्त हुलाक कार्यालय छन् । विज्ञान र प्रविधि तथा इन्टनेट सेवाको विकासले चिठीपत्र लेख्ने चलन घटेकाले हुलाक सेवाको आकर्षण घटेको छ ।

अर्कोतर्फ हुलाक ऐन, २०१९ र नियमावली २०२० समय सापेक्षण संशोधन हुन सकेको छैन । जसका कारण हुलाक सेवा अलोकप्रिय बन्न पुगेको छ । निजी क्षेत्रबाट दिनुपर्ने सेवालाई सरकारले ओगटा समस्या आएको विज्ञले बताउँदै आएका छन् ।

प्रकाशित : भाद्र ४, २०७६ ०८:०९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नरसिंहले घुमे पाटन

‘धार्मिक मान्यताअनुसार नरसिंहको कम्मरमा मधु र कैटभ दैत्यको प्रतीकका रुपमा दुई पुतली बाँध्ने गरिन्छ । यसले पाटनबासीलाई भयमुक्त भएको सन्देश दिन्छ ।’
प्रशान्त माली

काठमाडौँ — ललितपुरको पाटन सहर बसाल्दाको समय मघा नक्षेत्रमा पर्‍यो । यो २७ मध्ये एक नराम्रो नक्षेत्र मानिन्छ । यसमा सूर्य सिंह राशिमा आउँछ । उपाकर्म गुठी पाटनका अनुसार स्वामी केतु क्षेत्रमा जन्मेहुर्केकालाई महादशा निम्त्याउँछ । र, त्यतिबेला दशाबाट बचाउन पाटनमा श्रीधर नारायणको जात्रा सुरु गरे । पछि सिद्धिनरसिंह मल्लले जात्रालाई थप व्यवस्थित गरे । त्यही नरसिंह जात्रा यतिबेला जारी छ । 

पाटन कोर क्षेत्रभित्रका मंगलबजार, अग्निशाला, पूर्णचण्डी गरेर ५ टोलमा ६ कुल (कवल) का नेवार ब्रहृमाण बस्दछन् । मन्दी छेँ कवल, बकनिम्ह, स्वनिम्ह, वला, तधलिबी, नुंग कवल छन् । यसलाई ‘षड्कुल’ भनिन्छ । संस्कृतमाषड्को ६ र कुलको अर्थ समुदाय हो । ६ वटै कुलका व्यक्ति सम्मिलित गुठी उपाकर्म हो । नरसिंह जात्रा सञ्चालन गर्ने गुठी यही हो । गुठीमा २ सय जना सदस्य छन् । प्रत्येक वर्ष गुठियारमध्ये पालो थाप्न बाँकी भएकामध्येबाट ज्येष्ठले थाप्छ । यस वर्ष स्वनिम्ह कवलका ७९ वर्षीय हेरम्बराज राजोपाध्यायको पालो छ । जात्रासम्बन्धी जानकार उपाकर्म गुठियार प्रमोद शर्मा भन्छन्, ‘जात्राको निमन्त्रणा स्वरूप गुरुपूर्णिमामा सिद्धिनरसिंह मल्लले ध्यान गर्दा बस्ने पाटन दरबार क्षेत्रस्थित सुन्दरी चोकको फराकिलो ढुंगामा फूल र फलफूल चढाउन जाने चलन यद्यपि छ ।’ उनका अनुसार चोकमा स्वस्तिवाचन गर्ने पनि परम्परा छ । उपाकर्म गुठीका थकालीमा ८७ वर्षीय गोपालराज शर्मा, दोस्रो थकालीमा ८५ वर्षीय हेरम्बानन्द शर्मा, अग्निशाला अग्निहोत्री (प्रमुख) विष्णु मोहनधर शर्मा र तलेजुका मूल पुजारी अनन्तज्वालानन्द राजोपाध्याय छन् । ‘जात्राको तयारी स्वरूप यी चार जना थकालीलाई पनि फूल र फलफूल चढाउन जानुपर्ने परम्परा छ,’ उनले भने, ‘गुठीमा महिलाले सदस्य पाउँदैन । पुरुष पनि व्रतबन्ध गरेकै हुनुपर्छ ।’

जात्रामा ताज, शिरबिन्दु, भिपु माला लगाएका अप्सराको प्रतीकका रूपमा कुचो लिएका दुई बालिका अग्रपंक्तिमा थिए । उनीहरूले नरसिंह हिँड्ने बाटो सफा गर्ने भूमिका खेलेका थिए । लगत्तै अर्का दुई/दुई बालिकाले गाईको दूध दुबो र लावा अबिर छर्किएर बाटोलाई चोखो बनाइरहेका थिए । त्यसपछि राजदण्ड समाएर दुई बालिका अगाडि बढेका थिए । उनीहरू प्रत्येक दुई/दुई जनालाई झल्लरवाला छत्रले ओढाइको थियो । यात्रामा खुट्टामा अल: (एक प्रकारको रङ) कम्मरमा जबी, लच्कन भएको कपडा घाँटीमा ताय: माला शिरमा मुकुट लगाएका नरसिंहको भेषमा एक पुरुष थिए ।

परम्पराअनुसार जात्रामा पालोवालाको ज्वाइँ, भान्जा र पुरोहितमध्ये एक जना नरसिंह बनेर प्राचीन नगरीमा साया: रुटमा परिक्रमा गराउने चलन छ । यसपालि पालो पर्ने हेरम्बराजका ज्वाइँ महेशबाबु शर्माले नरसिंहको भूमिका खेलेका छन् । यात्रामा स्त्री (शक्ति) सरस्वतीको भेषमा अनिरुद्र शर्मा र लक्ष्मीको भेषमा प्रश्रित शर्मा नरसिंहको दायाँबायाँ बसेका थिए । भक्त प्रहृलादको पालो थाप्ने घरकै हुनुपर्ने चलन छ । यसपटक हेरम्बका नाति अपूर्व राजोपाध्याले प्रहृलादको भूमिका खेले ।

कुम्भेश्वरका पुजारी माधवश्याम शर्मा भन्छन्, ‘यात्रामा धार्मिक मान्यताअनुसार नरसिंहको कम्मरमा मधु र कैटभ दैत्यको प्रतीकका रूपमा दुई पुतली बाँध्ने गरिन्छ । यसले पाटनबासीलाई भयमुक्त भएको सन्देश दिन दैत्यको प्रतीकको रूपमा राख्ने गरेको छ ।’ नरसिंह विष्णु भगवान्का दसमध्ये चौथो अवतार हो । जात्राका लागि राजोपाध्याय गुरुहरूले चुतर्थी पूजा गरेका थिए । यात्रा पाटन स्वनिमो पिम्बहालबाट सुरु भएर क्वाल्खु–कुम्भेश्वर–कोबहाल–मंगलबजार–हखा:– सौगोल–सुन्धारा–ओकुबहाल– टंगल– हौगल– तिछुगल्ली–इखालखु–पूर्णर्चण्डी–गाबहाल हुँदै पुन: पिम्बहालमा पुगेका थिए । नरसिंह जात्रालाई नेवारीमा उपाकुलं साया: भनिन्छ । यात्रामा धिमे बाजा, नायखि, धा: बाजा, भजनसँगै तन्त्रमन्त्र गर्ने झाँक्री र लाखे सहभागी थिए । उपाकर्म गुठीको हस्तलिखित ग्रन्थमा नेपाल सम्वत् ८६९ अर्थात् विसं १८०६ देखि जात्रा सुरु भएको अभिलेख पाइन्छ । जात्रामा भक्तपुरबाट धिमेबाजासहित सहभागी भए ।

प्रकाशित : भाद्र ४, २०७६ ०८:०५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT