कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वीरको नयाँ भवन प्रयोगविहीन

काठमाडौँ — अत्याधुनिक संरचनामा बनेको सेतो भवन । कुरुवाका लागि फराकिलो बस्ने ठाउँ । संक्रमण आफैं नियन्त्रण हुने भित्ताका रङ । अपागंमैत्री शौचालय र बिजुलीका लागि ब्याकअप जेनेरेटर । अत्याधुनिक लिफ्ट । सेन्सरबाटै खुल्ने पानीका धारा ।

सेमिनारका लागि चिटिक्क हल अनि डाक्टर र नर्सका बस्न व्यवस्थित कक्ष भएको वीरको नयाँ भवन हेर्दा विकसित मुलुकको अत्याधुनिक अस्पतालको झल्को आउँछ । तर, जनशक्ति र उपकरण अभावका कारण वीरको नयाँ भवन अझै सञ्चालनमा आउन सकेको छैन ।


जापान सरकार (जाइका) को ८० करोड आर्थिक सहयोगमा बनेको भवन हस्तान्तरण भए पनि प्रयोगमा आउन नसकेको हो । पूर्वाधार अभावकै कारण नयाँ भवनका दुई विभाग बन्द अवस्थामा छन् । यी विभाग सञ्चालनका लागि आन्तरिक हस्तान्तरणसमेत भएको छैन ।


६ वर्षअघिको भूकम्पका कारण भत्किएको र चर्किएको भवनलाई जापान सरकारले अत्याधुनिक मोडेलमा पुनर्निर्माण गरेर २ महिनाअघि नै हस्तान्तर गरे पनि भवन खाली छ । विशेषगरी मेडिसिन प्रायोजनका लागि बनेको यो भवन तीनतले छ । जहाँ मुटु, मृगौला र ग्यास्ट्रो विभाग छन् । ९४ बेडको यो भवन सञ्चालनमा आउन सके बिरामीले उपचारका लागि भोगिरहेको सास्ती कम हुने वीर अस्पतालका निर्देशक डा.केदारप्रसाद सेन्चुरीले बताए । उनले भने, ‘भवन भए पनि बेड छैन । मुख्य त नर्सिङ जनशक्ति नै छैन ।’


बेड खरिदका लागि स्वास्थ्य मन्त्रालयबाट गत वर्ष नै बजेट आए पनि अस्पतालले खरिद गर्न सकेको छैन । मुटुरोग उपचारका लागि अत्यावश्यक उपकरण क्याथल्याब महँगो भएकाले अस्पतालको वार्षिक बजेटबाट खरिद गर्न नसकिने बताउँदै डा. सेन्चुरीले भने, ‘आईसीयू कक्षका लागि भेन्टिलेटर छैन । बेडसाइड मनिटर र भिडियो एक्सरे पनि छैन ।’ जाइकाले भवन निर्माणसँगै केही उपकरण पनि दिएको छ । जस्तै मृगौला डायलासिसका लागि ८ वटा हेमोडाइलासिस उपकरण ।


उपकरण भएकाले नयाँ भवनमा मृगौला फेल भएका बिरामीले डाइलासिस सेवा भने पाइरहेका छन् । बेड नभएकै कारण बिरामीलाई नयाँ भवनमा डायलासिस गराइन्छ र भर्ना गर्नुपरे पुरानो भवनमा लगिन्छ । यसबाहेक जाइकाले ग्यास्ट्रो विभागका लागि पनि केही उपकरण दिएको छ । उपकरण पर्याप्त नभएकाले यो विभाग पनि प्रयोगविहीन छ ।

प्रकाशित : भाद्र ३, २०७६ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?