फुटपाथमै वृक्षरोपण

कान्तिपुर संवाददाता

भक्तपुर — साँघुरो सडक । सडकबीचमै बिजुलीको पोल ठडिएको छ । त्यही साँघुरो सडकको दायाँबायाँ मुस्किलले हिँड्न मिल्ने फुटपाथ छ । शनिबार विभिन्न सहकारी, संघसंस्थाको समन्वयमा सूचना सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटा, जनप्रतिनिधि, कर्मचारी, सेना, प्रहरी, सशस्त्र प्रहरीलगायतले फुटपाथमै वृक्षरोपण गरेका छन् ।

सूर्यविनायक–२ बालकोटस्थित सडक किनाराको फुटपाथमा वृक्षरोपण गर्दै प्रदेशसभा सदस्य शशिजंग थापा । तस्बिर : लीला श्रेष्ठ/कान्तिपुर

सयौं स्थानीय बासिन्दाको उपस्थितिमा फुटपाथमा वृक्षरोपण गरे पनि फुटपाथ मिचिएको भन्दै धेरैले आलोचना गरेका छन् । ‘सडक बीच मै ठड्याएको बिजुलीको पोलमा अलपत्र छोडिएका तारको व्यवस्थापन छैन,’ स्थानीय रामकाजी खडकाले भने, ‘कतिपय स्थानमा फुटपाथसमेत छैन ।’ फुटपाथको वृक्षरोपणले पैदलयात्रुको सुरक्षामा चुनौती थपिएको उनी बताउँछन् ।

अव्यवस्थित सहरीकरणले हरियाली क्षेत्र मासिँदै गएको छ । हरियाली क्षेत्र प्रवर्द्वनका लागि सरकारले असार १४ लाई ‘राष्ट्रिय वृक्षरोपण दिवस’ घोषणा गर्दै वृक्षरोपण अभियानसमेत सुरु गरेको छ । सरकारले सन् २०१८ को जुन ५ देखि ‘एक नागरिक एक फलफूलका बिरुवारोपण अभियान’ थालेको थियो ।

उक्त अभियान सफल बनाई मुलुकलाई फलफूलमा आत्मनिर्भर एवं निर्यातयोग्य बनाउन प्रत्येक वर्ष असार १४ गते फलफूललगायतका बिरुवारोपण गरी देशव्यापी रूपमा राष्ट्रिय वृक्षरोपण दिवस मनाउने सरकारको निर्णय छ । आगामी तीन वर्षभित्र ३ करोड फलफूलका बिरुवा रोप्ने योजना सरकारको छ ।

लुम्बिनी क्षेत्रलगायतका पवित्र धार्मिकस्थल, सडक किनारा, नदी उकासका क्षेत्र, हैसियत बिग्रिएका वनक्षेत्रमा समेत फलफूल तथा औषधिजन्य (हर्बल) बिरुवा रोपण गर्ने सरकारको तयारी छ । केन्द्र सरकारले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, कर्मचारी, सातवटै प्रदेश, स्थानीय तह, विश्वविद्यालय, संस्थान, वन उपभोक्ता समिति र गैरसरकारी संस्थाहरूलाई पनि आ–आफ्नो क्षेत्रमा वृक्षरोपण गर्न निर्देशन दिएको छ ।

सोही निर्देशनबमोजिम केन्द्र, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि वृक्षरोपण गर्न हौसिएका छन् । वृक्षरोपणमा स्थानीयको उत्तिकै सहकार्य/समन्वय छ तर कार्यक्रम आयोजकले वृक्षरोपण गर्ने ठाउँको सही छनोट भने नगरेको सूर्यविनायक–२ बालकोटकी राजश्री पौडेलले बताइन् । ‘हरियाली अभियानले मान्छेमा प्रकृतिको संरक्षण गर्नुपर्ने जनचेतना दिएको छ,’ उनले भनिन्, ‘फुटपाथ फराकिलो पार्नुपर्ने समयमा मिचिनु दुर्भाग्य हो ।’

वृक्षरोपणको पहिलो चरणमा प्रदेशसभा सदस्य शशिजंग थापाको संयोजकत्वमा सूर्यविनायक–२ कौशलटारस्थित हनुमन्ते खोलादेखि बालकोट चोकसम्मको फुटपाथमा धुपीको बिरुवा रोपेको छ । सहकारी, विद्यालय, संघसंस्था, स्थानीय बासिन्दाको सहयोगमा दोस्रो चरणमा बालकोट चोकदेखि सिरुटार र तेस्रो चरणमा सिरुटारदेखि बिरुवासम्मको करिब ६ किलोमिटर सडकको फुटपाथमा वृक्षरोपण गर्ने तयारी भएको प्रदेशसभा सदस्य थापाले बताए । सडक किनारामा वृक्षारोपण गर्न करिब ९ लाख रुपैयाँ संकलन भईसकेको समेत उनले बताए ।

वृक्षरोपण कार्यक्रमको थालनी गर्दै सूचना सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मानिस र प्रकृतिको सन्तुलन विकास, वातावरणको सन्तुलनले सुन्दरता मात्र होइन स्वस्थ, सुखी र समृद्धितिर लैजाने बताए । हनुमन्ते सफाइ अभियानको ७६ औं हप्ताको अवसरमा आयोजित वृक्षरोपण कार्यक्रममा सफाइ अभियन्ता एवं प्रतिनिधिसभा सदस्य, पूर्वमन्त्री महेश बस्नेतले सडक ढलजस्ता प्रारम्भिक मागबाट समाज टोल एक तहमाथि उठेको प्रमाणित भएको उल्लेख गर्दै सफाइ, कोरिडर र पार्क निर्माणका काम तदारुकतासाथ भइरहेको जानकारी दिए ।

विभिन्न संघसंस्थालगायतको सहकार्यमा सडक किनारामा रोपिएको बिरुवा संरक्षणमा तदारुकताका साथ लाग्ने सूर्यविनायक नगर उपप्रमुख जुना बस्नेतले बताइन् । सूर्यविनायक–२ का वडाध्यक्ष कमलनाथ आचार्यले भने फुटपाथमा रोपेको बिरुवाले प्रकृतिको संरक्षणमा सकारात्मक जनचेतना फैलाउन सहयोग पुर्‍याउने बताएका छन् । ‘बिजुलीको पोल, यत्रतत्र छरिएका तारको व्यवस्थापनमा वडा र नगरपालिका लागि परेको छ,’ उनले भने, ‘चरणबद्व किसिमबाट नगरको विकास तथा व्यवस्थापन हुँदै गएको छ ।’

प्रकाशित : श्रावण २६, २०७६ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्

लगनखेल बसपार्कमा फोहोरको थुप्रो

कान्तिपुर संवाददाता

ललितपुर — फोहोर नउठाउँदा लगनखेलका व्यापारी तथा स्थानीय दुर्गन्ध खेप्न बाध्य छन् । फोहोर नउठाउँदा हिँडडुल गर्न पनि समस्या भएको स्थानीयको गुनासो छ । एकैचोटि नउठाउँदा सधैं फोहोर रहिरहने भएकाले दुर्गन्धमा दैनिकी काट्न बाध्य छन्, स्थानीयवासी तथा व्यापारी ।

फोहोरले स्थानीय बासिन्दालाई मात्र नभएर गाडी आवतजावत यात्रुलाई पनि समस्या निम्तिएको छ । व्यापारिक क्षेत्र लगनखेल फोहोरको थुप्रोले भरिँदा आउनै मन नलागेको धापासी जान बस पर्खिरहेका ५५ वर्षीया सावित्री श्रेष्ठले बताइन् । बसपार्क नै फोहोरले घेरिएकाले पर्खनै गाह्रो भएको उनले सुनाइन् । फोहोरका रास र दुर्गन्धले बजारलाई कुरूप बनाएको उनको अनुभव छ ।

कहिलेकाहीं सामान लिन आउने गरे पनि आजभोलि बाध्यताले आउने गरेको उनले बताइन् । ‘फोहोरले दुर्गन्ध मात्र फैलाउँदैन,’ उनले भने ‘फोहोरका छेउमा दैनिकी चलाउने मानिसको स्वास्थ्यमा पनि समस्याल्याउँछ ।’ फोहोरले कतिपय मानिसलाई रुघाखोकी, झाडाबान्ता पनि हुन सक्ने उनले बताए । अन्य ठाउँमा त फोहोरका थुप्रा देखिएको थिएन तर यहाँका अवस्था हेर्दा महिनौँदेखि फोहोर नउठाएको देखिन्छ ।

ट्रक आएर फोहोर लगे पनि सबै फोहोर नलैजाने हुँदा फोहोरको रास सधैं उत्तिकै देखिने मजदुर गिरीशले बताए । लगनखेल बसपार्कमा रहेको गाडीमा ग्रिज लगाउने काम गर्छन् उनी । ‘बसपार्कको कुना अर्थात् बस स्ट्यान्डमुनिको खाली ठाउँ फोहोर थुपार्ने थलो बनेको छ,’ उनले भने, ‘दैनिकी चलाउन काम गर्नुपर्छ, त्यसैले दुर्गन्ध भन्न पनि पाइँदैन ।’

धेरै मिडियाले सोधेर गए, समाचार छापे होलान् तर फोहोर कहिल्यै नउठेको उनको भनाइ छ । आजभोलि बाटोमा हिँड्दा अनिवार्य मास्क लगाएर हिँड्नुपर्छ । मास्क नलगाईहिँडडुल गर्ने अवस्थै छैन ।

फोहोरको दुर्गन्धले गर्दा ग्राहक पनि नआउने नाङ्लोमा स्याउ बेचिरहेकी संगीता सापकोटाले बताइन् । करिब एक वर्षदेखि व्यापार गर्दै आएकी सापकोटा भन्छिन्, ‘फुटपाथमा व्यापार गर्‍यो भनेर नगरपालिकाले लखेट्छ तर यही थुप्रिएको फोहोर उठाउन सक्दैनन् ।’ आज फोहोर उठाए पनि भोलि आउँदा उत्तिकै हुने गरेको उनले बताइन् । सानासाना गाडी आउँछन्, जसले एकैचोटि फोहोर उठाउन सक्दैन र जत्ति उठ्छ त्यति मात्र लैजान्छ । त्यसैले फोहोर उठाए पनि बसपार्कमा फोहोरको थुप्रो नै देखिन्छ ।

पानी पर्नासाथ फोहर संकलन गरेर व्यवस्थापन गर्ने ठाउँमा समस्या हुने भएकाले फोहोर नउठेको ललितुपर महानगरपालिका वडा नं. १२ का प्रमुख नारायणलाल अवालेले बताए । भोलिदेखि पुनः फोहोरउठ्ने उनको भनाइ छ ।

प्रकाशित : श्रावण २६, २०७६ ०७:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्