यल पञ्चदानमा आकर्षण

प्रशान्त माली

काठमाडौँ — पञ्चदानमा भिक्षु, ब्रहृमाचारी, चैलक्यसँगै शाक्य र बज्राचार्य थरकाहरू बही, बिहार, टोल, चोक, घरआँगनमा पुगेर दान माग्ने जाने परम्परा छ । पछिल्लो समय लाजको कारणले दान थाप्न जाने युवाहरूको संख्यामा कम हुँदै आएको थियो ।

अहिले संस्कृति, पर्व संरक्षण गर्नुपर्छ भन्ने एक खालको जागरण आएको छ । बिहीबार ललितपुरमा सम्पन्न यल (पाटन) पञ्चदानमा युवाहरूको उल्लेखनीय सहभागी देखिनु यसको ज्वलन्त उदाहरण हो ।

पाटन बहालका युवा राजेश बज्राचार्य भन्छन्, ‘विगतका वर्षहरूमा पर्वमा युवाहरूको उपस्थित कम हुँदै गएको थियो । अहिले सोचमा परिवर्तन आएको छ । शाक्य बज्राचार्य मात्र नभई बौद्धधर्ममा विश्वास राख्ने अन्य समुदायका व्यक्तिको पनि सहभागिता हुन थालेको छ ।’ उनका अनुसार दान भनेको लोभ, लालच नराखी शुद्ध मनले निःस्वार्थ रूपमा दिने गरिन्छ । बौद्धधर्ममा दानधर्मको ठूलो महत्त्व छ । ‘बुद्धत्व प्राप्त गर्न आवश्यक दस पारमितामध्ये दान पारमिता पनि एक हो,’ उनले भने ।

पञ्चदान बौद्ध धर्मावलम्वी नेवारहरूको ठूलो पर्व मानिन्छ । यो पर्व बौद्ध परम्पराअनुसार श्रावण शुक्लपक्ष अष्टमीका दिन ललितपुरमा मात्र आयोजना हुन्छ । त्यसलाई ‘यल पञ्चदान’ भन्ने गरिएको हो । काठमाडौं, भक्तपुर, थिमि, बनेपा, साँखु, पनौतीलगायत ठाउँमा भने प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशीमा मनाइन्छ ।

पर्वको अवसरमा पाटनका नागबहाल, गोल्डेन टेम्पल, श्रीबच्छ महाविहार, पाटन दरबार क्षेत्रको हखाः लगायत टोलमा दीपंकर तथा बुद्धका मूर्ति र पौः बाः सजाई सामूहिक पञ्चदानको आयोजना गरेको थियो । पञ्चदानमा धानचामल, गहुँ, नुन, कालो भटमास, क्षीर, फलफूल र दक्षिण दान गरिन्छ ।

पञ्चदान गर्दा फुद्यो (अन्तिम पञ्चदान लिन आउने) नआएसम्म दान गरिराख्नुपर्ने परम्परा छ । पञ्चदान लिन आउनेले ‘लोकमा दान नै विभूषण, दानले नै दुर्गति निवारण गर्दछ, दानले स्वर्गमा ठाउँ पाइन्छ’ भन्ने अर्थको स्तोत्र पाठ गर्दै अगाडि बढेका थिए । दान लिएपछि दाताको आयु, आरोग्य, यश, जन, धन, सन्तान वृद्धि र शान्तिको कामना पनि गरेका थिए ।

लिच्छविकालमा गुल्तङ ग्राम नामले प्रसिद्ध उक्त ठाउँमा सत्य युगमा सर्वानन्द नाम गरेका राजाले आफ्नो दरबारमा दीपंकर तथागत र उनका शिष्यलाई निमन्त्रणा गरी सर्वप्रथम पञ्चदानको आयोजना गरेको विश्वास गरिन्छ । पर्वको अवसरमा खीर खाने पनि चलन छ ।

प्रकाशित : श्रावण २४, २०७६ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्

भीमसेन मन्दिरको काम तीव्र

कान्तिपुर संवाददाता

काठमाडौँ — व्यापारीहरूको मुख्य आराध्य देवता मानिने ललितपुरको पाटनस्थित भीमसेन मन्दिरको पुनर्निर्माण कार्य सुरु भएको छ । २०७२ सालको भूकम्पले क्षति पुर्‍याएको विश्व सम्पदामा सूचीकृत पाटन भीमसेन मन्दिर मर्मतसम्भार गर्न नेपाल सरकार पुरातत्त्व विभागले भारतीय दूतावासलाई दिएको थियो ।

तर भूकम्प गएको ३ वर्ष बित्दा पनि दूतावासले निर्माण कार्य सुरु नगरेपछि स्थानीय व्यापारीहरूले नै ललितपुर उद्योग वाणिज्य संघको अगुवाइमा काम थालिएको हो । मगल टोल सुधार संघ तथा ललितपुर महानगरपालिको सहयोगमा भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समिति गठन गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा पुरातत्त्व विभाग एवं महानगरपालिका समेतको स्वीकृति प्राप्तिपश्चात्कार्य सुरु गरेको हो ।

मन्दिर कुनै पनि बेला भत्किन सक्ने अवस्थामा रहेकोले यथाशक्य चाँडो भत्काई पुनर्निर्माण गर्नुपर्ने भन्ने विज्ञहरूको सुझावलाई ध्यान दिँदै मन्दिर निर्माण गर्न समिति गठन गरेको उद्योग वाणिज्य संघका प्रशासन प्रमुख पुरुषोतम श्रेष्ठले बताए ।

भूकम्पबाट क्षतिग्रस्त भएको मन्दिरको गत असार १२ गतेका दिन क्षमापूजासहित गाईको पुच्छरमा बाँधिएको डोरीले भीमसेन मन्दिरको छानाको झिँगटी निकालेर मन्दिरको पुनर्निर्माणको कार्य सुरु गरिएको थियो । मन्दिरको क्षतिग्रस्त भएको भाग भत्काउन काम सुरु भएको छ । भीमसेन मन्दिर पुनर्निर्माण गर्न सुनलेपन कार्यबाहेक अनुमानित लागत ४ करोड ९३ लाख रहेको छ । पुनर्निर्माण कार्य सुरु गरेको मितिले दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने योजना भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिको छ ।

मन्दिर पुनर्निर्माणका लागि एभरेस्ट बैंक लिमिटेडका अध्यक्ष विके श्रेष्ठले १ करोड र ललितपुर महानगरपालिकाले १ करोड रुपैयाँ आर्थिक सहयोग गरेका छन् । त्यस्तै प्रदेश नम्बर ३ सरकारले ५० लाख रुपैयाँ सहयोग गरेको छ । त्यस्तै मन्दिरको सबैभन्दा माथिल्लो तलाको गजुर तथा धातुको छाना निकाल्ने तथा आवश्यक मर्मत पश्चात पुनः छाना छाउने कार्यमा नयाँ सामानको लागतबाहेक अन्य आवश्यक पर्ने श्रम तथा मर्मत खर्च मंगबजारकै स्थानीय कल्याणकृष्ण ताम्राकारले सहयोग गर्ने र मन्दिर मर्मतको क्रममा चाहिने डाँची इँटा दक्षिण बाराही ब्रिक फ्याक्ट्रीले उपलब्ध गराउने भएको छ ।

साथै मन्दिरको पुनर्निर्माणमा प्राविधिक सहयोग काठमाडौं उपत्यका संरक्षण कोष (केभीपीटी) गरेको ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले बताए । ‘भीमसेन व्यापारीहरूका आराध्यदेव हुन्,’ उनले भने, ‘त्यसैले आराध्यदेवको मन्दिर पुनर्निर्माण व्यापारीहरूको पहलमा नै सुरु भएको छ ।’

हाल मन्दिरको गजुर झिकी पुराना सामानहरूको संरक्षण गर्दै भत्काउने सुरु गरेको छ । मन्दिरमा प्रयोग भएका केही सामान पुनः प्रयोग गर्न मिल्ने भएकाले संकलन गरिरहेको छ । महर्जनका अनुसार मन्दिर भत्काए पनि त्यहाँ भएका भीमसेन मूर्ति भने नभत्काउने र पहिलेकै जगमा मन्दिर निर्माण गरिनेछ । मन्दिरको लगभग ५० प्रतिशत सामानहरू पुनः प्रयोग गर्न मिल्ने साइड इन्जिनियर प्रणाम होराले बताए । ‘मन्दिर भत्काउँदा सामानको विवरण पनिसंकलन गरिरहेको छ,’ उनले भने ।

महाभारतमा उल्लेखित मुख्य पात्रहरू कौरव र पाण्डवका पाँच दाजुभाइमा माहिला भीमसेनलाई व्यापारीहरूका आराध्यदेव पनि मानिन्छ । त्यसैले भीमसेनलाई काठमाडौं उपत्यकाका नेवारहरूले अत्यन्त श्रद्धासाथ पूजाआजा गर्दै आएका छन् । पाटनमा भीमसेनलाई मन्दिर बनाई वा परम्परागत सामुदायिक भवनमा स्थापित गर्ने प्रचलन छ ।

राजा सिद्धिनरसिंह मल्लले यो ठाउँमा भवन बनाएको सन् १६२७ को शिलालेखमा उल्लेख भएको पाइन्छ । कालान्तरमा त्यो आगोले ध्वस्त पारेपछि सन् १६८२ मा राजा श्रीनिवास मल्लको पालामा यो मन्दिर निर्माण भएको मन्दिरमा रहेको शिलालेखमा उल्लेख छ । मन्दिरमा भएको भीमसेनको हालको पूर्ण कदको रौद्रा रूपको मूर्ति भने पुरानो शान्तरूपी मूर्तिलाई विस्थापित गरी राजा योगनरेन्द्र मल्लले नेसं. ८२१ मा स्थापनागरेको जनश्रुति छ ।

प्रकाशित : श्रावण २४, २०७६ ०७:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्