भीमसेन मन्दिरको काम तीव्र

कान्तिपुर संवाददाता

काठमाडौँ — व्यापारीहरूको मुख्य आराध्य देवता मानिने ललितपुरको पाटनस्थित भीमसेन मन्दिरको पुनर्निर्माण कार्य सुरु भएको छ । २०७२ सालको भूकम्पले क्षति पुर्‍याएको विश्व सम्पदामा सूचीकृत पाटन भीमसेन मन्दिर मर्मतसम्भार गर्न नेपाल सरकार पुरातत्त्व विभागले भारतीय दूतावासलाई दिएको थियो ।

तर भूकम्प गएको ३ वर्ष बित्दा पनि दूतावासले निर्माण कार्य सुरु नगरेपछि स्थानीय व्यापारीहरूले नै ललितपुर उद्योग वाणिज्य संघको अगुवाइमा काम थालिएको हो । मगल टोल सुधार संघ तथा ललितपुर महानगरपालिको सहयोगमा भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समिति गठन गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा पुरातत्त्व विभाग एवं महानगरपालिका समेतको स्वीकृति प्राप्तिपश्चात्कार्य सुरु गरेको हो ।

मन्दिर कुनै पनि बेला भत्किन सक्ने अवस्थामा रहेकोले यथाशक्य चाँडो भत्काई पुनर्निर्माण गर्नुपर्ने भन्ने विज्ञहरूको सुझावलाई ध्यान दिँदै मन्दिर निर्माण गर्न समिति गठन गरेको उद्योग वाणिज्य संघका प्रशासन प्रमुख पुरुषोतम श्रेष्ठले बताए ।

भूकम्पबाट क्षतिग्रस्त भएको मन्दिरको गत असार १२ गतेका दिन क्षमापूजासहित गाईको पुच्छरमा बाँधिएको डोरीले भीमसेन मन्दिरको छानाको झिँगटी निकालेर मन्दिरको पुनर्निर्माणको कार्य सुरु गरिएको थियो । मन्दिरको क्षतिग्रस्त भएको भाग भत्काउन काम सुरु भएको छ । भीमसेन मन्दिर पुनर्निर्माण गर्न सुनलेपन कार्यबाहेक अनुमानित लागत ४ करोड ९३ लाख रहेको छ । पुनर्निर्माण कार्य सुरु गरेको मितिले दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने योजना भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिको छ ।

मन्दिर पुनर्निर्माणका लागि एभरेस्ट बैंक लिमिटेडका अध्यक्ष विके श्रेष्ठले १ करोड र ललितपुर महानगरपालिकाले १ करोड रुपैयाँ आर्थिक सहयोग गरेका छन् । त्यस्तै प्रदेश नम्बर ३ सरकारले ५० लाख रुपैयाँ सहयोग गरेको छ । त्यस्तै मन्दिरको सबैभन्दा माथिल्लो तलाको गजुर तथा धातुको छाना निकाल्ने तथा आवश्यक मर्मत पश्चात पुनः छाना छाउने कार्यमा नयाँ सामानको लागतबाहेक अन्य आवश्यक पर्ने श्रम तथा मर्मत खर्च मंगबजारकै स्थानीय कल्याणकृष्ण ताम्राकारले सहयोग गर्ने र मन्दिर मर्मतको क्रममा चाहिने डाँची इँटा दक्षिण बाराही ब्रिक फ्याक्ट्रीले उपलब्ध गराउने भएको छ ।

साथै मन्दिरको पुनर्निर्माणमा प्राविधिक सहयोग काठमाडौं उपत्यका संरक्षण कोष (केभीपीटी) गरेको ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले बताए । ‘भीमसेन व्यापारीहरूका आराध्यदेव हुन्,’ उनले भने, ‘त्यसैले आराध्यदेवको मन्दिर पुनर्निर्माण व्यापारीहरूको पहलमा नै सुरु भएको छ ।’

हाल मन्दिरको गजुर झिकी पुराना सामानहरूको संरक्षण गर्दै भत्काउने सुरु गरेको छ । मन्दिरमा प्रयोग भएका केही सामान पुनः प्रयोग गर्न मिल्ने भएकाले संकलन गरिरहेको छ । महर्जनका अनुसार मन्दिर भत्काए पनि त्यहाँ भएका भीमसेन मूर्ति भने नभत्काउने र पहिलेकै जगमा मन्दिर निर्माण गरिनेछ । मन्दिरको लगभग ५० प्रतिशत सामानहरू पुनः प्रयोग गर्न मिल्ने साइड इन्जिनियर प्रणाम होराले बताए । ‘मन्दिर भत्काउँदा सामानको विवरण पनिसंकलन गरिरहेको छ,’ उनले भने ।

महाभारतमा उल्लेखित मुख्य पात्रहरू कौरव र पाण्डवका पाँच दाजुभाइमा माहिला भीमसेनलाई व्यापारीहरूका आराध्यदेव पनि मानिन्छ । त्यसैले भीमसेनलाई काठमाडौं उपत्यकाका नेवारहरूले अत्यन्त श्रद्धासाथ पूजाआजा गर्दै आएका छन् । पाटनमा भीमसेनलाई मन्दिर बनाई वा परम्परागत सामुदायिक भवनमा स्थापित गर्ने प्रचलन छ ।

राजा सिद्धिनरसिंह मल्लले यो ठाउँमा भवन बनाएको सन् १६२७ को शिलालेखमा उल्लेख भएको पाइन्छ । कालान्तरमा त्यो आगोले ध्वस्त पारेपछि सन् १६८२ मा राजा श्रीनिवास मल्लको पालामा यो मन्दिर निर्माण भएको मन्दिरमा रहेको शिलालेखमा उल्लेख छ । मन्दिरमा भएको भीमसेनको हालको पूर्ण कदको रौद्रा रूपको मूर्ति भने पुरानो शान्तरूपी मूर्तिलाई विस्थापित गरी राजा योगनरेन्द्र मल्लले नेसं. ८२१ मा स्थापनागरेको जनश्रुति छ ।

प्रकाशित : श्रावण २४, २०७६ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्

आकाशेपानी संकलन गर्न सुझाव

कान्तिपुर संवाददाता

काठमाडौँ — पानीको मुहान सुक्दै जाँदा उपत्यकालगायत सबै क्षेत्रमा हाल खानेपानीको अभाव देखिएको छ । जलवायु परिवर्तनका कारणले वर्षाको प्रवृत्तिमा हुन गएको परिवर्तन र पानीको मुहान संरक्षणमा भएको बेवास्ताका कारण प्रकृतिका खोला र नदीको पानीमा आधारित खानेपानी प्रणालीबाट हिउँदमा नियमित पानी आपूर्ति हुन सकेको छैन ।

यस्तो अवस्थामा विज्ञहरू भने वर्षाको पानी व्यवस्थापनमा ध्यान दिए पानीको संकट नहुने बताउँछन् । ‘नेपालमा चार महिना वर्षाको पानी अधिक हुने, चार महिना सामान्य हुने र चार महिना अभावै हुने भएकाले वर्षाको पानी व्यवस्थापनमा ध्यान दिए पानीको संकट हुँदैन,’ इन्जिनियर रामदीप साहले भने ।

हिउँदको सुक्खा मौसममा नदीको मुहान क्षेत्रतिरबाटै ८० प्रतिशतभन्दा बढी पानी नदीमा बहन नपाई घरायसी प्रयोजनाका लागि प्रयोग हुन्छ । स्रोतका अनुसार हाल काठमाडौंमा खानेपानीको आपूर्ति जमिनमुनिको पानीबाट भइरहेको छ । जसले गर्दा उपत्यकाको जमिनमुनि रहेको पानीको सतह घटदै गइरहेको विज्ञहरूको अनुमान छ । वाग्मतीको यस जलाधार क्षेत्रमा पनि जमिनको सतहबाट जति मात्रामा जमिनमुनि प्राकृतिक ढंगले पानी पुनर्भरण भएर जान्छ ।

त्यसको चारदेखि पाँच गुणा बढी पानी बोरिङ, ट्युबवेल आदिका माध्यमबाट निकाल्ने गरेको छ । यसरी निकालेर प्रयोग भइसकेपछिको पानी र आकाशबाट परेको पानीको ठूलो हिस्सा ढलमा हाल्ने गरिएकोले जमिनभित्र सोसिएर जान पाउँदैन । अर्थात् पानी पुनर्भरण हुन सकेको छैन ।

यस प्रक्रियाबाट वाग्मती जलाधार क्षेत्रमा दुई दशकभित्रै जमिनमुनिको पानीको सतह ३५ मिटभन्दा तल झरिसकेको विभिन्न स्रोतहरूले उल्लेख गरेका छन् । वर्षातको पानी संकलन नगर्दा बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपको सामना गर्नुपरेको विदितै छ । यदि उपत्यकालगायत सबै क्षेत्रमा आकाशेपानी संकलन गर्ने हो भने पानीको अभावसँगै प्राकृतिक प्रकोप पनि नहुनेविज्ञको भनाइ छ ।

पानीको अभाव भइरहेको बेला सिँचाइ, खानेपानीको लागी वर्षातको पानी संकलन गर्नु आजको आवश्यकता हो । दैनिक उपभोगका लागि आकाशे पानी संकलन गर्ने र जमिनमुनिबाट पानी तान्ने क्रमलाई कम गरे यस्ता समस्याको अन्त्य हुन्छ । हाल जमिनमुनिको पानी तान्ने काम तीव्र गतिमा रहेकाले वाग्मती नदी तथा यसको जलाधार क्षेत्रमा जमिनमुनि पानी निर्भरण गर्ने जिम्मेवारी पनि हाम्रै हो । नेपालमा परम्परादेखि नै आकाशेपानी संकलन गरेर प्रयोग भइरहेका छन् । त्यसैले परम्परागत पानी संकलन गर्ने कार्यलाई नै प्रविधिको माध्यमबाटअगाडि बढाउनुपर्ने छ ।

आकाशेपानी संकलन तथा भूमिगतपानी पुनर्भरण
आकाशेपानी संकलन तथा भूमिगत पानी पुनर्भरण गर्न घरको छानामा परेको पानीलाई छानाको तल्लो भागमा राखिएको जस्ताको वा अन्य कुनै ढंगले बनाइएको खोल्सीजस्तो भागमार्फत पाइपमा हालिन्छ र सो पाइप लाइनबाट पहिलो पानी छान्ने फ्लस अर्थात् ‘फर्स्ट फ्लस’ प्रक्रियामा लगिन्छ ।

‘फर्स्ट फ्लस’ प्रक्रियाले छानाको पानीसँग बहेर आउने फोहोर हटाउँछ । त्यसपछिको पानीचाहिँ अर्को पाइपबाट बालुवा(गिटीजस्ता माध्यमबाट बनाइएको पानी छान्ने ‘फिल्ट्रेसन सिस्टम’ हुँदै पानी भण्डारण गरिने ट्यांकीमा लगिन्छ । उक्त ट्यांकीमा जम्मा भएको पानी घरायसी प्रयोजनका लागि प्रयोग गरिन्छ भने ट्यांकी भरिएर बढी भएको पानी पुनर्निर्भरण खाल्टो अर्थात् ‘रिचार्ज पिट’ मा जाने व्यवस्था मिलाइएको हुन्छ ।

यो रिचार्ज पिट कंक्रिटको रिङ हालेर वा वरिपरि इँटाको गाह्रो लगाएर बनाइएको हुन्छ । यसको छानोलाई ढाकिएको हुन्छ तर फेदको भागचाहिँ पानी छानिएर जमिनमा रसाउँदै जाने गरी बनाइएको हुन्छ । संकलित आकाशे पानीलाई सिधै पिउन भने मिल्दैन । पिउनका लागि पीयूष हालेर तथा विविध सेरामिक फिल्टरबाट प्रशोधन गरेर पिउनुपर्ने पानीविज्ञ प्रकाश अमात्यले बताए ।

प्रकाशित : श्रावण २४, २०७६ ०७:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्