बल्ल भयो थिमीको नगरसभा

कान्तिपुर संवाददाता

भक्तपुर — नियमित नगरसभा बस्न नसकी नीति तथा कार्यक्रम, बजेटविहीन हुँदै आएको मध्यपुर थिमि नगरपालिकाको गतिरोध अन्त्य भएको छ ।

आइतबार नगरपालिकाले आयोजना गरेको तेस्रो नगरसभा उद्घाटन कार्यक्रममा भने उपप्रमुख अञ्जनादेवी मधिकर्मी उपस्थित भइनन् । गत असार १८ गते विशेष नगरसभा बैठक बस्ने क्रममा उत्पन्न विवादले असार १० गतेभित्र ल्याइसक्नुपर्ने आर्थिक वर्ष ०७६/७७ का लागि नीति तथाकार्यक्रम र बजेटसमेत ल्याउन सकेको छैन ।

चालु आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रम र बजेटका लागि नगरप्रमुख मदनसुन्दर श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको नगर कार्यपालिकाको बसेको हो ।

विशेष नगरसभाका एजेन्डा सम्बोधन गरेपछि गतिरोध अन्त्य भए पनि नगरसभामा उपप्रमुख मधिकर्मी, वडा नम्बर २ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता राम थापा मगर, ३ नम्बर वडाका वडाध्यक्ष प्रेमबहादुर कुटुलगायत २२ नगरकार्यपालिका सदस्य उपस्थित भएनन् । यसैबीच बुधबारको कार्यपालिका बैठकको निर्णयमा उपप्रमुखसहित ८ जना कार्यपालिका सदस्यहरूले असहमति व्यक्त गरेका थिए । उनीहरूले बैठकको निर्णय पुस्तिकामा ‘नोट अफ डिसेन्ट’ लेखेर बैठकका निर्णयप्रति असहमति जनाएको छ ।

विशेष नगरसभा बैठकले पारित गरेका एजेन्डाहरू तोडमोड गरी कार्यपालिका बैठकमा ल्याएको भन्दै उपप्रमुख मधिकर्मी, वडाध्यक्ष थापामगर, कुटु, कार्यपालिका सदस्यहरू चन्द्रावती मिजार, सुजाता बाडे, अरुणा कारञ्जित, बिनु केसी र विष्णु परियारले बैठकको निर्णयप्रति असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेखेर हिंडेको उपप्रमुख मधिकर्मीले बताइन् ।

कार्यपालिकाको बैठकको बहुमत सदस्यले विशेष नगरसभा बैठकको एजेन्डा सम्बोधन गर्दै कर दस्तुरको दर परिमार्जन गर्दै एकीकृत सम्पत्तिकरको सट्टा सम्पत्तिकर मात्र लिने निर्णय गरेको नगरप्रमुख श्रेष्ठले बताए । त्यसैगरी दोस्रो नगरसभा बैठकले पारित गरेको कर तथा दस्तुरको दरसमेत संशोधन गर्दै जग्गाको मूल्यांकन गर्दा भूमिसुधार तथा मालपोत कार्यालयको स्वीकृत दरअनुसार गर्ने निर्णय गरेको छ । बैठकले भवन निर्माण मापदण्डसमेत परिमार्जन गरेको छ ।

यसअघि सडक अधिकार क्षेत्र (राइट अफ वे) कायम भएका सडकमा सेड ब्याकका रूपमा छोडिएको ५ फिट जग्गा बाटाका लागि छाडेर मात्र कम्पाउन्ड वाल लगाउनुपर्ने व्यवस्था सयौं नगरवासीले घरको निर्माण सम्पन्न लिएका थिएनन् । नयाँ व्यवस्थाले सडक अधिकार क्षेत्र कायम भएका सडकमा कम्पाउन्ड वाल लगाउँदा सेड ब्याक छोड्न नपर्ने नगरप्रमुख श्रेष्ठले बताए ।

बैठकले नगरपालिकाको सुरक्षित र हरियाली क्षेत्रमा बढदै गएको बस्ती विस्तारलाई व्यवस्थित गर्न जग्गा एकीकरण आयोजना लागू गर्ने निर्णयसमेत गरेको जनाएको छ, जसअनुसार काँडाडोल बुढाथोकी गाउँ, मनोहरा फाँट, कमेरोटार र सिन्टिटार बीच भागलगायतका सुरक्षित क्षेत्र रहेका स्थानमा आवश्यक बजेट विनियोजन गरी जग्गा एकीकरण आयोजना लागू गर्ने निर्णय गरेको जनाएको छ ।

प्रकाशित : श्रावण २०, २०७६ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्

जोखिम मोलेर मेला 

स्थानीय दनुवार समुदायले केही रकम लिएर नदी वारपार गराइदिने गर्छन्, तीर्थालुहरु भने नदी पार गर्ने क्रममा बगेमा मुक्ति मिल्ने भन्दै जोखिम उठाउँछन् । 
राजकुमार कार्की

सिन्धुली — बीपी राजमार्ग भएर भिमान हुँदै पूर्वतर्फ लागि कमला नदी किनारमा पुगेर भक्तजनहरू बाढीको पर्वाह नगरी हेलिने गर्छन् । चाहे पैदल होस् या सवारी साधनमा आए पनि कमलानदीमा बोलबम भन्दै हेलिनु तीर्थालुहरूको परीक्षाजस्तै हुने गरेको वर्षौंदेखि नदी वारपारमा सघाउने स्थानीय शम्भु दनुवारले सुनाए ।

दुधौली नगरपालिका २ हत्पते लङ्गुरखोलास्थित प्रसिद्ध धार्मिक तीर्थस्थल मधुगंगा महादेव मन्दिरमा पहेंलो रङको वस्त्र लगाएर साउन महिनाको सोमबार लाग्ने मेला भर्नका लागि खाली खुट्टा हिंडेर आउने श्रद्धालु भक्तजनको थामिनसक्नु भिड लाग्ने गरेको छ ।

मन्दिरमा प्रत्येक वर्ष साउन महिनाभरि मेला लाग्ने गरेको र उक्त मेला भर्न छिमेकी जिल्ला सर्लाही, महोत्तरी, सिरहा, रौतहट, बारा, पर्साका अतिरिक्त भारतका सीतामाढी, मधुबनीलगायत सहरबाट बोलबम भक्तजनको ओइरो लाग्ने गरेको स्थानीय बासिन्दा बताउँछन् । सोमबारको मेला भर्न झक्तजन आइतबारदेखि नै मन्दिरतर्फ लाग्ने गरेका छन् ।

कमला नदीमा निर्माणाधीन पक्की पुल ९ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । स्थानीय दनुवार समुदायले केही रकम लिएर नदी वारपार गराइदिन्छन् तर नदी पार गर्ने क्रममा बगेमा मुक्ति मिल्ने भन्दै तीर्थालुहरू हेलिने गरेको दनुवारले बताए । विगतको १० वर्ष अवधिमा ३० जनाको हाराहारीमा कमला नदी पार गर्दा बगाएर तीर्थालुको मृत्यु भएको छ ।

दुधौलीकै हर्साही खनियाँ जोड्ने कमला नदीमा पक्की पुल निर्माण भएको छ तर तीर्थालुहरू आफ्नो रुट परिवर्तन गर्दैनन् । वडा नं १ को झुंगा नजिकबाट तीर्थालुहरू पार गर्ने दशकौंदेखिको रुट भएकाले परिवर्तन नगर्ने भएकाले उनीहरू खुसी भएर मृत्युसँग जुध्दै मेला भर्न जाने गरेको अर्का स्थानीय रिजेन्द्र बरालले जनाए ।

उनका अनुसार मन्दिरमा साउन महिनाभरि मेला लाग्ने भए पनि सोमबारका दिन भक्तजनको उपस्थिति थामिनसक्नु हुने गरेको छ । शुद्ध मनले निराहार बसी महादेवको दर्शन गरेमा मनले चिताएको इच्छा पूरा हुने विश्वासले भक्तजनको भिड लाग्ने गरेको हो । मधुगंगा महादेव मन्दिरमा प्रत्येक वर्ष साउन महिनाभरिमा श्रद्धालु भक्तजन एक लाखको हाराहारीमा आउने गरेकामा यो वर्ष बढी नै आउने अनुमान मन्दिरका पुजारी बद्रीबहादुर मगर लगाउँछन् ।

सन्तान, धन, शिक्षा प्राप्ति र रोगव्याध हटाउनका लागि भक्तजन महादेवको दर्शन गर्न आउने गरेको तीनै पुजारी मगरले बताए । ‘महादेवप्रतिको विश्वासले नै भक्तजनको भिड लाग्ने गरेको हो,’ उनले थपे । श्रद्धालु भक्तजनहरूकै सहयोगबाट हालसम्म मन्दिर परिसरमा सात वटा धर्मशाला निर्माण भइसकेको छ । त्यसो त विकट जंगलको अनकन्टार कुनामा रहेको उक्त महादेव मन्दिरमा जान भने त्यति सजिलो छैन । तराईबाट आउने भक्तजनले दुधौली नगरपालिका ३ को झुंगासम्म मोटरबाट आएपछि कमला नदी पार गर्नुपर्छ ।

त्यसपछि झन्डै चार घण्टाको उकालो पैदल चढी हत्पते डाँडामा पुगेर फेरि दुई घण्टा ओरालो झरेपछि मात्रै मन्दिरमा पुग्न सकिने स्थानीय बासिन्दा बताउँछन् । नगरपालिकाले मन्दिरमा जानआउन सजिलोका लागि पक्की सिंढी निर्माण गरेकाले यस वर्षदेखि केही सहज हुनेछ । मन्दिरमा कच्ची सडक निर्माण गरेको भए पनि वर्षातले सबै बिगारिदिएकाले पैदल यात्राको विकल्प छैन । कमला नदीमा पुल नहुँदा तीर्थयात्रीको पार गर्ने क्रममा बगाएर प्रत्येक वर्ष मृत्यु हुने गरेको छ ।

साउन महिनामा लाग्ने बाबाधाम मेलाका कारण स्थानीय बासिन्दाको आयआर्जनमा समेत वृद्धि भएको छ । भक्तजन हिंड्ने बाटाको दायाँबायाँमा राखिएका नाङ्ले किराना पसल मेलाका कारण निकै फस्टाएका छन् । हत्पते प्राविधिक सहायक हेरम्बराज अधिकारी प्रत्येक वर्ष साउनमा मेलाको सुरुसँगै देखिने सयौं नाङ्ले पसलले मनग्ये आम्दानी गर्ने गरेको बताउँछन् । महादेव मन्दिरको पर्याप्त प्रचारप्रसार तथा व्यवस्थापनराम्रो हुन सके अझ बढी धार्मिक पर्यटक भित्र्याउन सकिने उनको ठम्याइ छ ।

महादेव मन्दिरमा भक्तजनले चढाउने गरेको भेटी बर्सेनि लाखौं रुपैयाँ संकलन हुने गरेको र उक्त भेटी रकमको समेत उचित सदुपयोग हुन नसकेको स्थानीयको भनाइ छ । मन्दिरमा चढाएको भेटीबाट संकलित रकम खोजी गरी त्यस क्षेत्रकै विकासमा खर्चिनुपर्ने उनीहरूको धारणा छ ।

प्रकाशित : श्रावण २०, २०७६ ०७:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्