कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मत्स्येन्द्रनाथ मन्दिर मर्मत ठप्प

मन्दिर बनाउन प्रेरा/थेगिम/तुल्सी जेभीले २०७३ असारमा २ वर्षमा पूरा गर्ने गरी भ्याटसहित ४ करोड ७४ लाख ४५ हजार १६ रूपैयाँमा ठेक्का पाएका थिए तर जिम्मा दिएको चार वर्ष बितिसक्दा पनि पहिलो तलासमेत निर्माण सम्पन्न भएको छैन । अहिले मत्स्येन्द्रनाथको मूर्ति मन्दिरपछाडिको डबलीमा टहरामा राखिएको छ । 
प्रशान्त माली

ललितपुर — ठेकेदारको गम्भीर लापरबाहीका कारणले भुकम्पले ध्वस्त बनेको बुङमतीस्थित रातो मत्स्येन्द्रनाथ मन्दिर पुनर्निर्माण अन्योलमा परेको छ । शिखर शैलीको मन्दिर पुनर्निर्माण ठप्प भएको ६ महिना बितिसकेको छ ।

मत्स्येन्द्रनाथ मन्दिर मर्मत ठप्प

मन्दिर बनाउन प्रेरा/थेगिम/तुल्सी जेभीले २०७३ असारमा २ वर्षमा पूरा गर्ने गरी भ्याटसहित ४ करोड ७४ लाख ४५ हजार १६ रुपैयाँमा ठेक्का पाएका थिए । तर, जिम्मा दिएको चार वर्ष बितिसक्दा पनि पहिलो तलासमेत निर्माण सम्पन्न भएको छैन । अहिले मत्स्येन्द्रनाथको मूर्ति मन्दिर पछाडिको डबलीमा टहरामा राखिएको छ ।


पुरातत्त्व विभागका अनुसार तीनै ठेकेदार कम्पनी मिलेर अर्का ठेकेदार सुवर्ण श्रेष्ठलाई मन्दिर बनाउन जिम्मा दिएका थिए । श्रीलंका दूतावासले सम्झौता बमोजिम काम अगाडि बढाउन श्रेष्ठको नाममा ८० लाख रुपैयाँ पेस्की दिए । श्रेष्ठले सन्तोषजनक ढंगबाट काम गर्न सकेन ।


श्रीलंका सरकार, युनेस्कोले सम्झौता बमोजिम काम गर्न पटकपटक ध्यानाकर्षण गराए । म्याद थप गरे । तैपनि उनले समयमा काम सम्पन्न गर्न सकेन । अनि कालोसूचीमा राखे । दूतावासका प्रतिनिधिले विभागसँग सल्लाह गरे । अन्तमा दूतावासले ठेकेदारका नाममा जिम्मा गरिदिएका पेस्की रकम बैंकसँग फिर्ता माग्ने निर्णय गरे ।


पुरातत्त्व विभागका सिनियर डिभिजन इन्जिनियर सम्पद घिमिरे भन्छन्, ‘दूतावासले रकम फिर्ता मागेपछि बैंकले तुरुन्त उपलब्ध गराउनुपर्छ । त्यति बेलासम्म श्रेष्ठले २० लाख रुपैयाँ खर्च गरिसकेको थियो । बैंकले रकम उपलब्ध गराउन श्रेष्ठले राखेको धितो लिलाम गर्न खोजे अनि उनले श्रीलंका दूतासवास, पुरातत्त्व विभाग, परराष्ट्र मन्त्रालयलाई विपक्ष बनाएर सर्वोच्चमा रिट दायर गरे ।’


उनका अनुसार श्रेष्ठले विभाग, प्रहरी र विभागका प्राविधिकलाई पनि विपक्षी बनाएर पाटन उच्च अदालतमा मुद्दा दायर गरेका छन् । ‘ठेकेदार छनोट श्रीलंका सरकारले गरेको हो । ठेकेदारलाई हामीले कारबाही गर्ने होइन । विभागले त डिजाइन, लागत इस्टिमेट मात्र तयार गरिदिएको हो,’ उनले भने, ‘जे गर्नुपर्ने हो, श्रीलंका सरकारले गर्छ ।’ विभागका अनुसार श्रेष्ठले कामदारलाई दिनुपर्ने रकम पनि उपलब्ध गराएका छैनन् । अहिले तुल्सी कन्स्ट्रक्सनका सञ्चालक रामप्रसाद बासीले मन्दिर बनाउने जिम्मा लिएका छन् तर काम भने सुरु गर्न सकेका छैनन् ।


मन्दिर पुनर्निर्माण निगरानी गर्न पुरातत्त्व विभाग, श्रीलका राजदूतावास, परराष्ट्र मन्त्रालय, संस्कृति मन्त्रालय, श्रीलंकास्थित मन्त्रालयका प्रतिनिधिसहितको कमिटी गठन छ । अहिले मन्दिरभित्र पानी जमेको छ । रातो मत्स्येन्द्रनाथका पुजारी नेमराज शाक्य भन्छन्, ‘मन्दिरभित्र जमेको पानी सरेर काठमा छोइसकेको छ । बाहिरका घामपानीले गर्दा बिग्रिन थालिसकेका छन् । कतिपयमा ढुसी परिसकेका छन् । पुरातत्त्वका इन्जिनियर आउजाउन गर्छन् । गुनासो गर्दा हुन्छ भनेर जान्छन् । कसैलाई मतलब छैन ।’


विभागका अनुसार श्रेष्ठ अनुभव भएका ठेकेदार होइनन् । मन्दिर बलियो जगले हुन्छ तर श्रेष्ठले जगमा दाँची इँटा प्रयोग गर्दा महँगो पर्ने भएर तराईबाट ल्याइएका जीबीयू नामक लोकल इँटा प्रयोग गरेका थिए । विभागको लगत इस्टिमेटमा उल्लेख भएअनुसार ३ फिटसम्म चुनासुर्की, स्टोन डस्ट र इँटा प्रयोग गरी पर्खाल लगाउनुपर्छ तर ठेकेदारले जगमा ढुंगा मात्र राखी देखिने ठाउँमा चुना र स्टोन डस्ट हालेका थिए ।


त्यसपछि स्थानीयले जग भत्काएका थिए । ३२ पानेजु संघका अध्यक्ष यज्ञरत्न शाक्यले ठेकेदारको मात्र नभई नियमन गर्ने सम्बन्धित निकायको कमजोरीका कारणले लापरबाही भएको बताए । ‘समयमा पुनर्निर्माण नहुँदा पुजारी जोखिम मोलेर टहरामा बस्न बाध्य छन्,’ उनले भने, ‘तर जति गुनासो गरे पनि पुजारीको आवाज सुनिएन ।’


विभागका इन्जिनियर घिमिरले विभागले विदेशी सहयोगमा धार्मिक पुरातात्त्विक महत्त्वको मन्दिर समयमा पुनर्निर्माण सम्पन्न गराउने उद्देश्यले फिल्डमा एक जना इन्जिनियर खटाइएको छ । ‘विभाग चुप लाएर बसेको छैन,’ उनले भने, ‘आफ्नो गतिमा अगाडि बढिरहेको छ ।’ मत्स्येन्द्रनाथ मन्दिर मात्र नभई मच्छिन्द्र बहालमा पनि लथालिंग अवस्थामा छ । मच्छिन्द्रनाथका बहुमूल्य गरगहना टहरामै राखिएका छन् ।

प्रकाशित : श्रावण १०, २०७६ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?