वर्षाकाे असर : ललितपुरका तीन गाउँपालिकामा यातायात अवरुद्ध, विद्यालय बन्द

कान्तिपुर संवाददाता

काठमाडौँ — निरन्तरकाे वर्षाका कारण ललितपुरको जनजीवन प्रभावित भएको छ । ठाउँठाउँमा गएको पहिरो हटाउन नसक्दा दक्षिण ललितपुरमा पर्ने तीन गाउँपालिकामा सडक अवरुद्ध भएर यातायात ठप्प भएको छ ।

पहिराका कारण यहाँका सबै विद्यालय हाल बिदा गरिएका छन् । कैयौँको घरमा पालिएका चौपायाको अवस्था एकदमै दयनीय बनेको छ । ललितपुर महानगरपालिका–२८ मा कर्मनाशा खोलाको पानीले प्रभाव पार्दा यहाँका सयौँ घर डुबानमा परेका छन् ।

यसैगरी ग्वार्को किष्ट अस्पताल नजिक पर्ने महानगरपालिका र महालक्ष्मी नगरपालिका जोड्ने पुलमा पानी बग्ने निरन्तरतामा बाधा पर्दा यहाँका ४०० घर डुबानमा परी करीब एक हजारदेखि एक हजार २०० मानिसको जीवन प्रभावित भएको महालक्ष्मी–४ का वडाध्यक्ष लक्ष्मण रोक्काले जानकारी दिए ।
गोदावरी नगरपालिकाभित्र कुनै मानवीय क्षति भएको छैन तर वडा नं ७ देवीचौरका १२ घरपरिवार पहिरोमा परी विस्थापित भएका छन् । देवीचौरका १२ घरपरिवारलाई त्यहाँ गएर खाद्यान्न वितरण गरिएको गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए।
दक्षिण ललितपुरका वनपाखामा डोजर लगाएर सडक निर्माण गरेका कारण यहाँ बढी क्षति भएको स्थानीयवासीको भनाइ छ । तीन दिनदेखि यातायात सडक अवरुद्ध भएका कारण टीकाभैरवदेखि तीनपाने भञ्ज्याङसम्म १३ किलोमिटरको सडक खुलाइएको वाग्मती गाउँपालिकाका वडाध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिए । लोप्चनले भने, 'यहाँ दुई जनाको मृत्यु भएको छ', सडक अवरुद्ध भएका कारण कति घर पहिरोमा परे भन्ने तथ्याङ्क सङ्कलन गर्न मिलेको छैन ।'उक्त गाउँपालिका वारपार गर्ने मुख्य सडक कान्ति लोकपथ पूरै ठप्प भएको लोप्चनले जानकारी दिए। हेलिकप्टरबाट बिरामी काठमाडौँ ल्याउनुपर्ने बाध्यता भएको लोप्चनले बताउँदै भने, 'सामाजिक सञ्जाललगायत टेलिफोन सेवा अवरुद्ध भइ ढुङ्गेयुगमा पुगेको महशुस भएको छ ।'
कोञ्ज्योसोम गाउँपालिकाको अवस्था अन्य सरह एकदमै नाजुक बनेको छ । यहाँ दुई जनाको मृत्यु भएको छ । तीन दिनदेखि अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेकाे गाउँपालिका अध्यक्ष गोपीलाल सिङ्तानले जानकारी दिए ।

महाँकाल गाउँपालिकाभित्र पानी र पहिरोका कारण तीन जनाको ज्यान गएको छ । सो गाउँपलिकाभित्रको विद्युत् प्रवाहमा समस्या परेका कारण कोहीकसैसँग सम्पर्क गर्न सकिएको छैन । महानगरीय प्रहरी वृत्त चापागाउँका प्रहरी उपरीक्षक रामकृष्ण सापकोटाका अनुसार दक्षिण ललितपुरका मानिस पैदलयात्रा गरी चापागाउँ बजार आउने क्रम दिनानुदिन बढेको छ । ललितपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रेमराज जोशीका अनुसार गोदावरीमा १२ थान पाल, कम्बल, भाँडाकुँडा र म्याट वितरण गरिएको छ । त्यसैगरी कोञ्ज्योसोममा ३० थान र महाँकाल अनि वाग्मतीमा २०–२० थान पाल, कम्बल, भाँडाकुँडा र म्याट वितरण गरिएको छ ।

प्रकाशित : असार ३१, २०७६ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्

बेंसीसहर–चामे सडकमा जताततै पहिरो

आश गुरुङ

लमजुङ — भीषण वर्षापछिको बाढीपहिरोले हिमाली जिल्ला मनाङको यात्रा असहज बनेको छ । मनाङबाट आउँदै गरेका र उता जाँदै गरेका यात्रु अलपत्र पर्ने गरेका छन् ।

सडकमा कतिबेला पहिरो खस्छ भन्ने यकिन नहुँदा डराइ–डराई यात्रा गर्नुपरेको यात्रु बताउँछन् । पहिरोले सडक बगाएको छ । कतिपय ठाउँमा सडक चिरैचिरा परेको छ । मर्स्याङदी गाउँपालिका–३ अर्खलेबेंसीमा पहिरोले सडक थुनिने स्थानीय जितबहादुर गुरुङले बताए । ‘पोहोर गएकै ठाउँमा यसपटक पनि पहिरो गइरहेको छ । यसले सधैं दुःख दिने भयो,’ उनले भने, ‘पोहोर साउनको पहिरोले मेरा माछा पोखरी पुर्‍यो । अहिले घर पुरिनै लागेको छ ।’

पानी पर्न थालेपछि बेंसीसहर–चामे सडक ठाउँठाउँमा अवरुद्ध हुने गरेको मर्स्याङदी–४ का वडाअध्यक्ष सुमन गुरुङले बताए । दुईवटा फडे निर्माण गरिएकोमा एउटा फडके पुर्दा वारपार गर्न नसकिएको मनाङको नासों गाउँपालिका–१ का अध्यक्ष झलकबहादुर गुरुङले बताए ।

नासों–१ धारापानीका सिंहबहादुर गुरुङका अनुसार पुराना पदमार्ग भत्किएका छन् । सवारी साधन चल्न थालेपछि स्थानीय उक्त सडक बाटो नै पैदल हिँड्न थालेको र पदमार्ग बनाउनतर्फ कसैको ध्यान नगएको उनले बताए ।

तालबाट च्याम्चेसम्म पुरानो पैदलमार्ग भएपनि त्यसमाथि र तल पुरानै पदमार्गमा सडक भएकाले समस्या परेको हो । ‘जरुरी काम भएर बेंसीसहर वा चामे जान समस्या छ । तिमाङको छहरामै समस्या छ । काठेपुल, कहिले के हुन्छ, थाहै छैन,’ उनले भने ।

मर्स्याङदी–५ घेर्मुका बृख गुरुङले रामबजार नजिकैका सडक चिरा परेकाले आवतजावत गर्न नसकिएको बताए । स्याँगेदेखि खुदीसम्मका ठाउँ–ठाउँमा पहिरो गएको र सडक चिरिएका कारण जोखिम रहेको उनले बताए ।

बेंसीसहर–चामे सडक खण्डमा पर्ने बेंसीसहर–६ बेलौतिबिसौना नजिकैको खरखरे भीर, मर्स्याङदीको अर्खलेबेंसी, घोप्टेभीर, काप्रेभीर, रामबजार, स्याँगे, शीरचौर, च्याम्चेलगायत ठाउँमा पहिरो चलेपछि मनाङबासी र उत्तरी लमजुङका स्थानीयलाई समस्या परेको छ । प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईका अनुसार वर्षापछि केही ठाउँमा पहिरो गएको र खुलाउँदै गरिएको बताए ।

प्रकाशित : असार ३१, २०७६ ०९:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्