जलमग्न र हिलाम्मे सडक, यात्रुलाई सास्ती

विमल खतिवडा

काठमाडौँ — पानी पर्नासाथ राजधानीका अधिकांश सडक जलमग्न बन्ने गरेका छन् । दैनिक सवारी साधनको भीड हुने सडकमै खोलो बग्ने गरेको छ । जलमग्न सडकका कारण सवारी आवागमनसमेत प्रभावित हुने गरेको छ । खोलो र सडक छुट्याउन हम्मे पर्छ ।

सडकमा खाल्डाखुल्डी धेरै छन् । पानी पर्नासाथ खाल्डाखुल्डी पानीले भरिन्छन् । जसले दुर्घटनाको जोखिम बढाएको छ ।

त्यति मात्र होइन, भित्री सडकमा झन् बढी समस्या छ । असार लागेपछि काम गर्ने प्रवृत्तिले गर्दा सडक हिलाम्य बनेका छन् । जथाभावी खनेर भद्रगोल बनाइएका सडकमा हिलोले गर्दा पैदल हिँड्न सकिँदैन । ‘कहिलेसम्म हिलोमा लडदै हिँड्ने हो ?,’ कपन भंगालकी मनमाया श्रेष्ठले भनिन्, ‘गाडीमा हिँडदा गाडी नै खोलामा पस्ला भन्ने डर, पैदल हिँडदा चिप्लिएर लडिएला भन्ने पीर छ ।’ यो समस्या उनको मात्र होइन । जब सडक निर्माणको काम थालियो, त्यो बेलादेखि यो क्षेत्रका स्थानीय समस्या झेल्दै आएका छन् । हिउँदमा धुलो र वर्षातमा हिलोले गर्दा समस्या छ । ठेक्काको समय सकिए पनि कामले गति लिन सकेको छैन ।

बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेल ठेकदारले समयमै काम नगर्दा समस्या भएको गुनासो गर्छन् । ‘चुनाव लड्नु अघिदेखि नै सडकको समस्या थियो,’ उनले भने, ‘अहिले पनि यही समस्या छ, ठेकदारलाई भन्दाभन्दा वाक्क भइसकेँ, समयमै काम नगर्दा सडक लथालिंग बनेका छन् ।’ उनका अनुसार अहिले आकाशेधारादेखि राममन्दिर खण्डमा सडक भत्काइएकाले समस्या छ । पानी पर्नासाथ डुबान सुरु हुन्छ । ‘चाँडो निर्माण सक्न खबरदारी गरिरहेका छौं,’ उनले भने, ‘ठेकदारले कसैलाई नटेर्ने र अटेर गर्दा ढिलाइ भएको हो ।’ पानी परिरहेकै बेला सडक खन्ने, ग्राभेल गर्ने प्रवृत्तिले गर्दा लथालिंग बनेको छ ।

यो समस्या उपत्यकाका अधिकांश सडकमा छ । चाबहिल–जोरपाटी–वाग्मती–साँखु खण्ड सडकको अहिले बेहाल छ । दृश्य हेर्दा धान रोप्ने खेतजस्तो लाग्छ । निर्माणको समयावधि सकिएको वर्ष दिन हुँदा बल्ल ५० प्रतिशत मात्र काम भएको छ । यो खण्डमा पानी पर्नासाथ जलमग्न हुन्छ । उपत्यका सडक विस्तार आयोजनाले उक्त सडक आगामी चैतसम्म निर्माण सम्पन्न हुने जनाएको छ । जहाँ पिच र ग्राभेल गरिएको छैन । त्यहाँ बढी समस्या छ । निर्माण व्यवसायीले सडकमा खाल्डाखुल्डी पुर्न भन्दै माटो बिछ्याउँदा हिलाम्य बन्ने गरेको छ । साना सवारीसाधन हिलोमा भासिने गरेका छन् ।

शंखरापुर नगरपालिकास्थित जहरसिंपौवाका शंकर तिवारीका अनुसार हिलाम्य सडकले गर्दा यात्रु बस चल्न छाडेका छन् । पिचसमेत उप्किएको छ । ‘सडकको अवस्था दयनीय छ, सबभन्दा बढी साँखु–खडेश्वर सडक खण्डमा छ,’ उनले भने, ‘सिन्धुपाल्चोकसँग जोडिएको यो सडकमा अहिले गाडी गुड्न छाडेका छन्, गाडी नै डुब्ने हिलो छ ।’ चाबहिल हुँदै यो सडक पुगिन्छ । ‘सांसद र जनप्रतिनिधिले गुनासो सुनेन,’ उनले भने, ‘समस्या जोरपाटी, थली, साँखुतिर पनि यस्तै छ ।’

स्तरोन्नतिको क्रममा रहेका सडक हिलाम्य छन् । लामो समयदेखि ठेक्का भएर पनि काम नसकिँदा वर्षातमा बढी समस्या हुने गरेको छ । तीव्र रूपमा सवारी गुडाउने प्रवृत्तिले पैदलयात्रु त्यसको सिकार बन्दै आएका छन् । पानी र हिलो उछिट्टिँदा त्यसको मार पैदल यात्रुले खेप्नुपर्ने बाध्यता छ, जसले गर्दा हिलाम्य बन्ने गरेका छन् । पिच गरेकै सडक जलमग्न हुने गरेको छ । पुतली सडक, सुन्धारा, चाबहिल, थापाथलीलगायत क्षेत्रको मुख्य सडक नै जलमग्न हुने गरेको छ ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माका अनुसार जथाभावी फोहोर फाल्दा नालीका प्वाल थुनिने गरेकाले सडक जलमग्न हुने गरेको छ । ‘समस्या सडकको भन्दा पनि सहरको हो,’ उनले भने, ‘जथाभावी प्लास्टिक फालिन्छ, त्यही प्लास्टिकले गर्दा नाली थुनिएर पानी सडकमा निस्कने गरेको छ ।’ फोहोर नै मुख्य समस्या रहेको दाबी उनको थियो ।

‘त्यस्तो भयावह स्थिति त छैन,’ उनले भने, ‘तर जथाभावी प्लास्टिकजन्य फोहोर फाल्न बन्द गरिए यस्तो समस्या आउने छैन ।’ वर्षातको समयमा सडक पिच गर्दा टिकाउ नहुने र अर्को वर्षात आउँदा बिग्रिएर हिलाम्य हुने गरेको छ । घाम लागेपछि भने जलमग्न सडक धुलाम्य बन्ने गरेका छन् ।

प्रकाशित : असार २५, २०७६ २०:४४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

जामको विकल्प किनारैकिनार

राजधानीको जाम कम गर्न वाग्मती, विष्णुमती, धोबीखोला र हनुमन्ते खोलाको किनारैकिनार सडक निर्माणाधीन छ । वाग्मतीलाई रिभर बेसिनका रूपमा विकास गर्ने, सहायक नदीलाई समेत जीवन्त बनाउने र किनारमा सडक बनाएर जाम घटाउने लक्ष्यअनुरुप काम भइरहेको छ ।
विमल खतिवडा

(काठमाडौं) — राजधानीका मुख्य सडकमा साँझ र बिहान सवारीसाधनको ताँती लाग्छ । सबैलाई बिनाजाम गन्तव्यमा पुग्ने हतारो हुन्छ । सवारी जामले वाक्क राजधानीवासीका लागि अहिले नदीकिनारका सडक उपयुक्त विकल्प बनेका छन् । वाग्मती, विष्णुमती, धोबीखोला र हनुमन्ते खोलाका दुवै किनारमा सडक निर्माणाधीन छन् ।

वाग्मती किनारमा गोकर्णदेखि बल्खुसम्म ३० किलोमिटर सडक बनाउन लागिएको छ । त्यसको ७५ प्रतिशत काम सकिइसकेको छ । बीच–बीचको खण्डमा काम भइरहेको छ । गोकर्णदेखि तिलगंगासम्म पहिलो खण्डको ७ किमिमा विवादका कारण काम रोकिएको छ । त्यहाँ पनि ७५ प्रतिशत काम सकिएको छ । गोकर्णदेखि सुन्दरीजलसम्म ९ किलोमिटर खण्डमा भने जग्गा अधिग्रहण भएकै छैन । बल्खु चोकदेखि कलंकी खसीबजारतर्फ बल्खु खोला किनारमा पनि एक किमी सडक निर्माण भइरहेको छ ।


धोबीखोलाको बुद्धनगरदेखि बूढानीलकण्ठको भंगालसम्म किनारमा १२ किमी सडक निर्माण गरिँदै छ । बुद्धनगरदेखि गोपीकृष्ण हलसम्मको ६ किमी दुवै किनारमा बनिसकेको छ । गोपीकृष्णदेखि भंगालसम्मको ६ किमि खण्डमा काम भइरहेको छ । अहिले गौशाला, चाबहिल निस्कनका लागि नयाँ बानेश्वर, बत्तीसपुतली गइरहनु पर्दैन, बुद्धनगरबाट धोबीखोलाको किनारैकिनार पुग्न सकिन्छ ।विष्णुमतीका दुवै किनारमा महादेवस्थान दोभानबाट वाग्मती कन्फलुन्ससम्म ६ किमि सडक पहिल्यै बनिसकेको छ । त्यसमा वाल लगाउने काम भइरहेको छ ।


हनुमन्ते खोला किनारमा कोटेश्वरको जामको समेत विकल्प हुने गरी सडक निर्माण सुरु गरिएको छ । जगातीदेखि बालकुमारीसम्म ९ किमि सडक चार वर्षभित्र बनाइसक्ने लक्ष्यअनुरूप काम भइरहेको छ ।अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख आशिष घिमिरेका अनुसार काठमाडौंको मुख्य नदी वाग्मतीलाई बेसिनका रूपमा विकास गर्ने र त्यसका सहायक नदीसमेतमा किनार सडक बनाउने योजनासहित काम भइरहेको छ । खोला किनारको सडक जामको विकल्प बनेको उनी बताउँछन् ।


काठमाडौंका लागि वाग्मती मुख्य नदी हो । यसैमा सहायक नदीहरू मिसिन्छन्– विष्णुमती, रुद्रमती, मनहरा, हनुमन्ते, नख्खु र इच्छामती । यी नदीका पनि सहायक नदी छन् । वाग्मती र यसका सहायक नदीलाई जीवन्तता दिने, स्वच्छ बनाएर पुरानै अवस्थामा फर्काउने र किनारैकिनार सडक बनाएर धेरै ठाउँको ट्राफिक जाम घटाउने उनले बताए । ‘वाग्मतीलाई हामीले बेसिनका रूपमा विकास गर्न खोजेका हौं,’ उनले भने, ‘नेपालमा ठूला ३ वटा कर्णाली, गण्डकी र कोसी बेसिन छन् ।’ उनका अनुसार वाग्मतीको विशेषता यो कुनै पनि ठूलो बेसिनमा मिसिँदैन ।


गोकर्णदेखि तिलगंगासम्म वाग्मती किनारमा ७ किमि सडकको काम जग्गाको विवादले दुई महिनादेखि रोकिएको छ । वाग्मती सुधार आयोजनाअन्तर्गत बजेट १ अर्ब ९३ करोड छ । ‘काम सुरु भएको २ वर्ष भयो, ७५ प्रतिशत सकिइसकेको छ,’ उनले भने, ‘अहिले गोकर्णदेखि गुहेश्वरी खण्डमा विवाद देखिएको छ, जसले गर्दा काम अगाडि बढ्न सकेको छैन ।’ उनले ६ महिना काम गर्न पाए सकिने दाबी गरे । ‘नदीको दायाँ/बायाँ ब्युटिफिकेसनको काम गरिराखेका छौं,’ उनले भने ।


उनका अनुसार दुवैतर्फ तटबन्ध बनाइएको छ । रेलिङ हालिएको छ । साइकल हिँड्ने ट्र्याक छ । फुटपाथ छ । बीचमा बगैंचा छ । ‘केही ठाउँमा आइल्यान्ड भनेर टापुहरू निकालिएको छ, त्यहाँ गार्डेन पार्क बनाइएको छ,’ उनले भने, ‘काम हुँदै थियो, स्थानीयले जग्गाको विवाद निकालेर काम रोकिएको छ ।’ समाधानको प्रयास भइरहेको उनले बताए । व्यक्तिको जग्गा खोलामा पसेको भए पनि वर्तमान कानुनले मुआब्जा र क्षतिपूर्ति दिन नसकिने उनले बताए । ‘दिनैपर्ने भए मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने हुन्छ, १ सय ८८ रोपनी जग्गामा विवाद देखिएको छ,’ उनले भने, ‘यो विवाद हाम्रो कार्यालयले मात्र समाधान गर्न सक्दैन । ०५८ सालदेखि देखिएको समस्या हो, अहिलेसम्म समाधान हुन सकेको छैन ।’


वाग्मती सुन्दरता आयोजना एसियाली विकास बैंकको ऋण सहयोगमा सुरु भएको हो । अन्तिम फिनिसिङ नभएकाले आकर्षक नदेखिएको उनले बताए । सुन्दरीजलबाट गोकर्ण ९ किमि छ । ‘यो खण्डमा जग्गा अधिग्रहण गर्नै सकिएको छैन,’ उनले भने । गोकर्णदेखि तिलगंगासम्मको खण्ड बनिसकेपछि थलीबाट आउँदा जोरपाटी, बौद्ध, चाबहिल यी सबै छलेर जोरपाटीबाट किनारैकिनार मित्रपार्क पुग्न सकिन्छ । अर्कोपट्टि जोरपाटीबाट छिरेर पेप्सीकोला काँडाघारी हुँदै जडीबुटी पुगिनेछ । वाग्मतीकै अवधारणाले हनुमन्तेमा सडक निर्माण सुरु गरिएको हो ।


‘सबैभन्दा जाम हुने कोटेश्वर खण्डमा पनि विकल्प निस्कँदै छ,’ उनले भने, ‘भक्तपुरको राधेराधेबाट हनुमन्तेको किनार हुँदै बालकुमारीसम्म सडक बन्दै छ, यो बनेपछि जाम घट्नेछ ।’ भक्तपुरतर्फ हनुमन्तेमा ५ किलोमिटर सडकको ठेक्का भएको छ । त्यसमध्येको २ किलोमिटर क्षेत्रमा काम भइरहेको छ । राधेराधेबाट जगातीतर्फ २ किमि खण्डको काम सुरु भएकै छैन । ‘पूर्वतिर भक्तपुर हुँदै सवारी साधन जाने भएकाले चाप बढी हुन्छ, जाम पनि धेरै हुन्छ,’ उनले भने, ‘किनार सडक बनिसकेपछि यो समस्या कम हुनेछ ।’ घिमिरेका अनुसार चार वर्षभित्र यो योजना सम्पन्न भइसक्नेछ । नदीको सिमानाबाट दायाँ/बायाँ २०/२० मिटर जग्गा अधिग्रहण गरिनेछ । ‘डेढ मिटरको फुटपाथ हुन्छ, ८ मिटरको सडक,’ उनले भने, ‘५० सेन्टिमिटरको पानी बग्ने ठाउँ हुन्छ ।’


उनका अनुसार १० मिटरको हरित क्षेत्र बन्नेछ । साइकल ट्र्याक, फुटपाथ र बगैंचा बनाइने उनले सुनाए । ‘राम्रोसँग ३/३ वटा ठूला गाडी वारपार गर्न सक्नेछन्,’ उनले भने, ‘जाम छल्न भक्तपुरबाट किनारैकिनार पसियो भने कोटेश्वरको जाममा परिँदैन, एकैचोटि बालकुमारी निस्किन्छ ।’ गत वर्षबाट काम सुरु भएको हो । चारवटा प्याकेजमा काम हुनेछ । यसका लागि करिब ५ अर्ब छुटयाइएको उनले बताए ।


सडक विभागका महानिर्देशक केशवकुमार शर्मा खोला किनारका सडक जामको विकल्प भएको बताउँछन् । ‘जामले सबैलाई समस्या भएको छ, त्यही भएर सबैले खुला तर जाम नहुने बाटो खोज्छन्,’ उनले भने, ‘त्यसका लागि चक्रपथ नै घुम्नुपर्छ भन्ने भएन, नदी किनारैकिनार बिनाजाम गन्तव्यमा पुग्न सकिन्छ । करिडोर निर्माणलाई प्राथमकितामा राखेर काम गर्नुपर्‍यो ।’ कतै उच्चस्तरीय वाग्मती सभ्यताले गर्ने, कतै सहरी विकास विभागले गर्ने, कतै नगरपालिकाले गर्ने भन्दा पनि एकीकृत रूपमा काम गर्दा राम्रो र चाँडो सकिने उनले बताए ।


अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका इन्जिनियर विनोद पुडासैनीका अनुसार विष्णुमती किनारको सडकमा ढल हाल्ने र वाल लगाउने काम भइरहेको छ । सडक पहिल्यै निर्माण भएको हो । महादेवस्थान दोभानबाट वाग्मती कन्फलुन्ससम्म ६ किमि छ ।

‘करिडोर सडक जताबाट आए पनि मुख्य सडकमा पुगेर जोडिन्छ,’ उनले भने, ‘कतै राम्रो भएको छ, कतै जग्गा अभावमा सडक साँघुरो बनेको छ, जग्गा अधिग्रहण गरेर फराकिलो बनाउन सकिए राम्रो हुने थियो ।’ कतै जग्गाको कारण त कतै सुकुम्बासी बस्तीले गर्दा समस्या भएको छ ।


पूर्वाधार विज्ञ किशोर थापा किनार सडक सहरभित्र एक ठाउँबाट एक अर्को ठाउँ पुग्ने छोटो रुट भएको बताउँछन् । ‘करिडोरको डिजाइन मिलाउँदा व्यवस्थापन पनि राम्रो हुनुपर्छ, पुलहरू भएको ठाउँमा पुलमुनिबाट सडक लग्न सकियो भने माथि जाम हुँदैन,’ उनले भने, ‘पुलमै गएर ठोक्कियो भने त्यही क्षेत्रमा जाम हुन्छ ।’ उनका अनुसार मैतीदेवीमा यो समस्या छ ।


मैतीदेवीस्थित धोबीखोला किनारमा पूर्वपट्टिको पुलको छेउमा तलबाट जान मिल्दैन । पुलमाथिबाटै जानुपर्ने भएकाले जाम हुन्छ । ‘सडकको पूरै नेटवर्क हेर्नुपर्छ, एक–दुईवटा टुक्रा सडक हेरेर हुँदैन,’ उनले भने, ‘काठमाडौंमा करिडोर सडक आवश्यक हो तर व्यवस्थित बनाउन जरुरी छ ।’


उनका अनुसार यसले एउटा बस्ती र खोलाको बीचमा सीमाको काम गर्छ । किनारहरू अतिक्रमण हुनबाट रोक्छ । ‘खोला र बस्ती छुट्याउँछ, बाढी आउँदा सडकमा पानी चढन थालेपछि स्थानीय सचेत हुन्छन्,’ उनले भने, ‘नदी किनारमा हिँडडुल गर्न सहज हुन्छ ।’ उनले कुनै पनि कुराको समाधान निकाल्न खोज्दा त्यसको राम्रो व्यवस्थापन गर्न जरुरी रहेको बताए ।

प्रकाशित : असार २०, २०७६ ०९:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्