२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

एउटै गाउँमा बढ्यो आत्महत्या

ललितपुर — असार ७ गते राति माल्टाका ११ वर्षीय समीर लुङवाले घरको भुइतलामा डोरीले झुन्डिएर आत्महत्या गरे । असोजमा माल्टाकै ४६ वर्षीय रवीन्द्र मगर टहरामा झुन्डिए । त्यसको सातापछि २७ वर्षीया आशा आलेमगरले झुन्डिएर आत्महत्या गरिन् ।

वाग्मती गाउँपालिका–२ माल्टामा झुन्डिएर आत्महत्या गर्ने यी तीनजना मात्र होइनन् । त्यसअघि ७५ वर्षीय बद्रीप्रसाद रोयला र एक २६ वर्षीय महिलाले झुन्डिएर आत्महत्या गरेका थिए ।


महांकाल गाउँपालिकाका व्यथा पनि उस्तै छ । गुम्बाडाँडामा भाडामा बस्दै आएकी २६ वर्षीया जानु शर्माले २१ महिनाकी छोरीलाई कोठाको दलिनमा झुन्ड्याएपछि आफूले पनि आत्महत्या गरिन् । शर्माकी श्रीमान्ले कान्छी श्रीमती लिएर बसेको ३ महिना बितेपछि घटना घटेको थियो । चापागाउँकी १५ वर्षीया सुनिता घलनले घरमा सलको पासो लगाई झुन्डिएर आत्महत्या गरेकी थिइन् । ललितपुर दक्षिण भेगमा आत्महत्या गर्नेको संख्या कहालीलाग्दो छ ।


महानगरीय प्रहरी परिसर जावलाखेलका अनुसार प्रतिमहिना ५ जनाले आत्महत्या गर्ने गरेका छन् । परिसरका डीएसपी नारायणप्रसाद चिमोरिया भन्छन्, ‘प्रहरीको दृष्टिकोणबाट हेर्दा आत्महत्या गर्न प्रेरित गर्ने वातावरण समाजले बनाइरहेको हुन्छ । आत्महत्या गर्नुको पछाडि व्यक्तिगत कारण मात्र नभई सामाजिक कारण पनि हुन्छ ।’ उनका अनुसार सामाजिक दबाबका कारण मान्छेले एक्लो महसुस गर्छ । ‘अनि समस्याको समाधान खोज्दाखोज्दै अन्तमा आत्महत्या रोज्छ । सामाजले बलियो हौसला दिने हो भने आत्महत्या गर्नेको संख्यामा कमी आउँछ,’ उनले भने, ‘परीक्षा फेल भएर विद्यार्थीले आत्महत्या गर्ने होइनन् । परिवार र समाजको कारणले हो ।’


प्रहरी तथ्यांकअनुसार यो वर्ष ७८ जनाले झुन्डिएर आत्महत्या गरेका छन् । जसमध्ये विष सेवन गर्ने २१ र औजार प्रयोग गर्ने २ जना छन् । साउनमा ८, भदौमा ५, असोज १०, कात्तिकमा ६, मंसिरमा ५, पुसमा ८, माघमा ९, फागुनमा ७, चैतमा ७ र वैशाखमा १३ जनाले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार ०७४/७५ मा दर्ता भएका ९ सय ४५ घटनामध्ये ९३ वटा आत्महत्याका छन् । ०७३/७४ मा पनि ९१ र ०७२/७३ मा ७७ जनाले आत्महत्या गरेका छन् । उमेर समूहका हिसाबले १६ वर्षदेखि २५ वर्ष उमेरका मानिसले धेरै आत्महत्या गरेका छन् ।


प्रहरीको अध्ययन प्रतिवेदनअनुसार आत्महत्या वृद्धि हुनुमा पारिवारिक कलह मुख्य कारक रहेको छ । ४ वर्षको अवधिमा मृत्यु रोज्नेमध्ये १ सय १४ जना पारिवारिक कलहका कारण आत्महत्या गर्न बाध्य भएको प्रतिवेदनमा उल्लेख छ । ८३ जनाले पढाइलगायतमा असफलता भोगेको कारण, ४ वर्षको अवधिमा ६८ जना प्रेममा असफल भएका कारण आत्महत्या गरेको प्रहरी रेकर्ड छ ।


४३ जनाले मानसिक रोग, ३८ जनाले आर्थिक कारण आत्महत्या गरेका छन् । २६ जनाले सामाजिक समस्याका कारण मृत्यु रोजेका छन् । दर्ता भएका आत्महत्याका घटनामध्ये सबभन्दा बढी जनजातिका छन् । ४ वर्षको अवधिमा एक सय ९२ जना जनजातिले आत्महत्या भएका छन् । यो अवधिमा ७३ जना क्षेत्री र ५३ जना ब्रहृमाण समुदायका छन् । २७ जना दलित समुदाय छन् ।


आत्महत्या गर्नेमा भने महिलाभन्दा पुरुष बढी देखिन्छ । डीएसपी चिमोरिया भन्छन्, ‘दक्षिण भेगमा आत्महत्याका घटना बढी हुने गरेकाले प्रहरीले मनोवैज्ञानिकहरूलाई साथमा लिएर गाउँमै पुगेर परामर्श दिन थालेको छ ।’ उनले प्रहरीले चलाएको आत्महत्या न्यूनीकरण अभियानले धेरैलाई बचाएको दाबी गरे ।

प्रकाशित : असार २४, २०७६ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?