कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नगरसभामा आएनन् मेयर 

(भक्तपुर) — मध्यपुर थिमि नगरपालिकाका जनप्रतिनिधिबीचको विवाद चुलिएको छ । विवादका बीच नगरप्रमुख मदनसुन्दर श्रेष्ठको अनुपस्थितिमा उपप्रमुख अञ्जनादेवी मधिकर्मीको अध्यक्षतामा विशेष नगरसभा गरिएको छ । नगरसभामा प्रमुख प्रशासकीय अधिकृत महेश बराल पनि उपस्थित भएनन् ।

प्रशासकीय अधिकृत बरालको स्थानमा बैठकको अध्यक्षता गरेकी उपप्रमुख मधिकर्मीले प्रशासन महाशाखा प्रमुख केशव सिलवाललाई सचिवको जिम्मेवारी दिएकी थिइन् ।


नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर २ का वडाध्यक्ष राम थापामगरका अनुसार एक महिनाअघि उपप्रमुख, वडाध्यक्षलगायत ३५ जनप्रतिनिधिले नगरप्रमुख श्रेष्ठलाई विशेष नगरसभाको माग गर्दै प्रेस विज्ञप्ति दिएका थिए ।


‘नगरसभाको माग गरेको मितिको अन्तिम दिन बुधबार बिहान ११ बजे नगरप्रमुख श्रेष्ठले नगरसभाको तयारी गरेका थिए,’ उनले भने, ‘११ः०३ बजे मोबाइलमा २ बजेलाई नगरसभा सरेको भन्ने म्यासेज आयो । २ बजे पनि नगरप्रमुख श्रेष्ठ उपस्थित नभएपछि नगरसभा गर्न बाध्य भएको हो ।’ यता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बरालले विशेष नगरसभा बैठक अर्को सूचना जारी नभएसम्मको लागि स्थगित भएको सूचना प्रकाशन गरेको छ । बरालले हस्ताक्षर गरेको सूचनामा ‘नगरप्रमुख श्रेष्ठले प्रदेश नम्बर ३, प्रदेशसभाद्वारा जारी नगरसभा सञ्चालन (कार्यविधि) सम्बन्धी ऐन, २०७५ को दफा १९ बमोजिमको परिस्थिति उत्पन्न भई नियमित रूपमा सञ्चालन गर्न बाधा पर्ने भनी नगरप्रमुखले सोही दफाले दिएको अधिकार प्रयोग गरी अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेको व्यहोरा नगरसभासदहरूमा जानकारी गराइन्छ’ उल्लेख गरिएको छ । नगरप्रमुख श्रेष्ठले बैठकको एजेन्डामा सहमति नभएकाले बैठक स्थगित गरेको बताए । उनले बैठकको एजेन्डाको विषयमा बुधबार दिउँसो १ बजेसम्म उपप्रमुखसहितको टोलीसँग घनिभूत छलफल भए पनि सहमति हुन नसकेपछि अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेको जानकारी दिए ।


बहुमत रहेको कांग्रेसका तर्फबाट निर्वाचित भएका जनप्रतिनिधिको भनाइलाई बेवास्ता गर्दै पेलेरै काम गर्दै आएको र आफ्नो मनपरी तन्त्रलाई बढवा दिएका कारण विशेष नगरसभा आहृवान गर्नुपरेको उपप्रमुख मधिकर्मीले बताइन् । नगरसभा समापनसँगै कांग्रेसबाट प्रतिनिधित्व गरेका नगरपालिकाका बहुमत जनप्रतिनिधिले पत्रकार सम्मेलन गर्दै विशेष नगरसभाले पारित गरेका विषयले वैधानिकता पाउनुपर्ने बताएका छन् । विशेष नगरसभाले वैधानिकता नपाए नगरपालिका र वडाका सम्पूर्ण कार्यालयमा तालाबन्दी गरी आन्दोलन गर्ने नगरपालिकाका प्रवक्ता मगरले बताए । नगरप्रमुख श्रेष्ठले भने आफूले विशेष नगरसभा स्थगित गरेको र उपप्रमुखको अध्यक्षतामा बसेको नगरसभाले वैधानिकता नपाउने बताएका छन् ।


९ वटा वडा रहेको मध्यपुर थिमि नगरपालिकामा उपप्रमुख मधिकर्मीसहित कांग्रेसका तर्फबाट ६ वटा वडामा वडाध्यक्ष र नेकपाका तर्फबाट मेयरसहित एक वडाध्यक्ष र नेमकिपाको एकसँगै एक स्वतन्त्र वडा अध्यक्ष विजयी भएका थिए ।


उपप्रमुखको अध्यक्षतामा बसेको विशेष नगरसभामा नेकपाबाट निर्वाचित वडा नम्बर ५ का वडाध्यक्ष अमृतमान श्रेष्ठ र नेमकिपाबाट निर्वाचित ८ नम्बर वडाका वडाध्यक्ष देवकृष्ण मोय श्रेष्ठसमेत उपस्थित भएनन् । बैठकले नगरपालिकाले ऐनविपरीत लिँदै आएको एकीकृत सम्पत्ति कर खारेज गरी सम्पत्ति कर मात्र लिने निर्णय गरेको छ । विभिन्न करका दर समायोजन गर्नुका साथै भूमि करका लागि जग्गाको मूल्यांकन मालपोत कार्यालयको मूल्यांकनलाई लागू गर्ने निर्णय गरेको छ । यसअघि नगरपालिकाले छुट्टै मूल्यांकन गर्दा सर्वसाधारणले गत वर्षको तुलनामा तीनगुणा बढी भूमि कर तिर्नुपर्ने अवस्था रहेको नगरपालिकाका प्रवक्ता थापामगरले बताए । नगरसभाले भवन निर्माणसम्बन्धी मापदण्डको बाटोतर्फको सेडब्याक छाडेर मात्र घर कम्पाउन्ड लगाउन पाउने व्यवस्था हाललाई लागू नगर्ने निर्णय गरेको छ । यसले घर निर्माण सम्पन्न गरी सम्पन्नको प्रमाणपत्र लिन बाँकी नगरवासीलाई राहत मिल्ने अपेक्षा गरिएको उनले बताए ।


नगरसभाले नगरप्रमुखले एकतर्फी ढंगमा तोक आदेशमा योजना सञ्चालन गरेको आरोप लगाउँदै ती योजनामा गरिएका भुक्तानीका सम्बन्धमा छानबिन गर्न ५ सदस्ययीय समिति गठन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी नगरप्रमुख श्रेष्ठले गरेको कमेरोटार जग्गा एकीकरण आयोजनाको आयोजना प्रमुख नियुक्ति बदर गरी नगरपालिकाका योजना महाशाखा प्रमुखलाई नै जिम्मेवारी दिने निर्णयसमेत गरेको छ । नगरपालिकाका विभिन्न ऐनसमेत पारित गरेको छ । सभाले नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल सञ्चालन ऐन २०७६, कृषि तथा सहकारी ऐन २०७६, खेलकुद समिति ऐन २०७६ लगायत ऐन पारित गरेको हो ।

प्रकाशित : असार १९, २०७६ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?