तीव्र गतिमा सवारी हाँक्ने नियन्त्रणमा
भक्तपुर — महानगरीय प्रहरी परिसर भक्तपुरले तीव्र गतिमा सवारी हाँक्ने १८ चालकलाई नियन्त्रणमा लिएको छ । अरनिको राजमार्ग सडक खण्डअन्तर्गत मनोहरा पुलदेखि काभ्रे साँगा चोक सडक खण्डमा दुर्घटना न्यूनीकरणका लागि प्रहरीले आइतबारबाट सवारीसाधनको अधिकतम गति प्रतिघण्टा ५० किलोमिटर निर्धारण गरेको छ ।
सडक सुरक्षा विशेष कार्यक्रमको पहिलो दिन नै तीव्र गतिमा सवारी हाँक्ने ४ जिप कार, ९ मोटरसाइकल, ५ ट्रक/टिपर गरी १८ चालकलाई नियन्त्रणमा लिइएको भक्तपुर प्रहरी प्रमुख एसपी सबिन प्रधानले बताए ।
मनोहरा पुल–सूर्यविनायक ६ लेन र सूर्यविनायक–साँगा चोकसम्मको २ लेन सडकमा सवारी दुर्घटना बढेकाले दुर्घटना न्यूनीकरणका लागि सवारी गतिको सीमा तय गरिएको प्रहरीले जनाएको छ । प्रधानका अनुसार मनोहरा पुलदेखि साँगा चोकको मुख्य ट्र्याकमा सवारी गुडाउनेले अधिकतम ५० को गतिमा गुडाउनुपर्नेछ ।
सवारीको गति जाँचका लागि १ रडारगन र १ लेजरगनको ल्याएको उनले बताए । तोकिएको गतिभन्दा बढी गतिमा सवारीसाधन चलाएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद १० को दफा १६४ (६) बमोजिम कारबाही हुने प्रहरीले जानकारी दिएको छ ।
उक्त दफामा चालक अनुमतिपत्र, बाटो इजाजतपत्र (रुट परमिट) वा यातायात सञ्चालन अनुमतिपत्र खारेज गर्न सक्ने उल्लेख छ ।
प्रकाशित : असार २, २०७६ ०७:२७