कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हनुमन्तेमा काम रोकियो

भक्तपुर — हनुमन्ते खोला करिडोर निर्माणको काम स्थानीयबासीले बिहीबारदेखि रोकिदिएका छन् । खोलाको बहाव क्षेत्र र सीमांकन विवाद टुंगो नलगाई करिडोर बनाउन लागिएपछि स्थानीयले काम रोकेका हुन् ।

मध्यपुरथिमि नगरपालिका ३, ४ र सूर्यविनायक नगरपालिका ३ को सीमा सुन्दरबस्ती क्षेत्रमा दुई नगरका बासिन्दाबीच करिब ८ वर्षदेखि हनुमन्तेको बहाब कतापट्टि फर्काउने भन्ने विवाद छ ।


निर्माण कम्पनीले त्यसको टुंगो नलगाई विवादित क्षेत्रमा करिडोर खोल्न बिहीबार डोजर चलाएको थियो । करिडोर बनाउने नाममा नदी क्षेत्रको अध्ययन तथा सीमांकन नगरी प्रशासनको आडमा ठेकेदार कम्पनीले बहाब परिवर्तन गर्न डोजर लगाएको स्थानीय विजयकृष्ण श्रेष्ठले बताए ।


राधेराधेदेखि खोलाको बहाबअनुसार करिडोर निर्माण गर्दै आएको कम्पनीले विवादित क्षेत्रमा बहाब परिवर्तन गर्ने अभिप्रायले डोजर चलाएको उनको आरोप छ । एक पक्षले २०२१ सालको नापीअनुसार खोलाको बहाब परिवर्तन गर्ने तर्क राख्दै आएका छन् भने, अर्का पक्ष साविक बगेको खोलालाई हनुमन्ते खोलाको सार्वजनिक जग्गा मान्दै आएका छन् ।


कतिपयले खोलाको जग्गालाई अस्थायी लालपुर्जामा परिणत गराइसकेका छन् । २०२१ सालमा खोलाको नाममा भएको कतिपय जग्गा अतिक्रमण भइसकेको छ । खोला अतिक्रमण तथा खोला साँघुरिँदै जाँदा प्रत्येक वर्षातमा भक्तपुर डुबानमा पर्ने समस्या ताजा छ । जग्गा एकीकरणको प्रक्रिया नभइसकेको अवस्थामा अर्को पक्षले डोजर चलाउनु दुर्भाग्य भएको स्थानीय बताउँछन् ।

प्रकाशित : जेष्ठ ३१, २०७६ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?