कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाटन दरबारमा बिचौलियाको रजाइँ

पसल कवलमा जति भाडा उठे पनि गुठी संस्थानले भने एक पैसो पाउँदैन । गुठीकै कर्मचारी मिलेकाले पुरानो सम्झौता खारेज हुन सकेन
प्रशान्त माली

ललितपुर — ललितपुरको मुख्य व्यापारिक केन्द्र पाटन दरबार क्षेत्रमा रहेको पसल कवलमा बिचौलियाको राज छ । गुठी संस्थानको स्वामित्वमा रहेका ४ वटा पसल कवल गोदावरीका एक व्यक्तिले एक दशकदेखि भाडामा सञ्चालन गरिरहेका छन् ।

सम्झौता अवधि सकिसके पनि एकतर्फी रूपमा सञ्चालन गर्दै आइरहेका पाटन दरबार क्षेत्रका पसल कवल । तस्बिर : प्रशान्त/कान्तिपुर

उनले भाडा भने संस्थानलाई तिर्दैनन् । प्रत्येक महिना बिचौलियालाई बुझाउँछन् । उनले धेरैपटक संस्थानसँग सिधै सम्झौता गरेर भाडामा लिन खोजे । तर, संस्थानका कर्मचारीले उनको प्रस्ताव सुनेनन् ।


उनी भन्छन्, ‘४ वटा पसल कवल भाडामा लिएबापत् बिचौलियालाई मासिक ४० हजार रुपैयाँ तिर्नुपर्छ । तर, बिचौलियाले भने संस्थानलाई १० रुपैयाँ पनि बुझाउँदैनन् ।’ उनले बिचौलिया र कर्मचारीको मिलेमतोमा राज्यलाई घाटा भइरहेको आरोप लगाए । ‘राज्यका माथिल्लो निकायमा बस्दै आइरहेकाहरूले यसबारेमा सत्यतथ्य छानबिन गर्नुपर्‍यो,’ उनले भने ।


पाटनका अर्का एक व्यक्तिले पनि दरबार क्षेत्रमा ३ वटा पसल कवल सञ्चालन गरेबापत् बिचौलियालाई मासिक ३० हजार रुपैयाँ बुझाउँदै आइरहेका छन् । उनीहरूजस्तै दरबार क्षेत्रमा पसल कवल भाडामा लिएबापत् बिचौलियलाई मासिक १० देखि ५० हजार रुपैयाँ बुझाउने थुप्रै छन् ।


बिचौलियाले भने गुठी संस्थान ललितपुर शाखा कार्यालयलाई भने मासिक १ सय रुपैयाँ पनि बुझाउँदैन । बिचौलियाले भाडामा लगाएर वर्षौंदेखि अस्वाभाविक रूपमा मुनाफा कमाउँदै आएको बारेमा संस्थानलाई जानकारी छ । संस्थानको लगतमा पनि बहालवालामध्ये धेरैजसोले आफूले लिएको पसल कवल अरूलाई बढी रकममा भाडामा दिएको कुरा उल्लेख छ । तर पनि संस्थानका कर्मचारी भने मौन छन् ।


नयाँ आर्थिक वर्ष सुरु हुन लागेसँगै बिचौलियले भाडा बढाउन थालेपछि बहालमा बस्नेहरू थप मर्कामा परेको उनीहरूको गुनासो छ । बहालमा बस्ने एक व्यक्तिका अनुसार संस्थान र बिचौलियाबीचको मिलेमतोका कारणले सरकारलाई अत्यन्त कम राजस्व भित्रिने गरेको छ । ‘बिचौलियाले प्रतिस्क्वयार फिट १ सयदेखि डेढ सय रुपैयाँका दरले भाडा लिने गरेका छन्,’ ती व्यक्तिले भने, ‘तर, सरकारलाई भने मासिक दस रुपैयाँ पनि तिर्दैनन् ।’


दरबार क्षेत्रमा संस्थानको स्वामित्वमा ५६ वटा पसल कवल छन् । यीमध्ये अधिकांशले अरूसँग बढी भाडा लिएर सञ्चालन गर्न दिँदै आइरहेका छन् । ५१ जनाले भने संस्थानसँग भएको सम्झौताअनुसार वर्षौंदेखि भाडा बुझाएका छैनन् । संस्थानका अनुसार २०५४ सम्ममा पाँच जनाले मात्र संस्थानसँग सम्झौता गरेका छन् ।


संस्थानको लागतमा उल्लेख भएअनुसार एउटा पसल कवलको भाडा वार्षिक १ सयदेखि एक हजार ८ सय २८ रुपैयाँ मात्र छ । संस्थानले वर्षौंदेखि वार्षिक एक सय, २ सय ५०, तीन सय, पाँच सय रुपैयाँमा ५६ वटा कवल भाडामा दिइरहेको छ । अत्यन्त न्युन भाडा भए पनि बहालवालाहरूले संस्थानलाई भाडा नबुझाएको १० वर्ष बितिसकेको छ ।


गुठी संस्थान ललितपुर शाखा कार्यालय प्रमुख शैलेन्द्र पौडेलले बहालवालालाई भाडा बुझाउन, नयाँ सम्झौता गर्न वर्षौंदेखि पटकपटक लिखित तथा मौखिक ताकेता गरे पनि अटेर गरेको बताए । ‘अझै पनि बहालवालालाई सम्पर्कमा आउन आहृवान गर्छु,’ उनले भने, ‘नयाँ व्यक्तिसँग नयाँ सम्झौता गर्न तयारी भइरहेको छ ।’ कानुनी प्रावधानअनुसार सम्झौता अवधि सकिइसकेकाले संस्थानले एकतर्फी रूपमा ठेक्का रद्द गर्न सक्छ ।


तर, संस्थानले सम्झौता रद्द गरी चलनचल्तीको भाडा उठाउनेतर्फ कुनै प्रक्रिया सुरु गरेको छैन । संस्थानले सार्वजनिक सूचना प्रकाशित गरी लिलाम बढाबढमा आफ्ना पसल कबल भाडामा लगाउन सक्छ । यस्ता कुनै कदम नचाली संस्थान टुलुटुल हेरेर बसेका आरोप छ । पसल कवलहरू दरबारको ठूला घण्टामुनि, हरिशंकर मन्दिर र मंगलबजार चारदोबाटो चोक वरिपरि छन् ।


नेपाल भाषामा मंगलबजार क्षेत्रका पसल कवलहरूलाई ‘देखःपसः’ भनिन्छ । देखः पसः मा अन्य स्थानमा हत्तपत्त नपाइने जडिबुटी, आयुर्वेदिक र नेपाली औषधि बिक्रीवितरण हुन्छ । संस्थानको लगतअनुसार पसल कवल भाडामा लिनेहरू पाटन तः झ्याः टोल, पूर्णचण्डी, हौगल, भीमसेनस्थान, मत्स्येन्द्रबहाल, मंगलबजार, सौगल, कुपण्डोल, च्यासल, सुन्धारा, ञाछेँलगायत स्थानका छन् । संस्थानले बहालवालाबाट १७ लाख ९६ हजार ४ सय ६३ भन्दा बढी रुपैयाँ असुल गर्न बाँकी छ । प्रकाशित : जेष्ठ २८, २०७६ ०८:०८

प्रतिक्रिया
पठाउनुहोस्

गोकर्णेश्वरमा सुनको छाना

माया श्रेष्ठ

काठमाडौँ — लिच्छविकालीन गोकर्णेश्वर महादेव मन्दिरको छाना सुनले छाउने काम धमाधम भइरहेको छ । स्थानीयवासीको सक्रियतामा घरघरबाट तामाका भाडा संकलन गरेर मन्दिरको छानामा तामाको पातामा २३ किलो सुनको लेपन लगाएर छाउन सुरु गरिएको गोकर्णेश्वर नगरपालिका वार्ड नम्बर ४ का अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिए । 

श्रेष्ठका अनुसार पशुपतिनाथ, मनकामना मन्दिरको जस्तो पानी नचुहिने छाना छाउन १७ करोड रुपैयाँ बराबरको लागत लाग्ने अनुमान छ । ०७२ सालको भूकम्पले मन्दिरलाई जीर्ण भएपछि झिँगटीको सट्टामा सुनको जलप भएको छानाले प्रतिस्थापन गर्न लागिएको हो । मन्दिर गोकर्णेश्वर–४ मा अवस्थित छ । ‘पुरातात्त्विक महत्त्वका काठ अनि दुई तलाको झिँगटीको छाना जीर्ण बन्यो,’ उनले भने, मन्दिरको दुरावस्था हेरेर हामी बस्न सकेनौँ अनि जीर्णोद्धार अभियान सुरु गर्‍यौँ ।’

गोकर्णेश्वरको स्थापना सत्ययुगमा ब्रह्माले गरेका हुँदा यस स्थानमा आई पितृलाई तर्पण, दान र पिण्ड दिनाले अगति परेका पितृ तर्छन् भन्ने धार्मिक विश्वास छ । गोकर्णेश्वर नगरपालिकाको धार्मिक तथा पर्यटकीय विकासका लागि गोकर्णेश्वर महादेव मन्दिरले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास अध्यक्ष श्रेष्ठको छ ।

सुनको जलपसहितको छाना फेर्न स्थानीयको सहयोगमा महायज्ञ सञ्चालन गरिएको जानकारी श्री गोकर्णेश्वर महादेव मन्दिर छाना निर्माण तथा सर्वाङ्गीण विकास समन्वय समितिका अध्यक्ष कोमलबहादुर विष्टले दिए । उनका अनुसार महायज्ञबाट तीन करोड रकम संकलन गरिएको थियो । ‘स्थानीयवासीले घरघरबाट तामाका अम्खरा मन्दिरका लागि सहयोग गरे,’ उनले भने, ‘तामाका भाँडावाट मात्रै ४६ लाख उठ्यो ।’ यस्तै नगरपालिकाले १ करोड रुपैयाँ सहयोग गरेको छ ।

‘सुनको लेपनसहितको २ तलामा छाना लगाउन १६ करोड लाग्छ ’ उनले भने, ‘४ करोड ५० लाख त उठ्यो अन्य खर्च जुटाउन सहयोगी हातको आवश्यकता छ ।’ धार्मिक तथा पर्यटकीय क्षेत्र राज्यको मात्रै नभएर सबैको साझा सम्पत्ति भएकाले संरक्षण र दायित्व नागरिकको पनि भएको उनले बताए । तीनतले प्यागोडा शैलीको मन्दिरमा दुई तला छानामा सुनले छाउने काम ०७७ असारसम्ममा सकिने समितिका सचिव इर्श्वर पाण्डे बताउँछन् ।

‘पहिलो र दोस्रो तलामा झल्लर, कुपा र म्हुठल तलामा राख्ने काम सकियो,’ उनले भने, ‘दोस्रो तलामा २४ सय स्क्वायर फिटमध्ये १७ सय २८ स्क्वायर फिटमा सुनको लेपनको छाना राखिएको छ ।’

गोकर्णेश्वर महादेवको मन्दिरको जीर्णोद्धार पुरातत्त्व विभागले पनि गरीरहेको छ । मन्दिरको छानामा तामाको पातामा सुनको लेपन लगाउने कामबाहेक अन्य मर्मत सम्भार कार्य पुरातत्त्व विभागले गर्ने भएको छ ।

विभागले मन्दिरको जोर्णोद्धार गर्नका लागि ४ करोड ७३ लाख ९५ हजार सहयोग गर्ने श्री गोकर्णेश्वर महादेव मन्दिर छाना निर्माण तथा सर्वाङ्गीण विकास समन्वय समितिका अध्यक्ष कोमलबहादुर विष्टले बताए । पुरातत्त्व विभागले आर्थिक वर्ष २०७५ र ०७६ मा १ करोड बजेट विनियोजन गरेको छ ।

प्रकाशित : जेष्ठ २८, २०७६ ०८:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×