कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ब्रुमरले बढारे पनि धूलो उस्तै

सीमा तामाङ

काठमाडौँ — स्वच्छ हावा कहिले खान पाइने ? मास्कबिना कहिले हिँड्ने सकिने ? यस्ता प्रश्न काठमाडौंमा ब्रुमर नआउँदा पनि थिए र अहिले पनि छन् । ब्रुमर आएपछि काठमाडौंका धूलो कम हुन्छ भन्ने अपेक्षा आममानिसकोे थियो, जो सत्य हुन सकिरहेको छैन । काठमाडौं महानगरपालिकाले दैनिक रूपमा ब्रुमर चलाएर सडक सफा गरिरहे पनि निर्माण स्थलबाट आएका धूलो, हिलो, माटो र सवारीसाधनले भित्र्याउने फोहोरका कारण सडक सफा देखिएको छैन । 

ब्रुमरले बढारे पनि धूलो उस्तै

महानगरको तथ्याकंअनुसार काठमाडौंका सडकबाट हाल दैनिक ८ देखि १० टन र धेरै धूलो भएमा १५ देखि १६ टन धूलो संकलन हुन्छ । रातभरि ब्रुमरले सफा गरे पनि भोलिपल्ट सडकमा मेलम्चीको योजना र ढल खन्ने कामबाट अवस्था उस्तै हुने गरेको महानगर वातावरण व्यवस्थापन शाखाका प्रमुख हरिकुमार श्रेष्ठले बताए ।


‘जब सडक भत्काउने तथा बनाउने कामको अन्त्य हुन्छ, तब मात्र ब्रुमरको प्रभाव काठमाडौंको सडकमा देखिन्छ,’ उनले भने ।

काठमाडौंको करिब १४ सय किलोमिटरमध्ये १२ सय किलोमिटरभन्दा बढी सडक ८ मिटरभन्दा कम चौडाका छन् । त्यसैले साना सडकको जिम्मेवारी महानगरको हुने हुँदा अधिकांश सडक सफाइको जिम्मेवारी पनि महानगरकै हुने सडक विभागले जनाएको छ । विभागका अनुसार ८ मिटरभन्दा बढी चौडा भएको काठमाडौंको सडकमा रहेका खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ ।


सञ्चालनमा ल्याइएको झन्डै ४५ दिन बित्दा महानगरले ब्रुमरका लागि २ लाख ५० हजारभन्दा बढीकोे इन्धन किनेको छ । यसबाहेक जनशक्ति परिचालनबापत् पनि ठूलै खर्च गर्दै आएको छ । उपत्यका सडक वरपरको खुला सतहयुक्त क्षेत्रलाई बन्द गरिएको छैन । सडकका खाल्डाखुल्डी पुर्ने, ढल फुट्नेजस्ता समस्या समाधान भएको छैन ।


वर्षयाममा पानीको निकासा राम्रो छैन, जसले गर्दा सानोठूलो जस्तो पानी परे पनि माटो मिसिएको ढल सडकभरि बग्छ र घाम लाग्नसाथ सडकभरि धूलो देखिन्छ । कहिलेकाहीँ त सडकमै खोला बग्छ पानीको । घरका कोठाकोठा सडकमा बगेको पानीले भरिन्छ ।


ब्रुमर सञ्चालन भए पनि त्यसको प्रयोग भएको पैदलयात्रीले अनुभव गर्न सकेका छैनन् । एक झोक्का हावा वा एक झर पानी पर्यो भने सडकमा धूलो उस्तै देखिन्छ । ब्रमरले सफा गर्‍यो कि गरेन त्यसको मूल्याकंन गर्न सकिँदैन । तर, महानगरले ब्रुमर ल्याएपछि सडकमा धूलो कम भएको सरकारको दाबी छ ।


प्रधानमन्त्री केपी ओलीका अनुसार सडकमा मानिस मास्क नलगाई हिँड्न थालेका छन् । गत २३ गते बसेको संसदको बैठकमा ब्रुमर ल्याएपछि सडकमा मानिस मास्क नलगाई हिँड्न थालेको उनले दाबी गरे । तर महानगरपालिका भने काठमाडौं धूलोमुक्त हुन अझै समय लाग्ने बताउँछ । सडक र सडक पेटीभरि निर्माण सामग्री थुपारिएकाले धूलो फैलिरहेको महानगरका प्रवक्ता ईश्वरमान डंगोलको भनाइ छ ।


‘हाम्रो सडक ब्रुमरमैत्री छैन, सडकमा कुचो लगाउँदा कुचो नै टिक्दैन,’ उनले भने, ‘अहिले पनि दुइटा ब्रुमर मर्मतका लागि राखिएको छ ।’ सडक बगरजस्तो हुने, कुनाकाप्चामा धूलो थुप्रने कारणले ब्रुमरले राम्रो ‘परफर्मेन्स’ देखाउन नसकेको निष्कर्ष उनको छ ।

प्रकाशित : जेष्ठ १, २०७६ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?