अस्तव्यस्त चाँगुनारायण- उपत्यका - कान्तिपुर समाचार

अस्तव्यस्त चाँगुनारायण

विश्व सम्पदामा सूचीकृत चाँगुनारायण मन्दिर अवलोकन तथा पूजाआजाका लागि आउने आन्तरिक तथा बाह्य पर्यटक दैनिक दुर्गन्ध खेपिरहेका छन् ।
कान्तिपुर संवाददाता

भक्तपुर — शौचालयमा टेक्ने ठाउँ छैन । दुर्गन्ध उत्तिकै छ । पानी छैन । ढोकामा चुकुलसमेत लाग्दैन । चाँगुनारायण मन्दिर अवलोकनका लागि दैनिक एक सयदेखि डेढ सय बाह्य पर्यटक आउँछन् । आन्तरिक पर्यटकको पनि त्यत्ति नै आगमन हुने गर्दछ । तर, विश्व सम्पदामा सूचीकृत चाँगुनारायण मन्दिर अवलोकन तथा पूजाआजाका लागि आउने आन्तरिक तथा बाह्य पर्यटक दैनिक दुर्गन्ध खेपिरहेका छन् ।

मन्दिर परिसरमा राखिएको डस्टबिन फोहोरले भरिएको छ । त्यसलाई उठाइएको छैन । भूकम्पले क्षतिग्रस्त मन्दिर परिसरको चौघेरा सत्तल, डस्टबिन भरिएर भुइँमा खसेको फोहोर देखाउँदै पर्यटकले दुखेसो पोख्ने गरेको पथ प्रदर्शक रमेश ढकाल बताउँछन् ।

‘पर्यटन क्षेत्रमा काम गरेको २१ वर्ष भयो । चाँगुनारायण मन्दिरमा जस्तो फोहोर र अव्यवस्थित कहीँ देखिनँ,’ उनले भने, ‘प्रत्येक पर्यटकले मन्दिरबाट फर्किंदा संरक्षण नभएको गुनासो सुनाउँछन् ।’ विश्व प्रसिद्ध मन्दिरप्रति स्थानीय बासिन्दा, स्थानीय जनप्रतिनिधि, सम्बन्धित सरोकारवालाले संरक्षणमा चासो नदेखाएको भन्दै पर्यटक दुःखी हुने गरेको उनी बताउँछन् ।

भूकम्पका कारण क्षतिग्रस्त चाँगुनारायण मन्दिरको जीर्णोद्धार भयो । तर, मन्दिर परिसरको क्षतिग्रस्त अस्तव्यस्त चौघेरा सत्तलले भने पुनर्निर्माणको झल्को दिँदैन । सत्तलको तला छोट्याएर जस्तापाताले छोपिएको छ । केही भाग भने अझै भग्नावशेष अवस्थामा गुज्रिएको छ । सत्तलको भग्नावशेष घाँसेझाडीमा परिणत छ ।

काठ यत्रतत्र छोडिएका छन् । कतिपय कलात्मक बुट्टेझ्याललगायत काठ कुहिएर खेर जाने अवस्थामा पुगेको छ । स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय (पुरातत्त्व विभाग) भक्तपुरले भने चौघेरा सत्तल पुनर्निर्माणका लागि निर्माण कम्पनी छनोट भइसकेको जनाएको छ ।


त्यसैगरी, मन्दिर उक्लिने खुड्किलो, सडक, सडकपेटी निजी आवास निर्माणका लागि थुपारिएको निर्माण सामग्रीले ढाकेको छ । पर्यटक पैदल मार्गमा यत्रतत्र थुपारिएका फलामको डन्डी, सिमेन्ट, बालुवा, इँटा, ढुंगाले साँघुरिएको छ । यसरी यत्रतत्र थुपारिएका निर्माण सामग्रीमा अल्झिएर लड्नेसम्मको जोखिम हुँदा सम्बन्धित निकाय मूकदर्शक बनेको अवस्था छ । सडक पेटीमै हस्तकलाका सामग्री प्रदर्शन गर्ने, खुल्ला पसल राख्ने लगायत कारणले मन्दिर अवलोकनका लागि आउने पर्यटक, दर्शनार्थीमा नकारात्मक असर पर्ने गरेको पर्यटन व्यवसायी बताउँछन् ।


चाँगुनारायण बसपार्कसमेत व्यवस्थित छैन । बसपार्क क्षेत्र अस्तव्यस्त छ । बसपार्क सँगैको सडक किनारामा फोहोर थुपारिएको छ । हप्तौंसम्म फोहोर उठेको छैन । मन्दिर क्षेत्रको अध्ययन, अवलोकनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि सम्बन्धित निकायले केही सेवासुविधाको व्यवस्था नगरेको मन्दिरका पुजारी महेन्द्र भँडेलले बताए । ‘शौचालयको बिजोक छ, मन्दिर परिसरमा हात धुनेसमेत पानी छैन,’ उनले भने ।


चाँगुनारायण नगरपालिका ४ वडा कार्यालयले भने मन्दिर क्षेत्र सरसफाइका लागि ४ जना कामदार राखेको जनाएको छ । मन्दिर चौघेरा सत्तलभित्र १, प्रवेशद्धार देखि गणेश मन्दिरसम्म १ र गणेश मन्दिरदेखि पार्कसम्म २ जना सरसफाइका लागि कर्मचारी राखेको वडाध्यक्ष बुद्धिलाल महर्जनले बताए । मन्दिर क्षेत्रमा संकलन भएको फोहोर उठाउन वडामा ट्रक नभएको उनले बताए ।

फोहोर व्यवस्थापनका लागि पत्राचार गरे पनि नगरपालिकाको बेवास्ताका कारण मन्दिर क्षेत्रको फोहोर अलपत्र परेको उनको गुनासो छ । चाँगुनारायण नगरपालिकाले मन्दिर अवलोकनका लागि आउने सार्क र चीनका पर्यटकलाई २ सय रुपैयाँ तथा अन्य राष्ट्रका पर्यटकले ३ सय रुपैयाँ प्रवेश शुल्क लिने गरेको छ ।

प्रकाशित : चैत्र १५, २०७५ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्

सानैमा विवाह पछि पछुतो

पढ्ने, लेख्ने र अभिभावकको संरक्षणमा हुर्किने उमेरमा बिहे गरेका अधिकांश जोडी खुसी छैनन् । धेरैको सम्बन्ध त वर्ष दिन नहुँदै टुट्ने गरेको छ ।
कान्तिपुर संवाददाता

सिन्धुलीमाढी — भनिन्छ, विवाहपछि नयाँ जीवन सुरु हुन्छ । तर सुनीता तामाङको हकमा भने विवाहपछि जीवन नै सकियो । भागी विवाह गरेकी सुनीता बिहे लगत्तै गर्भवती भइन् । २०७४ साल जेठ ९ गते दिउँसो उनले घरमै छोरी त जन्माइन् । तर आफू भने बाँच्न सकिनन् ।

सिन्धुलीको कमलामाई नगरपालिका २ भद्रकालीकी सुनीताले १९ वर्षमा विवाह गरेकी थिइन् । शरीर परिपक्व नभई सुत्केरी हुँदा रगत धेरै बगेका कारण उनको ज्यान गएको डाक्टरको भनाइ छ । बिहे भएको डेढ वर्ष नपुग्दै सुनीता सधैंका लागि बिदा भइन् । सुनीतासँग जीवनभर खुसका साथ जिउने सपना बुनेका उनका श्रीमान अरुण तामाङको सपना टुट्यो ।

कनपा ४ देउरालीकी मनीषा लामिछाने श्रीमानले साथ छोडेपछि माइतीमै छिन् । उनी अहिले २१ वर्ष टेकिन् । मनीषाको विवाह १७ वर्षमा भएको थियो । १० कक्षामा पढदा १८ वर्षका सञ्जय अधिकारीसँग भागी विवाह गरेकी मनीषाको वैवाहिक जीवन एक वर्ष पनि टिकेन । ‘बचपनमा गरेको माया परिवर्तन हुँदो रहेछ ।

विवाहको ६ महिना नबित्दै तिमीसँग जिन्दगी बिताउन सक्दिनँ । म अर्कै केटीलाई मन पराउँछु । यो घरबाट गइहाल भनेर झगडा गर्ने, पिट्ने गर्न थालेपछि घर छाडेँ,’ उनले सञ्जयसँग सम्बन्ध टुट्नुको पीडा सुनाइन् । दुई जनाबीचको सम्बन्ध सकियो । सञ्जय स्वतन्त्र भए । तर मनीषालाई थप जिम्मेवारी आइलाग्यो । सुत्केरी भएको २१ दिनमै घर छोडेकी मनीषाले सञ्जयलाई त्यसपछि भेट्नसमेत पाएकी छैनन् । धेरैपटक फोन गर्दा पनि सञ्जयको फोन नउठेपछि उनी सञ्जयको घर त गइन् । सञ्जयलाई भने भेट्न सकिनन् । सञ्जय एक वर्षदेखि घर आएका छैनन् ।

‘साथीहरूसँग भारत गयो रे भन्ने सुनिन्छ, तर कता गयो अत्तोपत्तो छैन,’ उनी भन्छिन् । मनीषा अहिले माइतै बसेर छोरा हुर्काइरहेकी छन् । ‘श्रीमानसँग सम्बन्ध बिग्रेर माइती बस्दा झन् समस्या हुँदो रहेछ,’ उनले दुःखेसो पोखिन्, ‘छरछिमेकले पनि फलानोकी छोरी आफैं बिहे गरेर गाकी, घर गर्न नसकेर माइत बस्छे भनेर कुरा काट्छन् । चाँडै नै विवाह गरेकाले दुःख आइलाग्यो, यस्तो पीडा कसैले पनि भोग्न नपरोस्,’ उनले भनिन् ।


कनपा ४ कै कुमार थापा र पारु थापाले पनि सानै उमेरमा विवाह गरे । अहिले २० वर्षीय कुमार र पारु विवाह गर्दा १७ वर्षकी थिए । कक्षा ११ मा पढदा उनीहरूले आफूखुसी विवाह गरेका हुन् । विवाहपछि दुवै जनाले पढाइ छोडे । कुमार अहिले ज्यामी काम गर्छन् । पारु घरमा खान बनाउने, लुगा धुने, घाँस काट्ने, दाउरा जाने काम गर्छिन् । पारुलाई नयाँ–नयाँ डिजाइनका लुगा लगाउन, घुम्न मन पर्छ । तर बुहारी भएपछि उनले चाहेजस्तो लगाउन, घुम्न पाएकी छैनन् ।

कुमार पारुलाई खुसी पार्न त खोज्छन् । तर पुर्‍याउन सक्दैनन् । पढाइ नसकी विवाह गरेकोमा कुमारलाई पश्चाताप छ । विवाहपछि पारुको समेत जिम्मेवारी थपिएकाले उनले पढाइलाई निरन्तरता दिन सकेनन् । उनी भन्छन्, ‘पढाइ पूरा गरेको भए राम्रो जागिर पाउँथे । जागिर खाएर पारुका रहरहरू सजिलै पूरा गर्न सक्ने थिए । तर के गर्नु त्यति बेला बुद्धि बिग्रियो । अहिले पछुतो लाग्छ ।’


सानै उमेरमा विवाह गरेकोमा कुमारलाई मात्र हैन पारुलाई समेत पछुतो छ । यसैगरी कनपा १४ चन्दपुरकी सरस्वती खडकालाई भने श्रीमानले बीचमै साथ छोडे । नेपाल प्रहरीमा जागिरे उनका श्रीमान् परिवारको कुरा सुनेर उनीबाट टाढिए । श्रीमान् र घर परिवारको साथ नपाउँदा उनलाई अहिले जीवन चलाउनै मुस्किल परेको छ ।

यी सबै छिटै विवाह गर्नुको परिणाम रहेको उनको बुझाइ छ । सरस्वती कक्षा ११ मा पढदा १८ वर्षकी थिइन् । त्यही बेला उनको मागी विवाह भएको हो । उनका एक छोरी र एक छोरा छन् । श्रीमान् घर आउन छोडे । घर व्यवहार चलाउन र छोराछोरीको पढाइ खर्च दिनु त परै जाओस्, फोन गर्नसमेत छोडेपछि उनी अहिले माइती नजिकै छुट्टै घर बनाएर बसेकी छन् । आफ्नो र छोराछोरीको सम्पूर्ण जिम्मेवारी सरस्वतीकै काँधमा छ ।

‘घर परिवारले कहिल्यै राम्रो गरेनन् । देख्यो कि टोकसो सुरु हुन्थ्यो । सानै भएकाले मैले पनि बुहारीको भूमिका पूरा गर्न जानिनँ । अनि परिवारको प्यारो हुन सकिनँ,’ उनले भनिन्, ‘पढाइ पूरा गर्न पाएको भए सानोतिनो जागिर गरेर घरव्यवहार टार्न र छोराछोरी पढाउन सहज हुने थियो ।’ विवाह भएको १ वर्ष हुनै नपाई छोरी जन्मिई । अर्को वर्ष छोरा जन्मियो । छोरा छोरीलाई हुर्काउनुपर्ने बाध्यताले पढाइ पनि रोकियो । सरस्वतीले अहिले माइतीको जग्गामा खेतीपाती गरेर छोराछोरी मुस्किलले पढाइरहेको बताइन् ।


यी त प्रतिनिधि पात्र मात्रै हुन् । पढ्ने, लेख्ने र अभिभावकको संरक्षणमा हुर्किनुपर्ने उमेरमा बिहे गरेका अधिकांश जोडी खुसी छैनन् । कोही शारीरिक रूपमा त कोही मानसिक रूपमा विक्षिप्त छन् । धेरैको सम्बन्ध त वर्ष दिन नहुँदै टुट्ने गरेको छ ।


बढ्दै छन् किशोरी आमा
जिल्ला अस्पताल सिन्धुलीको तथ्यांकमा पनि जिल्लामा किशोरी आमा बन्ने क्रम बढदो देखिन्छ । अस्पतालको तथ्यांकअनुसार गत वैशाखदेखि हालसम्ममा २ सयभन्दा बढी १६ वर्षदेखि २० वर्षमुनिका किशोरीले प्रसूति सेवा लिएका छन् । कानुनले २० वर्ष नपुगी विवाह गर्न नपाइने भने पनि जिल्लामा २० वर्षमुनि आमा बन्ने अत्यधिक मात्रामा रहेको अस्पतालको तथ्यांकबाट प्रस्ट हुन्छ । यो त जिल्लामा सञ्चालित एक मात्र प्रसूति केन्द्रको विवरण हो ।

सिन्धुलीमा झन्डै ३० वटा बर्थिङ सेन्टर सञ्चालनमा छन् । ती संस्थाहरूको तथ्यांकलाई समेत हेर्ने हो भने २० वर्ष नपुग्दै आमा बन्नेहरूको तथ्यांक डरलाग्दो रहेको अस्पतालले जनाएको छ ।


बाल विवाह न्यूनीकरणका लागि जिल्लास्थित सरोकारवालाहरूले विभिन्न कार्यक्रम गरिरहेको बताए पनि जिल्लामा बाल विवाह बढिरहेको तथ्यांक देखिन्छ । २०७५ भदौ १ गतेबाट जारी भएको मुलुकी संहितामा पनि २० वर्षपछि मात्र विवाह गर्न सकिने उल्लेख गरेको कानुन व्यवसायी नारायण बरालले बताए ।

मुलुकी संहिताअन्तर्गत देवानी संहितामा केटाकेटी दुवैले २० वर्ष नपुगी विवाह गर्न नपाउने उल्लेख गरेको छ । यदि विवाह भएमा स्वतः बदर हुन्छ । यदि कसैले २० वर्षभन्दा अगाडि आफूखुसी विवाह गर्छ वा घरपरिवारले नै विवाह गरिदिन्छ भने केटाकेटी र विवाह गरिदिने अभिभावक दुवैलाई ३ वर्षको कैद र २० हजार रुपैयाँ जरिवानाको व्यवस्था रहेको उनको भनाइ छ ।


बालविवाह बढ्नुको प्रमुख कारण असुरक्षा, बलात्कार र जनचेतनाको अभाव रहेको महिला अधिकारकर्मी सविता कोइरालाको तर्क छ । बढदो बलात्कारका कारण छोरीहरूको असुरक्षाको डरले छिट्टै नै विवाह गरे उसलाई श्रीमानले संरक्षण गर्छ भन्ने सोचाइले गर्दा बाल विवाह भइरहेको उनको बुझाइ छ । ‘छोरी कोमल अनि कमजोर हुन्छन् ।

उनीहरूलाई पुरुषको साथ चाहिन्छ । बाबु, दाजुभाइ अनि श्रीमानको सहयोगमा मात्रै अघि बढ्न सक्छन् भन्ने गलत सन्देश दिन अब बन्द गर्नुपर्छ,’ उनले बताइन् । जनचेतनाको अभावमा यी सबै कुराहरू भइरहेको उनको जिकिर छ । त्यस्तै पुरुषवादी चिन्तनलाई मलजल गर्ने खालका गीत, संगीत र साहित्यले पनि छोरी मान्छेलाई हिन भावना पाल्न र आत्मबल कमजोर बनाउन सघाइरहेको कोइरालाको बुझाइ छ ।
(प्रशिक्षार्थी)

प्रकाशित : चैत्र १५, २०७५ ०८:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×