भाज्या पुखुःलाई पुनर्जीवन दिइँदै

कान्तिपुर संवाददाता

भक्तपुर — घाँसे मैदानमा परिणत ऐतिहासिक भाज्या पुखुः (पोखरी) । त्यसको बीचमा रहेको शिखरशैलीको जलेश्वर मन्दिर भग्नावशेषमा परिणत भइसकेको थियो । भाज्य पुखुः र भग्नावशेष मन्दिरलाई मौलिक स्वरूपमै प्राण दिने जमर्कोमा भक्तपुर नगरपालिका जुटेको छ ।

नगरपालिकाले सोमबार ऐतिहासिक भाज्या पुखुः जीर्णोद्धारको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । इतिहासविद् डा.पुरुषोत्तमलोचन श्रेष्ठको संयोजकत्वमा बनेकोप्रतिवेदन समितिले प्रतिवेदन सार्वजनिक गरेको हो ।

इतिहासविद् श्रेष्ठका अनुसार भाज्या पुखुः १२ औं शताब्दीमा बनेको हो । इतिहास विज्ञानसम्मत हुने भएकाले अध्ययन, अनुसन्धानका क्रममा रानीपोखरी र भाज्या पोखरी अर्कोलाई हेर्ने ऐना भएको उनी बताउँछन् । ‘भाज्या पुखुः आमा र रानीपोखरी छोरी हो,’ उनले भने, ‘भाज्यापुखुः हेरेर प्रताप मल्लले रानीपोखरी निर्माण गर्न लगाएको अनुसन्धानमा खुलेको छ ।’

भाज्या र रानीपोखरीको अग्रभाग पश्चिमतिर फर्किएका र मन्दिरको स्वरूप उही भएको उनी बताउँछन् । दुई पोखरीको मध्यभागमा रहेको मन्दिरको आकारप्रकार उहीभए पनि रानीपोखरी भाज्या पोखरीभन्दा दुईगुणा ठूलो भएको उनको प्रतिवेदनमाउल्लेख छ । भाजु कसः (कायस्थहरूको पुर्खा)ले भाज्या पुखुः बनाउनलगाएको उनले बताए ।

पोखरीको बीचमा रहेको मन्दिरको भग्नावशेषमा भेटिएका इँटा, मूर्ति तथा पोखरीसँग सम्बन्धित सम्पदाको अध्ययनले भाज्या पुखुः रानीपोखरीभन्दा ५ सय वर्ष पुरानो भएको उनले बताए । पोखरी क्षेत्रमा बासुकी नागको प्रतिमा रहेको काठको भग्नावशेष अहिले पनि छ । पोखरी जीर्णोद्धार गर्ने क्रममा बीचमा मन्दिर रहेको पाइएको थियो ।

माटोले पुरिएको अवस्थामा मन्दिर भेटिएपछि उत्खनन गरेको र त्यस क्रममा माटोले बनेका प्राचीन यक्ष, इन्द्रको मूर्ति, ब्वसिंह (उड्दै गरेको सिंह), तोरणसँगै विभिन्न आकारप्रकारका सादा तथा बुट्टेदार इँटा फेला पारिएका थिए । ‘सोही मूर्ति तथा इँटाका आधारमा भाजु पुखुः र मन्दिर १२ औं शताब्दीको एवं पूर्वमध्यकालको हो भन्ने पुष्टि हुन्छ,’ उनले भने ।

प्रतिवेदन सार्वजनिक कार्यक्रममा भक्तपुर नगरप्रमुख सुनील प्रजापतीले अध्ययन–अनुसन्धानका आधारमा तयार भएका प्रतिवेदनलाई विज्ञहरूको सल्लाहसुझावका आधारमा भाज्या पुखुः र मन्दिर पुनर्निर्माण गर्ने बताए । नगरपालिकाले पुखुः तथा मन्दिरको पुनर्निर्माण थालिसकेको छ ।

सिद्धपोखरी जीर्णोद्धारको अनुभवलाई ध्यानमा राखी पानी चुहिने सम्भावना भएका पोखरीका छेउमा कालोमाटो भर्ने र पोखरीको बीच भागमा भएको मन्दिरबारे अध्ययन अनुसन्धानमा ध्यान दिएको उनले बताए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रेम सुवाल, पुरातत्त्व विभागका पूर्वमहानिर्देशक भेषनारायण दाहाल, गुठी संस्थानका अध्यक्ष मीनराज चौधरीलगायतले विज्ञको सुझावका आधारमा पुनर्निर्माण गर्न सुझव दिए ।

प्रकाशित : फाल्गुन २८, २०७५ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्

नेपालसँग सामाजिक सुरक्षा सम्झौता तयारी

कान्तिपुर संवाददाता

काठमाडौँ — मलेसियामा विदेशी कामदारको सामाजिक सुरक्षासम्बन्धी सेवा प्रवाह गर्ने सामाजिक सुरक्षा संगठन (सोक्सो) र इन्डोनेसियाको सामाजिक सुरक्षासम्बन्धी एजेन्सी (बीपीजेएस) बीच सहकार्य सम्झौता (एमओसी) भएको छ । मलेसियाले यस्तै सम्झौता छिट्टै नेपाल, बंगलादेश र भारतसँग पनि गर्ने जनाएको छ ।

सामाजिक सुरक्षा संगठन (सोस्को) मलेसियाली मानव संसाधन मन्त्रालयले स्थापना गरेको संस्थागत अंग हो भने बीपीजेएस सामाजिक सुरक्षाका क्षेत्रमा काम गर्ने इन्डोनेसियाको सरकारी एजेन्सी हो ।

श्रमिक स्रोत मुलुकमध्ये कामदारको सामाजिक सुरक्षाका लागि स्थानीय कम्पनीसित द्विपक्षीय सम्झौता गर्ने इन्डोनेसिया पहिलो मुलुक हो । इन्डोनेसिया मलेसियाका लागि सबैभन्दा ठूलो श्रमिक स्रोत मुलुक हो ।

दुवै एजेन्सीका प्रमुखद्वारा गत साता भएको सम्झौताअनुसार अब मलेसिया जाने इन्डोनेसियाली कामदारले अनिवार्य रूपमा त्यहाँको एजेन्सी (बीपीजेएस) सँग दर्ता गर्नुपर्नेछ । दर्तापछि उक्त एजेन्सी र मलेसियाको सोक्सोबीच कामदारका तथ्यांक आदानप्रदान गर्ने/गराउने बताइएको छ । त्यसो गर्दा कामदार मलेसिया गइसकेपछि पनि उक्त तथ्यांककै आधारमा मलेसियामा काम गरुन्जेल सोही योजनामा समावेश गरिराख्न सकिने विश्वास दुई अधिकारीहरूको छ । अंगभंग भएमा र उपचार गर्नुपरेमा उक्त योजनामा तोकिएको सुविधा कामदारले प्राप्त गर्न सक्नेछन् ।

अधिकारीहरूका अनुसार मलेसियामा करिब ८ लाख इन्डोनेसियाली कामदार छन् । तीबाहेक थप करिब ३ लाख ५० हजार कामदार मलेसिया जाँदै छन् । दुर्घटनामा परेका कतिपय कामदारले क्षतिपूर्ति एवं बिमा रकम नपाएको गुनासो गर्ने गरेका छन् । सोक्सोले रोजगारीका अवधिमा विदेशी कामदारलाई स्वास्थ्य, क्षतिपूर्ति तथा राहत योजनाअन्तर्गतका सेवा प्रदान गर्नेछ ।

स्रोतका अनुसार उसले नेपाल, बंगलादेश र भारतमा रहेका सरकारी बिमा कम्पनीसँग छलफल चलाइरहेको छ । स्थानीय नागरिकका लागि मात्र सामाजिक सुरक्षासम्बन्धी सेवा उपलब्ध गराउँदै सोक्सोलाई मलेसियाको मानव संसाधन मन्त्रालयले यसै वर्ष जनवरीदेखि विदेशी कामदारलाई पनि योजनामा समावेश गर्न जिम्मेवारी दिएको थियो ।

मलेसियाली मानव संसाधनमन्त्री एम. कुला गेसरनका अनुसार रोजगारदाताले विदेशी कामदार भर्ना गर्दा उनीहरूलाई सोक्सोअन्तर्गत अनिवार्य दर्ता गर्नुपर्नेछ ।

प्रकाशित : फाल्गुन २८, २०७५ ०७:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्