कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

छाया कम्प्लेक्स विवाद : ‘मुद्दा पर्दापर्दै भवन ठडियो’ 

गलत प्रचार गरियो : कम्पनी
कान्तिपुर संवाददाता

काठमाडौँ — पोखरी हडपेर व्यावसायिक भवन बनाएको छाया कम्प्लेक्सले आयोजना गरेको पत्रकार सम्मेलनमा तनाव भएको छ । छाया सेन्टरका प्रबन्ध निर्देशक महेश्वर श्रेष्ठले आफूसँग लालपुर्जा भएको बताएपछि सार्थसिंह बाहु गुठीका गुठियारसमेत रहेका भागवत् नरसिंह प्रधानले राजगुठीमा लालपुर्जा नुहुने, यदि त्यस्तो भएमा गुठी संस्थान ऐनअनुसार खारेज हुने व्यवस्थासमेत रहेको बताएका थिए ।

छाया कम्प्लेक्स विवाद : ‘मुद्दा पर्दापर्दै भवन ठडियो’ 

उनले बोल्ने क्रममा छाया सेन्टरका निर्देशक सुमन पाण्डेले ‘तपाईं अदालतमा गएकाले तपाईंले यो विषयमा बोल्ने होइन’ भनेपछि त्यहाँ जम्मा भएका अभियन्ता आक्रोशित भएका थिए । त्यही क्रममा केही बेर तनाव भएको थियो । छाया सेन्टरमै भएको सम्मेलनमा अभियन्तालाई बाहिर निकालेर फेरि पत्रकार सम्मेलन निरन्तरता दिइएको थियो ।


सम्मेलनमा निर्देशक पाण्डेले छाया सेन्टर बनेको ठाउँ पोखरी भएको तर केशर शमशेरले नौका विहार गर्ने ठाउँ भएको बताएका थिए । स्वदेशी लगानी बनेको छाया सेन्टरलाई केही व्यक्तिको स्वार्थले गर्दा प्रचारबाजीमा लागेको आरोप लगाए ।


‘ठूलो लगानीमा सञ्चालनमा आएकै कारण छाया सेन्टरलाई स्वार्थका साथ नकारात्मक प्रचारको उत्कर्षमा पुर्‍याउन खोजिएको छ,’ प्रबन्ध निर्देशक महेश्वर श्रेष्ठले भने । जिल्ला अदालतको आदेश, पुनरावेदनको आदेश र नगरापालिकाबाट नक्सा पास गरेर आफूहरूले भवन निर्माण गरेको उनले बताए ।


यी अदालतको फैसलामा त्रुटि छ भनेर आफूहरूलाई सर्वाेच्चले निस्सा दिएको गुठियार एवं अभियन्ता भागवत नरसिंह प्रधान बताउँछन् । ‘सर्वाेच्चमा मुद्दा परेको छ,’ उनी भन्छन्, ‘यसको अन्तिम व्याख्या अदालतले गर्छ । हामीले भन्दा भन्दै, मुद्दा पर्दा पर्दै जबरजस्ती भवन बनाइयो ।’


ठमेलेको सिंह सार्थबाहु गुठीको नाममा भएको पाखरी १९७७ सालमा केशर शमशेरले आफ्नो कम्पाउन्डभित्र पारेका थिए । कम्पाउन्डमा पारेबापत् वर्षमा १ सय २५ रुपैयाँ दिने सहमति भएको थियो । यही पोखरी २०२७ सालमा सुकाएर केशर शमशेरका छोरा केयुरले खेत रोपेका थिए ।


२०३९ सालमा उनले मोही दर्ता गरेका थिए । पोखरीमा मोहियानी हक नलाग्ने भन्दै गुठीले समेत रैतानी बदर गरिदिएको थियो । ‘राजगुठी व्यक्तिको नाममा दर्ता हुनै सक्दैन,’ गुठी संस्थानका प्रवक्ता सरोज थपलिया भन्छन्, ‘दर्ता भएको रहेछ भने पनि ५० वर्षपछिसम्म पनि दर्ता खारेज हुन सक्ने व्यवस्था छ ।’

प्रकाशित : फाल्गुन ८, २०७५ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x