कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ऐतिहासिक दुईपोखरी पुनर्निर्माण सुरु

दुईपोखरीमा बिस्केट जात्रासम्ममा पानी भरिसक्ने

भक्तपुर — मध्यपुरथिमि नगरपालिकाले ऐतिहासिक दुईपोखरी (निगुपुखु:) संरक्षण तथा पुनर्निर्माण थालेको छ । संरक्षण अभावमा पानी सुकेर वर्षौंदेखि खेलमैदानका रूपमा परिणत दुईपोखरी संरक्षणका लागि उपभोक्ता समिति गठन गरी पुनर्निर्माण थालेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए ।

ऐतिहासिक दुईपोखरी पुनर्निर्माण सुरु

दुईपोखरी संरक्षणको पहिलो चरणमा कालीमाटी बिछ्याउने कार्य प्रारम्भ भएको उनले बताए । सुरुमा ६ इन्च कालीमाटी, ३ इन्च पाँगो माटो र पुन: ६ इन्च कालीमाटी गरी १५ इन्च माटो बिछ्याएपछि इँटा सोलिङ गरेर पानी राख्ने जनाएको छ ।


उक्त पोखरी संरक्षण तथा पुनर्निर्माण गर्न नगरपालिकाले चालु आर्थिक वर्ष ०७५/७६ मा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ । पोखरी संरक्षण गर्न स्थानीय निरञ्जन श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरी पुसदेखि पुनर्निर्माण थालेको हो ।


आकासेपानी संकलन गरेर प्रशोधन गरेपछि मध्यपुरथिमि ४ स्थित ऐतिहासिक दुईपोखरीमा पानी भर्ने प्रस्तावअनुरूप पुनर्निर्माण सुरु भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवाली बताउँछन् । मध्यपुरथिमि इनाय टोलको राजगणेशदेखि दिगुभैरव मन्दिरसम्मको पानी संकलन गर्ने र संकलित पानी दुई स्थानमा प्रशोधन गरेपछि मात्र पोखरीमा खसाल्ने नगरपालिकाले जनाएको छ ।


दुईपोखरी संरक्षण पुनर्निर्माणका लागि नगरपालिकाले करिब १५ करोड लागत इस्टमेट तयार गरेको छ । तीन वर्षमा पुनर्निर्माण सक्ने गरी पैदलमार्ग निर्माण, ८ वटा फल्चा (पाटी) निर्माण गर्नुका साथै नगरको मुख्य सांस्कृतिक केन्द्रका रूपमा दुईपोखरी क्षेत्रलाई व्यवस्थित गर्ने लक्ष्य लिएको नगरप्रमुख श्रेष्ठले बताए । हाल पोखरी वरिपरि ६ वटा फल्चा अवस्थित छन् ।


करिब ३ सय वर्ष पहिले गंगा महारानीले दुईपोखरी स्थापना गरी मध्यपुरथिमिवासीलाई पानीको स्रोत दिएको भन्ने कथन छ । कुनै भवितव्य होस् अथवा सिँचाइ, जुनसुकै प्रयोजनका लागि पोखरीकै पानी प्रयोग गर्ने चलन थियो । बढदो सहरीकरण तथा पानीका वैकल्पिक स्रोत प्रयोग हुन थालेपछि पोखरी संरक्षणमा ध्यान जान छाडेको संस्कृतिविदहरू बताउँछन् ।


दुईपोखरीमा बोडेको कमलपोखरी र यातापोखरीबाट पानी ल्याउने गरिन्थ्यो । बढ्दो जनघनत्व र सहरीकरणका कारण पोखरीसम्म ल्याउने पानी बीच बाटामै टुटेपछि पोखरीमा पानी सुकेको हो । २०१५ सालमा राजा महेन्द्र भक्तपुर आउँदा दुईपोखरीको पानी हटाएर मैदान बनाई राजालाई स्वागत गरेदेखि नै पोखरीको पानी सुक्न थालेको स्थानीय उत्तरकुमार श्रेष्ठ बताउँछन् ।


बेलाबेलामा पोखरी संरक्षण गर्ने प्रयास गरे पनि पोखरीको संरक्षण हुन सकेको छैन । गाविस हुँदासम्म पोखरीमा पानी थियो, नगरपालिका भएदेखि पोखरी मैदानमा परिणत भएको स्थानीय बताउँछन् । ०६५ मा नगरपालिकाले १० लाख लगानीमा बार लगाएर संरक्षण प्रयास गरे पनि सफल हुन सकेन ।


मध्यपुरवासीले दुईपोखरी सुधार समिति नै गठन गरी पटक/पटक संरक्षण प्रयास गर्दै आएको छ । मध्यपुरथिमी बालुवाको थुम्कोका रूपमा पनि चिनिन्छ । बालुवा भएका ठाउँमा पानी जोगाउन मुस्किल हुने स्थानीय बताउँछन् । पोखरीमा पानी बचाउन पहिलेकै मुहान पत्ता लगाउनुपर्ने र नरपालिकाले पोखरीको पूर्ण संरक्षण गर्न एकमुष्ट रकम छुट्याउन आवश्यक रहेको स्थानीयको सुझाव छ ।


मध्यपुरथिमि ४ याता क्षेत्रमा करिब २० वटा इनार छन् । एक जमानामा इनारको मुख्य स्रोत पनि दुईपोखरी भएको स्थानीय एवं दुईपोखरी अनुगमन समिति संयोजक बालकृष्ण पात्य श्रेष्ठ बताउँछन् । पोखरीमा पानी सुक्न थालेपछि इनारमा पनि पानी सुक्दै गएको छ ।


नगरपालिकाले दुईपोखरी क्षेत्रलाई सांस्कृतिक क्षेत्रका रूपमा विकास गर्ने र नगरको प्राचीन एवं ऐतिहासिक संस्कृतिको प्रदर्शनस्थल निर्माण गर्ने लक्ष्य लिएको नगरप्रमुख श्रेष्ठ बताउँछन् । इनायटोलदेखि दिगुभैरव मन्दिरसम्म पैदलमार्ग निर्माण गरी ठूला सवारी निषेध गर्नेसमेत उनले बताए । खेलमैदानका रूपमा परिणत दुईपोखरीमा बिस्का: (बिस्केट जात्रा) सम्ममा पानी भरिसक्ने लक्ष्य नगरपालिकाको रहेको जनाएको छ ।

प्रकाशित : माघ २१, २०७५ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?