निर्मूल भइसकेको कुष्ठरोग थपिँदै

फातिमा बानु

काठमाडौँ — मुलुकबाट निर्मूल भइसकेको रोग हो कुष्ठरोग । तर, सरकारले उपचारको प्राथमिकतामा नराख्दा उन्मूलन भइसकेको यो रोगका बिरामी थपिँदो मात्रामा छन् । उन्मूलन भएको आठ वर्ष बिते पनि नयाँ बिरामी थपिइरहेपछि सरकारी प्राथमिकता र उपचार प्रणालीप्रति नै प्रश्न उठाइएको छ । 

निर्मूल भइसकेको कुष्ठरोग थपिँदै

सामाजिक विभेदका कारण लुकेर बस्ने, उपचार नगर्ने बिरामीको प्रवृत्ति व्याप्त छ । यसलाई घटाउन सरकारले पर्याप्त ध्यान नदिएको विज्ञहरूको निक्र्योल छ । विशेषज्ञका अनुसार रोग उन्मूलन हुनु बिरामीको संख्या शून्य हुनु होइन । विश्व स्वास्थ्य संगठनले प्रतिदस हजारमा एकभन्दा कम बिरामी हुनुलाई उन्मूलन मानेको छ ।


आठ वर्षअघि नेपालमा कुष्ठरोगका बिरामीको संख्या प्रतिदस हजारमा शून्य दशमलव ७९ थियो । स्वास्थ्य सेवा विभागको कुष्ठरोग तथा अपांगता व्यवस्थापन शाखाको तथ्यांकअनुसार आव ०७४/०७५ सम्ममा बिरामी संख्या बढेर प्रतिदस हजारमा शून्य दशमलव ९२ पुगेको छ । विभागका कुष्ठरोग विशेषज्ञ डा. रवीन्द्र बाँस्कोटा भन्छन्, ‘उन्मूलन भइसकेको भनेर राज्यले यो रोगलाई कम प्राथमिकतामा राख्न हुँदैन । उन्मूलन भइसकेको रोग किन फेरि फर्किंदैछ भनेर अनुसन्धान गर्न आवश्यक छ । यसका लागि सरकारले केन्द्रीय तहमा अनुसन्धान केन्द्र बनाउन जरुरी छ ।’


समाजमा यो रोगलाई पूर्वजन्मको पाप मान्ने, बिरामीलाई विभेद गर्नेलगायत विभिन्न अन्धविश्वास छ । चेतना अभावले बिरामी औषधि उपचारमा विश्वास गर्दैनन् । घरभित्रै लुकेर बस्छन् । यस्तै बेवास्ताका कारण उन्मूलन भइसकेको यो रोगका बिरामी बढिरहेका हुन् । यसलाई सरुवा रोग भनेर चिनिँदै आए तापनि यो रोग सर्ने सम्भावना निकै कम हुन्छ । औषधि सेवन गरिरहेका बिरामीबाट त यो रोग सर्दै सर्दैन । गाउँगाउँमा नि:शुल्क उपचार सेवा पुगेको छ ।


हेल्थपोस्ट तहमै तालिमप्राप्त स्वास्थ्यकर्मी छन् । कुष्ठरोगकै कारण अंगभंग भएमा शल्यक्रियासमेत नि:शुल्क हुने व्यवस्था छ । तैपनि यो रोगको जटिलता कम हुन सकेको छैन, बिरामीको संख्या घट्नुको साटो बढिरहेको छ । कुष्ठरोग नियन्त्रणका लागि सरकारले अघिल्लो वर्ष जोखिम मानिएका समुदायमा बिरामी खोजेर उपचारको सम्पर्कमा ल्याउने अभियान चलाएको थियो । घरदैलोमा पुगेर बिरामी खोज्ने अभियान खर्चिलो भएपछि यो कार्यक्रम अहिले स्थगित छ । रोग निर्मूल पार्नकै लागि सरकारले आठ जिल्लामा पुगेर बिरामीका परिवार र छिमेकीलाई समेत औषधि खुवाएको छ । यस्तो औषधिले परिवारमा कुष्ठरोगका बिरामी भए पनि अरू सदस्यलाई सर्न पाउँदैन ।


६० प्रतिशतलाई यस्तो औषधि खुवाइसकिएको डा. बाँस्कोटा बताउँछन् । उनी भन्छन्, ‘घरदैलोमा पुगेर बिरामी खोज्ने अभियानलाई निरन्तरता दिन आवश्यक छ, किनकि सामाजिक लाञ्छनाकै कारण बिरामी आफंै उपचार खोज्दैनन् ।’ बिरामीका छिमेकी र परिवारलाई औषधि खुवाउने कार्यक्रम देशभर विस्तार गरे यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्नबाट बचाउन सकिने उनले बताए ।


पछिल्लो जनगणनाअनुसार नेपालमा ५ लाख १२ व्यक्तिमा अपांगता छ । यो रोगका बिरामी त बढेकै छन् । अपांगता पनि बढाएको छ । कुल अपांगताको करिब २ प्रतिशत अपांगता कुष्ठरोगकै कारण हुने गरेको चिकित्सक बताउँछन् । थपिएका २ दशमलव ७ कुष्ठरोगका बिरामीमा पनि अपांगता देखिएको छ ।


डा. बाँस्कोटाका अनुसार सामान्य लक्षण देखिँदैमा उपचार गरे यो रोग पूर्णरूपमा ठीक हुन्छ, वर्षौंसम्म उपचार नगरे मात्रै अंगभंग हुने सम्भावना हुन्छ । कुष्ठरोग लेप्रे नामक सूक्ष्म कीटाणुबाट लाग्ने सरुवा रोग हो, यसले मुख्यगरी छाला र स्नायुमा असर गर्छ । शरीरमा फुस्रो दाग मात्रै देखिने तर नचिलाउने र नदुख्ने हुँदा बिरामीले बेवास्ता गर्छन् । बिस्तारै हातखुट्टाको छाला लाटो भएर जान्छ । पोलेको, छोएको र संक्रमण भएको केही थाहा पाउँदैनन् । संक्रमणका कारण औंलाहरू झरेर जान्छन् । बिरामी अंगभंग हुन्छन् ।


विभागको कुष्ठरोग तथा अपांगता व्यवस्थापन शाखाको तथ्यांकअनुसार यस वर्ष ३ हजार १ सय ८७ कुष्ठरोगका नयाँ बिरामी थपिएका छन् । अघिल्लो आर्थिक वर्षमा ३ हजार २ सय १५ नयाँ बिरामी थपिएका थिए । नयाँमध्ये २ सय ७८ जना १५ वर्षमुनिका बालबालिका छन् । कुल बिरामीमध्ये २ हजार ७ सय ७७ बिरामी नियमित उपचारमा छन् ।


देशभर ५ हजार ९ सय २२ कुष्ठरोगका बिरामी छन् । ६ सय नेपालमै उपचाररत विदेशी छन् । जसमा २ हजार २ सय २६ जना नियमित औषधि उपचार गराइरहेका छन् भने तीन हजार व्यक्ति यो रोगबाट मुक्त भइसके । कोही सम्पर्कमै छैनन् । रोगबारे सामाजिक नकारात्मक धारणा मुख्य चुनौतीको रूपमा रहेको उल्लेख गर्दै डा. बाँस्कोटा भन्छन्, ‘राज्यले नै यस्ता बिरामीमाथि विभेद गरेको छ, यस्ता बिरामीसँगको वैवाहिक सम्बन्ध बदर हुने कानुनसमेत विभेदकारी छ ।’

प्रकाशित : माघ १६, २०७५ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?