कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उच्च शिक्षाका लागि शैक्षिक ऋण

भक्तपुर — भक्तपुर नगरपालिकाले उच्च शिक्षाका लागि शैक्षिक ऋण दिने भएको छ । नगरपालिकाको चौथो नगरसभाले नगरको स्थायी बसोबास भएका गरिब, जेहेनदार विद्यार्थीहरूलाई शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखी ५ लाख रुपैयाँसम्म शैक्षिक ऋण दिनेसम्बन्धी निर्देशिका पारित गरेको जनाएको छ ।

नगरको १० वटै वडाबाट वडाध्यक्षको सिफारिसमा वर्षमा १०/१० जना गरिब तथा जेहेनदार विद्यार्थीलाई सहुलियत ब्याजदरमा शैक्षिक ऋणको व्यवस्था गर्ने निर्देशिका पारित गरेको शिक्षा, संस्कृति तथा स्वास्थ्य समिति सदस्य एवं वडा नम्बर ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले बताए ।


विद्यार्थीको रुचिको विषयमा स्नातक, स्नातकोत्तर, एमफिल तथा पीएचडी गर्न चाहने विद्यार्थीहरूका लागि नगरपालिकाले एकमुष्ट अथवा किस्ताबन्दीमा ऋण दिने व्यवस्था गरेको उनले बताए । ऋण लिएर अध्ययन गरेको विद्यार्थीले अध्ययन पूरा गरेको १ वर्षमा २५ प्रतिशत, २ वर्षमा ५० प्रतिशत, ३ वर्षमा ७५ प्रतिशत, ४ वर्षमा ऋण चुक्ता एवं एकमुष्ट ऋण तिर्न सक्ने व्यवस्था गरेको समेत नगरपालिकाले जनाएको छ ।


स्थानीय तहको निर्वाचनको दौरानमा घोषणापत्रमा उल्लेख भएअनुसार नगरका गरिब तथा जेहेनदार विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययन गर्न सहयोग गर्ने उद्देश्यले शैक्षिक ऋण दिनेसम्बन्धी निर्देशिका २०७५ पारित गरेको नगरप्रमुख सुनील प्रजापती बताउँछन् । त्यस्तै, भक्तपुर नगरपालिकाको चौथो नगरसभाले अपांगता भएका व्यक्तिहरूको परिचयपत्र वितरणसम्बन्धी कार्यविधि २०७५ र लेखा समितिको प्रतिवेदन पारित गरेको छ ।


अपांगता भएका व्यक्तिहरूको परिचयपत्र वितरणसम्बन्धी कार्यविधिको छलफल कार्यक्रममा नगरसभाका सभासद पूर्णगोपाल राजचल, तुल्सीलक्ष्मी बाटी, राजेन्द्र माक, हरिरत्न गोर्खाली र गोविन्द दुवालले अपांगता परिचयपत्र वितरण गर्ने अस्थायी समन्वय समितिमा अपांगहरूको अभिभावक समावेश गरिनुपर्ने, सरकारी सेवाका अपांग कर्मचारीले सेवा सुविधा प्राप्त हुने नहुने प्रस्ट पार्नुपर्ने, अपांगता परिचयपत्रको म्याद उल्लेख गर्नुपर्ने सुझाव दिएका छन् ।


अपांगता भएका व्यक्तिलाई स्याहार गर्न केन्द्र सञ्चालन गर्नुपर्ने, अपांगता भएकालाई सजिलै परिचयपत्र उपलब्ध गराउनुपर्ने, पुन:स्थापना कार्यक्रम ल्याउनुपर्ने, अपांगता भएकाको संख्या घटाउन गर्भकालदेखि नै स्वास्थ्य चेतना प्रदान गर्नुपर्ने उनीहरूको सुझाव छ ।


सूर्यविनायक नगरपालिकामा ६ नयाँ कानुन

सूर्यविनायक नगरपालिकाको चौथो नगरसभाले ६ वटा नयाँ कानुन बनाएको छ । नगरको चौथो नगरसभाले आर्थिक कार्यविधि नियमित गर्ने ऐन, २०७५, प्रशासनिक कार्यविधि, अपागंता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, नगर शिक्षा नीति, स्वास्थ संस्था दर्ता अनुमति तथा नवीकरण निर्देशिका र अपांगता भएका व्यक्तिको परिचयपत्र वितरणसम्बन्धी कार्यविधि निर्माण गरेको नगरप्रमुख वासुदेव थापाले जानकारी दिए ।


यसअघि सम्पन्न तीनवटा नगरसभाले २९ वटा कानुन निर्माण गरी कार्यान्वयन थालेको उनले बताए । नगरसभाले पूर्वाधार विकास पहुँच अभिवृद्धि, सामाजिक विकास मार्फत सामाजिक रूपान्तरण, आर्थिक विकास मार्फत आर्थिक वृद्धिलगायतका रणनीति अवलम्बन गरेको वडा नम्बर ७ का वडाध्यक्ष तथा पूर्वाधार विकास समितिका संयोजक रविन्द्र सापकोटाले बताए ।

प्रकाशित : माघ ६, २०७५ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?