काष्ठमण्डप बन्दै

दामोदर न्यौपाने

काठमाडौँ — हनुमानढोका दरबारको उत्तर–पश्चिममा महानगरीय प्रहरी परिसरको भत्केको भवन छ । भुइँचालोले जीर्ण भएपछि प्रहरी कार्यालय सरेर टेकु पुग्यो । खाली प्रहरी कार्यालयको आँगनमा काष्ठमण्डपका पुराना काठ थुपारिएका छन् । त्यही काठलाई मर्मत सम्भार गरिरहेका छन् कालिगढ ।

पुरातत्त्व विभागका अनुसार काष्ठमण्डपका काठमध्ये ३० प्रतिशत काम लाग्ने अवस्थामा छन् ।

नपुग्ने काठ ल्याउने क्रम पनि धमाधम भइरहेको छ । काठका लागि नेपाल टिम्बर कर्पाेरेसनसँग सम्झौता भएको छ । विभागको इस्टिमेटअनुसार १७ हजार ५८ क्युफिट काठ लाग्छ । काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक तथा प्रदेश ३ का सांसद राजेश शाक्यका अनुसार काठ ल्याउने प्रक्रिया सुरु भएको छ । ‘एक लट काठ आइसक्यो,’ उनी भन्छन्, ‘विभागले दिएको इस्टिमेटभन्दा कम काठ लाग्ने हाम्रो अनुमान छ ।’

काष्ठमण्डप एउटै रूखको काठबाट बनेको विश्वास गरिन्छ । भुइँचालोपछि बेलायतको दुराहम विश्वविद्यालय र पुरातत्त्व विभागले गरेको अध्ययनअनुसार काष्ठमण्डप सातौं शताब्दीमा बनेको हो । अध्ययन हुनुअघि १२ औं शताब्दीमा बनेको मानिन्छ काष्ठमण्डप । यही सत्तलको नामबाट उपत्यकाको नामै काठमाडौं रहन गएको हो । संस्कृतिविद् यज्ञमानपति वज्राचार्यका अनुसार उतिबेला काठको राम्रो भागको काष्ठमण्डप बनाइयो ।

नराम्रो काठ, मुढा, जरा एक ठाउँमा पन्छाइयो । पन्छाएकोलाई नेवारी भाषामा ‘सिंखो’ भनिन्छ । त्यही पन्छाएको काठबाट विहार बनाइएको रहेछ । त्यो विहारको नाम ‘सिंखोमू’ महाविहार राखियो । ‘त्यही भएर काष्ठमण्डप र यो विहारबीच नङ र मासुको जस्तो सम्बन्ध छ,’वज्राचार्य भन्छन् ।

काष्ठमण्डप बनाएर पनि काठ अझै सकिएन । बाँकी रहेको काठले अर्काे सत्तल बन्यो । त्यो हो– सिंल्य सत्तल । नेवारी भाषामा सिं भनेको काठ र ल्य भनेको बाँकी हो । सिंल्य सत्तल काष्ठमण्डपको दक्षिणतिर छ । यो सत्तल भुइँचालो आउनुअघि नै जीर्णाेद्धार भएको थियो । भुइँचालोबाट यो भने जोगियो । ‘यो सत्तलको काम अहिले पनि भइरहेको छ,’ श्रेष्ठले भने ।

सिंल्य सत्तल बनाएर पनि थुप्रै काठ बाँकी रह्यो । त्यो बाँकी रहेको काठ पछि काम लाग्ला भनेर काष्ठमण्डपकै छेउमा पुरियो । त्यहाँ डबली (दबु) बनाइयो । त्यो दबु मञ्चका रूपमा प्रयोग हुन्छ । यसलाई ‘मरु दबु’ पनि भनिन्छ । भुइँचालो आएपछि संयुक्त राष्ट्रसंघीय निकाय युनेस्कोले निरीक्षण गर्‍यो । ‘विशेष क्यामेराले हेर्दा ५ मिटर तल काठ देखियो,’ वज्राचार्य भन्छन्, ‘त्यतिबेला काठ गाडिएको थियो भनेर इतिहासमा लेखिएको कुरा पुष्टि भयो ।’

काष्ठमण्डप माटोको जडानले बनेको हो । अहिले पनि त्यही जडानमै बनाउन लागिएको शाक्यले जानकारी दिए । समितिले माटो झिक्ने ठाउँ पनि खोजिसकेको छ । ‘कीर्तिपुर, इचंगुनारायण, सीतापाइलालगायत ठाउँमा माटो खोजियो,’ शाक्यले भने, ‘काष्ठमण्डपमा प्रयोग भएको जस्तो माटो भने ताहाचलमा भेटियो ।’

यहाँ कस्तो माटो प्रयोगभएको रहेछ भनेर प्रयोगशालामा परीक्षण गरेको पाइयो । ‘माटो,बालुवा र मसिनो बालुवाको मिश्रणले बनेको पाइयो,’ शाक्य भन्छन्, ‘माटोबाट छिंडी, चोटो र बुइँगलगरी चारतले घर बलियो हुन्छ । सिमेन्टको भन्दा पनि बलियो हुन्छ माटोको घर । राज्यले नीति राम्रो नबनाएर मात्रै हो हाम्रो प्राचीन निर्माण सामग्री बलियो छैन भनिएको । परीक्षण गर्ने हो भने चार तलासम्मका लागि हाम्रा प्राचीन निर्माण सामग्री बलिया छन् ।’

काष्ठमण्डपमा जुन इँटा प्रयोग भएको थियो, त्यही स्वरूपको राख्ने योजना समितिले बनाएको छ । काष्ठमण्डपमा सादा इँटा प्रयोग भएका थिए । ठूलो मा आप्पा र सानो मा आप्पा गरी दुईथरीका इँटा प्रयोग भएका छन् । यहाँ प्रयोग भएकै जस्तो इँटा दक्षिण बाराही इँटाभट्टालाई बनाउन दिइएको छ । उपत्यकामा प्राचीन इँटा बनाउने भट्टा यही हो । ‘२२/१५ र ५ सेमिको इँटा प्रयोग भएका रहेछन्,’ शाक्य भन्छन्, ‘यही साइजका बनाउन दिएका छौं । ठूलो मा आप्पा आउन सुरु भइसक्यो । सानो अब चाँडै आउँछ । लट–लट गरेर ल्याउँछौं ।’

काष्ठमण्डप यसअघि पनि जीर्णाेद्धार भएको थियो । त्यतिबेला जीर्णाेद्धार गर्दा यसको मौलिकता मासिएको थियो । कतै सिमेन्ट प्रयोग भएको थियो । कतै माटोको साटो चुना सुर्की प्रयोग भएको थियो । जगमा समेत सिमेन्ट हालिएको पाइएको छ । ‘पहिला भएका गल्ती पनि हामी यो बेला सच्याउँदै छौं,’ शाक्य भन्छन्, ‘यो पुनर्निर्माणको बेला हो । सच्याउने बेला हो । विगतमा भएका गल्तीसमेत सच्याउने मौका यही हो । हामी यो मौकाको सदुपयोग गरेर काष्ठमण्डपलाई नमुना बनाउने योजनामा छौं ।’

काष्ठमण्डप ‘मरु सत्तल’ को नामले चिनियो । काष्ठमण्डप मात्रै हैन, योसँग बनेको डबली पनि ‘मरु दबु’ को नामले चिनियो । काष्ठमण्डपसँगै बनेका ढुंगेधारा पनि मरुहिटीका नामले चिनिए । नेवारी भाषामा मरु भनेको छैन हो । ‘यो मरुसँग वज्रयानी सम्प्रदायको दर्शन जोडिएको छ,’ वज्राचार्य भन्छन्, ‘केही पनि छैन भन्नुको अर्थ त्यहाँ दर्शन छ । केही पनि छैन भन्नु वज्रयानी दर्शन हो ।’ बौद्ध धर्मभित्र हिनयान, वज्रयान र महायान गरी तीन सम्प्रदाय छन् । त्यसमध्ये काष्ठमण्डपको निर्माता लीलावज्र वज्रयान सम्प्रदायकाहुन् । ‘काष्ठमण्डप बनाउँदा यही वज्रयान दर्शन प्रयोग भएको छ,’ वज्राचार्यले भने ।

केही छैन भन्नुको अर्थ काष्ठमण्डपको रूप छैन, रङ छैन र आकार प्रकार छैन । रङरोगन छैन । ढोका छ, तर बन्द हुँदैन । ढोका भए पनि खापा हालिएको छैन । खापा नहाल्नुको अर्थ यहाँ जो पनि छिरुन् भन्ने हो । यहाँ कुनै जातिलाई बन्देज छैन । कुनै धर्मलाई बन्देज छैन । कोही बेला जातीय छुवाछूत चर्काे थियो । त्यस्तो बेलामा पनि काष्ठमण्डपमा केही थिएन । ‘जातीय भेदभाव छैन,’ वज्राचार्य भन्छन्, ‘धनी, गरिबको विभेद छैन । पूर्णरूपमा स्वतन्त्रता थियो काष्ठमण्डपमा । यो वज्रयानी दर्शन हो ।’

केही पनि छैन भन्नुको अर्काे अर्थ यसको लम्बाइ, चौडाइ, उचाइ सबै बराबर छ भन्ने पनि हो । यसको लम्बाइ, चौडाइ र उचाइ ३६ हात छ । जगका इँटा पनि ३६ सोलकै छन् । यो सत्तल बनाउँदा ३६ अंकलाई प्राथमिकता दिइएको छ । ‘यो पनि वज्रयानी दर्शन हो,’ वज्राचार्य भन्छन्, ‘३६ लाई महत्त्व दिनु पनि वज्रयानी सिद्धान्त हो ।’

नेपाली वर्णमालामा ३६ वटा अक्षर हुन्छन् । हरेक अक्षरको एउटा आदर्श छ वज्रयानी दर्शनमा । क देखि ज्ञ सम्मकै अर्थ छन् । त्यसमध्ये य, र, ल, व को अर्थ प्रयोग भएको थियो काष्ठमण्डपमा । य को अर्थ हावा हो । र को अर्थ आगो, ल को अर्थ माटो (पृथ्वी), व को अर्थ पानी वा तरलता हो । हावा नचली आगो बल्दैन । आगो नबली भाँडा तात्दैन । भाँडो नतानी पानी उम्लिँदैन । ‘हावामाथि आगो, आगोमाथि भाँडो, भाँडोमाथि पानी, पानीमाथि हावा,’ वज्राचार्य भन्छन्, ‘हावाबाट हावै बन्यो । हाम्रो
चुल्होको सिद्धान्त पनि यही । वज्रयानी सिद्धान्त पनि यही हो । ३६ वटा अक्षरको ज्ञान भएपछि निपुण भइन्छ । पहिला विहारमा यही पढाइ हुन्थ्यो । अहिले हरायो ।’

यही य, र, ल, व खम्बामा अडिएको थियो काष्ठमण्डप । वज्राचार्यका अनुसार काष्ठमण्डप चारवटा ठूला खम्बामा अडिएको थियो । ‘शक्ति लडेपछि सबैलड्यो,’ वज्राचार्य भन्छन्, ‘अरू मन्दिरका केही भाग रहे । तर काष्ठमण्डप जगैदेखि गयो ।’

प्रकाशित : माघ ५, २०७५ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्

चापाखर्कमा पाराग्लाइडिङ

प्रशान्त माली

ललितपुर — उपत्यकावासी पाराग्लाइडिङको मज्जा लिन पोखरा पुग्छन् । बाहिरी जिल्लामा पुग्नुपर्दा बढी खर्चसँगै व्यस्तताले गर्दा कतिपयले मनोकांक्षा पूरा गर्न पाएका छैनन् । आकाशमा उड्ने रहर बोक्नेले अबदेखि ललितपुरलाई विकल्पका रूपमा लिन सक्ने भएका छन् ।

गोदावरी चापाखर्क डाँडाबाट उडेको पाराग्लाइडिङमा रमाउँदै आन्तरिक पर्यटक । तस्बिर : सुरज कुँवर/कान्तिपुर

कारण काठमाडौं पाराग्लाइडिङ एन्ड ह्याङ ग्लाइडिङले भूकम्पले बन्द भएको गोदावरीस्थित चापाखर्क डाँडाबाट पुन: पाराग्लाइडिङ सुरुवातगरेको हो ।

बुधबारदेखि उक्त डाँडाबाट पाराग्लाइडिङ सुरु भएको हो । चापागाउँका श्रीजन महर्जन आफैं पनि अहिले पाराग्लाइडिङ पाइलटको प्रशिक्षण लिइरहेका छन् । उनी भन्छन्, ‘अब सीप सिकेर आफ्नै जिल्लामा सपना साकार पार्न सक्ने सम्भावना भयो ।’गोदावरी क्षेत्र धार्मिक, पर्यटकीय र वातावरणीय दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण क्षेत्र मानिन्छ । सरकारले यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजना पनि बनाएको छ ।

गोदावरी नगरपालिकाका अनुसार गोदावरी मार्बल कम्पनीले पहिले प्रयोग गरेको स्थानमा सांस्कृतिक संग्रहालय, पशुपन्छी अवलोकन केन्द्र, जैविक विविधताको केन्द्र, नमुना जलाधार क्षेत्र, होमस्टे र लजको सम्भावना छ । दृश्यावलोकन गर्न विशंखुनारायणस्थित कोटडाँडा, चापाखर्क, फूलचोकीको मध्यविन्दु लामाचौरमा भ्यु टावर निर्माण र गोदावरी बसपार्कमा आकर्षक प्रवेशद्वार निर्माण गर्न सकिन्छ । जहाँबाट हिमशृंखला, काठमाडौं उपत्यका, लेले उपत्यका, काभ्रे, पनौतीलगायत क्षेत्रको दृश्यावलोकन पनि गर्न सकिन्छ ।

साइक्लिङ गर्न कोटडाँडा– लाकुरे भन्ज्याङ– चापाखर्क– काभ्रेको साबिक खानी गाविस–फूलचोकी सडक, ग्वालिन्दह–कोडु भन्ज्याङ– फूलचोकी र कोटडाँडा–चापाखर्क मार्ग पनि छ । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन भन्छन्, ‘गोदावरी नौधारादेखि फूलचोकी डाँडासम्म सिँढी निर्माण गर्न एक करोड १० लाख रुपैयाँ बजेट छुट्याइएको छ । यसले फूलचोकीमा बाटो बिराएर हराउनेको संख्यामा कमी आउनेछ ।’ उनले मार्बल खानी डाँडामा भ्यु टावर निर्माण गर्न ५० लाख छुट्याएको बताए । ‘भ्यु टावर निर्माण गर्न टेन्डरको प्रक्रियामा छौं,’ उनले भने, ‘वनस्पति उद्यान–चापाखर्कस्थित पाराग्लाइडिङ स्थल सडक र चापाखर्क–मानेदोभान सडक सुघार गर्ने योजना छ ।’

नगरपालिकाका अनुसार कोटडाँडा– लाँकुरे भन्ज्याङ ३ किमि सडक विस्तार गर्न डेढ करोड, वनस्पति उद्यान–चापाखर्क पाराग्लाइडिङ साढे ४ किमि र विशंखुनारायण मन्दिर–कोटडाँडा–महालक्ष्मी नगरपालिका लाँकुरे भन्ज्याङ सडक विस्तार गर्न ४ करोड र पाराग्लाइडिङ–मानेदोभान ६ किमिका साढे २ करोड, भ्यु टावर निर्माण गर्न ३ करोड रुपैयाँ आवश्यक पर्छ ।

अन्य भौतिक संरचना निर्माण गर्न ६ करोड आवश्यक रहेको नगरपालिकाले बताएको छ । मेयर महर्जनले पर्यटन विकास गर्न नगरपालिकाको बजेटले मात्र सम्भव नरहेकाले प्रदेश र केन्द्र सरकारसँग पनि माग गरेको बताए । ‘गोदावरी कुण्ड, नौधारालगायत मठमन्दिरको जीर्णोद्धार गर्न बजेट छुट्याएका छौं,’ उनले भने । गोदावरी नगरपालिकाअन्तर्गतको झरुवारासीस्थित सन्तानेश्वर डाँडा अर्को पर्यटकीय उत्कृष्ट गन्तव्य स्थल हो । जहाँ मनोरेल बनाउन पुरात्तत्व विभाग, वन, पर्यटन मन्त्रालय र रेल विभागबाट स्वीकृत भइसकेको छ ।

सन्तानेश्वर महादेव कैलाश पर्वत संरक्षण तथा संवर्धन सेवा संघ अध्यक्ष इन्जिनियर विनोद खड्काले प्रारम्भिक वातावरणीय परीक्षण (आईई) प्रतिवेदन साताभित्र तयार हुने बताए । ‘सम्पूर्ण प्रक्रिया पुर्‍याई मन्त्रालयमा पेस गरिसकेका छौं,’ उनले भने । पाइलट प्रोजेक्टका रूपमा रहेको रेल सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य स्थल बन्ने अध्यक्ष खड्काको भनाइ छ ।

संघले सन्तानेश्वरबाट विशंखुनारायण मन्दिर–गोदावरी कुण्ड– नौधारा, लेले तिलेश्वरधाम– वज्रबाराही चापागाउँ–ठेचो ढल्केश्वर– सुनाकोठी भृगांरेश्वर– धापाखेल नागदह हुँदै पुन: झरुवारासी ट्रेकिङ रुट बनाएको छ । पशुपतिमा आउने भक्तजनलाई दुई दिनको प्याकेज टुर बनाएर ल्याउने पनि योजना बनाएको छ ।

धापाखेलको नागदह सरकारको ‘हन्ड्रेड डिस्टिनेसन’ अन्तर्गत पर्छ । दह क्षेत्रको विकास गर्न सांसद कोषबाट यस वर्ष ५० लाख बजेट परेको छ । दक्षिण भेगमा भने एकदेखि १२ दिनसम्मको प्याकेज टुर गर्न मिल्ने स्थान छन् । जंगल सफारी, चट्टान आरोहण, जलयात्रा, डुंगा शयर, पाराग्लाइडिङ, गुफा ध्यान, घोडचढीलगायत छन् । यस क्षेत्रमा कृषि, खेल, धार्मिक पर्यटनको पनि प्रचुर सम्भावना छ । सांसद चेतनाथ सञ्जेल भन्छन्, ‘प्रायले ललितपुर भन्नेबित्तिकै जावलाखेल, पुल्चोक, कुपण्डोल सम्झन्छन् । तर, सहरी क्षेत्रसँग दाँजेर मिल्दैन । यहाँ दक्षिण भेगमा मोटरबाटो, बिजुली, पानी, टेलिफोन टावर नपुगेका थुप्रै गाउँ छन् । जहाँको विकास पर्यटन र कृषिबाट हुने बढी सम्भावना छ ।’

उनले दक्षिणमा पर्यटन प्रवद्र्धन गर्न ५० करोड रुपैयाँ आवश्यक पर्ने बताए । ‘यस वर्ष प्रदेश सरकारबाट ३ करोड बजेट छुट्याएको छ,’ उनले भने, ‘कालेश्वरमा होटल, कोसेली घर बनाउने तयारीमा छांै ।’ उनले दलचोकीमा भ्यु टावर बनाउन तयारी भइसकेको बताए । गोटीखेलको त्रिवेणी वैतर्णीधाम धरानको बराह, गुल्मीको रिडी र मुस्तानको मुक्तिनाथ जस्तो पुरातात्त्विक महत्त्वको तीर्थस्थल हो । यहाँ घडघडा नदी पनि बग्छ । वैतर्णीधामको दक्षिणपट्टि कालेश्वर र उत्तरपूर्व डरेको खोर नामक टापु छ ।

यी टापु हिमालमा जोडिएको दृश्य धनुषाको जनकपुर, रौतहटको नगरपुर, पर्साको परमानपुर र भारतबाट समेत अवलोकन गर्न सकिन्छ । यसको संरक्षण प्रवद्र्धन गर्न महांकाल गाउँपालिकाले गुरुयोजना बनाउन विज्ञ टोलीसहित सर्वे थालिसकेको जनाएको छ ।

महाकांल गाउँपालिका प्रमुख रामचन्द्र दाहालले महांकालको सेरोफेरोमा घुम्ती मार्ग बनाउने योजना रहेको बताए । ‘शिवालय मन्दिर र टापु वरिपरि विभिन्न अनुसन्धान केन्द्र र जडीबुटी खेती केन्द्र बनाउँछौं,’ उनले भने, ‘यसका लागि प्रदेश र केन्द्र सरकारसँग बजेट माग गरिसकेका छौं ।’ उनका अनुुसार कालेश्वरस्थित मृगबिसौना, काभ्रेसँगको सीमास्थल मानिने देउरालीस्थित थुम्काडाँडा, इकुडोलको रमितेडाँडा जिल्लाकै सबैभन्दा अग्लो भ्यु प्वाइन्ट हुन् । यहाँबाट उत्तरमा हिमशृंखला, पूर्वमा काभ्रे र रामेछापका विभिन्न स्थान, पश्चिम र दक्षिणमा मकवानपुर र सिन्धुलीदेखि तराईका विभिन्न स्थान अवलोकन गर्न सकिन्छ ।

भारदेउको गुप्तेश्वर गुफा, गिम्दीको चमेरे गुफा, गोटीखेलबाट काभ्रेको पनौती निस्कने महादेव गुफा, र प्युटारको नाग गुफा उत्कृष्ट गन्तव्य स्थल हुन् । दक्षिण भेगमा अधिकांश जंगल क्षेत्र छ । केही क्षेत्रलाई समेटेर जंगल सफारीको प्याकेज बनाउन सकिन्छ । मूल मोटरबाटोको दायाँबायाँ मृग, खरायो, कालिज, हरिण, जरायो, मृग जस्ता वन्यजन्तु देख्न सकिने भएकाले जंगलमा यात्राको सम्भावना छ । भारदेउ–गुप्तेश्वर डाँडामा निस्केर टुटुवा हुँदै कालेश्वरको मृगबिसौना हँुदै बतासेडाँडासम्म एकदिने जंगल सफारी रुट विकास गर्न सकिन्छ ।

त्यस्तै चौघरेबाट जंगल सफारी गरेर मृगबिसौना पुगेका पर्यटकलाई देउरालीमा तामाङ समुदायको ढ्यांग्रो र झाँक्री नाच देखाउन सकिनेछ । महांकाल गाउँपालिका प्रमुख दाहालले चिया पर्यटनको पनि विकास गर्न गुरुयोजना बनाइरहेको बताए । ‘यसका लागि ५ लाख बजेट छुट्याएको छु,’ उनले भने, ‘जंगल सफारी गर्न पूर्वाधार बनाउन सकेमा सौराहा पुग्नुपर्ने बाध्यता कम हुनेछ ।’

प्रकाशित : माघ ५, २०७५ ०९:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्