उत्कृष्ट वायुसेवाहरुलाई पुरस्कृत गरिने- बजार - कान्तिपुर समाचार

उत्कृष्ट वायुसेवाहरुलाई पुरस्कृत गरिने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली पर्यटन क्षेत्रमा हवाई क्षेत्रले गरेको योगदानको कदर गर्दै उत्कृष्ट वायुसेवाहरुलाई पुरस्कृत गरिने भएको छ । बेस्ट एअरलाइन्स अवार्ड नेपाल नामक संस्थाले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै २७ मंसिरमा एक समारोहबीच विभिन्न १६ विधामा वायुसेवा कम्पनीहरुलाई पुरस्कार दिने जनाएको छ ।

आयोजकका अनुसार, नेपालमा हाल काठमाडौं भएर विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएका २७ र आन्तरिक ९ वटा वायुसेवाबीच प्रतिस्पर्धा हुने छ ।

आयोजकले बेस्ट एअरलाइन्स आवर्डस्‌अन्तर्गत ३ विधाका पुरस्कार नेपाली वायुसेवालाई मात्रै छुट्याइएको छ । त्यस्तै ११ विधामा नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेका वायुसेवाले प्रतिस्पर्धा गर्नेछन् भने बाँकी २ विधामा हवाई उड्डयनलाई सुरक्षित र सहज बनाउन भूमिका खेल्ने विभिन्न साझेदारहरुमध्येबाट उत्कृष्टलाई चयन गरिने भनिएको छ ।

यस पुरस्कारको निर्णायक मण्डलमा नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष शेखर गोल्छा, होटेल द्वारिकाज्‌का अध्यक्ष तथा नेपालका लागि स्पेनका अनररी कन्सुलर अम्बिका श्रेष्ठ, होटेल एसोसिएसन नेपालका अध्यक्ष सृजना राणा, स्कुल क्लब अफ काठमाडौंका अध्यक्ष प्रवीणबहादुर पाण्डे, नाटाका पूर्वअध्यक्ष सीएन पाण्डे, पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूतिचन्द ठाकुर, एभिएसन म्युजियमका प्रमुख कार्यकारी अधिकृत वेद उप्रेती, कान्तिपुर मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत महेश स्वाँर, लिड नेपाल इन्कका अध्यक्ष अनिलकेशरी शाह, सीजी होल्डिङ्स्‌का अध्यक्ष अरुण चौधरी तथा गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो छन् ।

प्रकाशित : कार्तिक ३०, २०७९ २२:२२
प्रतिक्रिया
पठाउनुहोस्

आचारसंहिता उल्लंघन गर्ने सोलुका ४ जनप्रतिनिधिलाई आयोगको स्पष्टीकरण

भानुभक्त निरौला

सोलुखुम्बु — निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा सोलुखुम्बुका तीन स्थानीय सरकार प्रमुख र एक उपप्रमुखलाई स्पष्टीकरण सोधिएको छ । 

निर्वाचन आचारसंहिता उल्लंघनबारे परेको उजुरीका आधारमा थुलुङ दूधकोसी गाउँपालिका अध्यक्ष असिम राई, माप्यदूधकोसी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई, खुम्बु पासाङ ल्हामु गाउँपालिका अध्यक्ष मिङ्माछिरी शेर्पा र उपाध्यक्ष टासी ल्हामु शेर्पालाई जिल्ला आचारसंहिता अनुगमन समितिलेले लिखित स्पष्टीकरण सोधेको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार थुलुङ दूधकोसी गाउँपालिका र माप्यदूधकोसी गाउँपालिका अध्यक्षहरुले स्पष्टीकरण पेस गरिसकेका छन् भने खुम्बु पासाङ ल्हामु गाउँपालिका अध्यक्ष र उपाध्यक्षले पेस गर्न बाँकी छ ।

चार जनाकै जवाफ प्राप्त भएपछि आयोगमा पठाइने जिल्ला आचारसंहिता अनुगमन समितिका संयोजक रहेका मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीले बताए । थुलुङ दूधकोसी र माप्यदूधकोसी गाउँपालिका अध्यक्षविरुद्ध पालिका क्षेत्रको चुनावी सभामा भोट मागेको र खुम्बु पासाङ ल्हामु गाउँपालिका अध्यक्ष र उपाध्यक्षले निर्वाचन आचारसंहिता लागू भइसकेपछि मतदातालाई प्रभावित पार्ने गरी खानेपानी र विद्युत् सर्वेका लागि प्राविधिक खटाएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

जिल्लाका अधिकांश जनप्रतिनिधिले चुनावी कार्यक्रमहरुमा आ–आफ्ना पार्टीका उम्मेदवारलाई भोट माग्न आमसभाहरुमा नै भाषण गर्दै आएका छन् । उजुरी समेतको बेवास्ता गर्दै जनप्रतिनिधिहरु भोट मार्ग्दै हिँडिरहेका छन् ।


प्रकाशित : कार्तिक ३०, २०७९ २१:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×