पैठारी हुने मालवस्तुको लेबलसम्बन्धी विषयमा नाडाले माग्यो स्पष्टिकरण

काठमाडौँ — पैठारी हुने तयारी मालबस्तु बजारमा पठाउनुअघि तिनको प्याकिङमा आयातकर्ता र बजार वितरकको पूरा विवरण भएको लेबल लगाउनै पर्ने भन्ने विषयमा वीरगञ्ज भन्सार कार्यालय, पर्साले जारी गरेको सूचना लगायत विषयमा व्यवसायीहरूले थप स्पष्टीकरण मागेका छन् ।

शुक्रबार नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष धुब्र थापाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलसँग भेट गरी आफूहरूलाई परेको समस्याबारे छलफल गरेका थिए । उक्त छलफलमा अध्यक्ष थापाले सूचनामा उल्लेखित विषय कुन क्षेत्रमा लागू गर्ने भनिएको हो, प्रष्ट नभएको र अटोमोबाइल स्पेयर पार्टसका कतिपय वस्तुहरूमा यस्तो व्यवस्था लागू गर्न कठीनाइ हुने बताएका थिए ।
महानिर्देशक पौडेलले विदेशबाट धेरै नक्कली सामान पैठारी भई आउने भएकोले वैध व्यवसायलाई प्रोत्साहन गर्न र तस्करी र चोरी पैठारीलाई निरुत्साहित गर्न यस्तो व्यवस्था गर्न लागेको जानकारी दिए । अटोमोबाइल स्पेयर पार्टसको आयातमा पनि यो व्यवस्था लागू हुने उनको भनाइ रहेको नाडाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । महानिर्देशक पाडैलले यसको सम्पूर्ण व्यवस्थापन स्वयं पैठारीकर्ता र डिलरले गर्नुपर्ने भएकोले साधारण खुद्रा व्यवसायीहरूलाई कुनै अप्ठ्यारो र झन्झट नहुने दाबी गरे ।
